शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

बुधबार, ११ जेठ २०७९, २१ : १२
बुधबार, ११ जेठ २०७९

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । 

प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गराएपछि देउखुरी १५.२ ओभरमा ६० रनमै अल आउट हुनपुग्यो । ६१ रनको सामान्य विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले ६.२ ओभरमा विना कुनै विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसका लागि उत्कृष्ट बलिङ गरेका बोहराले ब्याटिङतर्फ २३ बलमा सात चौकाको मद्दतले ३६ रनको अविजित पारि खेले । उसका मनिष थापाले अविजित १९ रन बनाए । 

त्यसअघि देउखुरीका लागि दिनेश अधिकारी र दिवान पुनले १७/१७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । देउखुरीलाई सस्तैमा समेट्न लिटल फ्लावरका बोहराले चार ओभर बलिङ गर्दै एक मेडनसहित आठ रन खर्चिएर महत्वपूर्ण पाँच विकेट लिए । इनिङको पहिलो ओभर एक रनमा विकेटविहीन रहँदा दोस्रो ओभरमा आएका बोहराले प्रज्वल थापालाई एक र देउखुरीका कप्तान विशाल विक्रम केसीलाई चार रनमा बोल्ड आउट गरे । 

त्यसपछि चौथो ओभरमा बोहराले वसन्त सिंह कार्कीलाई शून्य रनमा बोल्ड गरिदिए । उनैले व्यक्तिगत अन्तिम र खेलको छैटौँ ओभरमा विराट भण्डारीलाई एक रनमा बोल्ड आउट र नारायण जोशीलाई शून्य रनमै क्याच आउट गराउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । उसका कौशल रुपाखेतीले तीन र प्रकाश जैसी तथा सन्दीप खत्रीले एकरएक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ अलराउन्ड प्रदर्शन गरेका बोहरा चुनिए । 

त्यस्तै आजै भएको दोस्रो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीमाथि कैलाली जिल्ला क्रिकेट क्लबले छ विकेटको जीत निकाल्यो । टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो । १२१ रनको विजयी लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लबले १७ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि राजन सिंहले अविजित ४० रन बनाउँदा दिनेश ओडले ३० रन बनाए । अर्जुन साउदले २४ रन बनाए । 

त्यसअघि महेन्द्रनगरका लागि आयुष्मान बमले ३४ र राहुल भण्डारीले २१ रन बनाएका थिए । बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका अर्जुन साउद, नरेन साउद र शेर मल्लले समान दुई/दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ अर्जुन साउँद चुनिए । प्रतियोगितामा देशका विभिन्न छवटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागी रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप