शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको कम्ब्याक : सातै प्रदेशमा पहिलो !

गण्डकीमा क्षति, बागमतीमा सर्वाधिक नाफा
बुधबार, ११ जेठ २०७९, २२ : ०७
बुधबार, ११ जेठ २०७९

स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको नजिता ७ सय ४५ पालिकामा आइसकेको छ । ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ ।

राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिकाको नेतृत्व हात पारेका छन् । १६ ठाउँमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख–अध्यक्ष हात परेको अवस्था छ । यस्तै काँग्रेस २९८, एमाले २३६, माओवादी १२८, जसपा ३१, एकीकृत समाजवादी २४ र लोसपा १२ पालिकाको उपप्रमुख–उपाध्यक्ष जितेको छ । अन्यले १८ उपप्रमुख–उपाध्यक्ष जितेको पाइन्छ । यस्तै काँग्रेसले ३, एमाले २, एकीकृत समाजवादी १ र अन्य १ को अग्रता छ । 

समग्रमा काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र जसपा चौथो, एकीकृत समाजवादी पाँचौँ र लोसपा छैटौँ स्थानमा छ । राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा लगायतले दुई अङ्कको नजिता हात पार्न नसकेको अवस्था छ ।

काँग्रेस ७ वटै प्रदेशमा पहिलो दल बन्न सफल भएको छ । तर काँग्रेस गण्डकीमा पहिला बन्दा पनि क्षति बेहोर्दै छ । यता बागमतीमा भने सर्वाधिक पालिका थपेको छ । ०७४ मा एमाले मधेस र गण्डकी प्रदेशमा पहिलो दल हुन चुकेको थियो । एमाले मधेसमा पाँचौ र गण्डकीमा दोस्रो दल बनेको थियो । गण्डकी र मधेस दुवै प्रदेशमा काँग्रेस पहिलो दल बनेको थियो । उक्त प्रदेशको वर्चश्व कायम राख्दै पाँच वटा प्रदेशमा पनि काँग्रेसले एमालेलाई पछारेको छ । 

प्रमुखमा प्रदेशगत गणित

काँग्रेसले १७ थप्दा एमाले गु​मायो २२ पालिका 

प्रदेश १ को १३७ स्थानीय तह मध्ये १३६ पालिकाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसले ६८ पालिका प्रमुख/अध्यक्ष जित्दै प्रदेश १ मा ५० प्रतिशत हिस्सा ओगटेको छ । ०७४ मा भने काँग्रेसले ५१ पालिका प्रमुख मात्र जितेको थियो । यसपटक काँग्रेसले १७ पालिका प्रमुख थपेको छ । ०७४ मा ६९ पालिका प्रमुख जितेको एमाले भने यसपटक ४७ मा सीमित भएको छ । एमाले अध्यक्ष केपी ओलीको गृह प्रदेशमा एमालेले २२ पालिका प्रमुख गुमाएको छ ।

माओवादी केन्द्रले १२, एकीकृत समाजवादी र जसपाले दुई–दुई पालिका प्रमुख जितेका छन् । राप्रपाले २ पालिका प्रमुख जितेको छ । प्रदेश १ स्थिति सुनसरीको धरान उप–महानगर, भोजपुरको साल्पासिलिछो र मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना जारी छ ।

माओवादी खस्किँदा एमालेको कमब्याक

मधेस प्रदेशका १३६ स्थानीय तह मध्ये ४५ पालिका प्रमुख जितेर काँग्रेस पहिलो पार्टी बनेको छ । ०७४ मा ४० पालिका प्रमुख जितेको काँग्रेसले यसपटक ५ पालिका थपेको छ ।

यस पटक एमाले पनि मधेस प्रदेशको दोस्रो शक्ति बनेको छ । ०७४ मा जम्मा १८ पालिका प्रमुख हात पारको एमालेले अहिले २९ पालिका प्रमुखमा जित दर्ता गराएको छ । मधेस प्रदेशलाई आधार इलाका ठान्ने जसपालाई तेस्रोमा धकेलेर एमाले दोस्रो पार्टी बनेको छ । जसपाले २५ पालिकाको नेतृत्व हात पारेको छ । ०७४ मा २६ पालिका प्रमुख जितेको जसपाले १ पालिकाको नेतृत्व गुमाएको छ । यस्तै लोसपाले १४ पालिका प्रमुख जितेर चौथो पार्टी भन्दा माओवादी ९ मा सीमित भयो ।

०७४ मा लोसपाले (तत्कालीन राप्रपा) २५ र माओवादीले २१ सिट जितेको थियो । यसपटक लोसपाले ११ र माओवादीले १२ पालिका गुमाएको अवस्था छ । विवेकशील साझा, जनतम पार्टी, तमलोपाले एक–एक पालिका प्रमुख जित्दा तीन जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

एमालेलाई बढ्ता क्षति, काँग्रेसले थप्यो २३ पालिका

बागमती प्रदेशमा ११९ पालिका मध्ये सबैभन्दा बढी जिते काँग्रेस पहिलो भएको छ । काँग्रेसले ५८ पालिका प्रमुख जितेको छ । ०७४ मा ३५ पालिका सीमित काँग्रेस यसपटक थप २३ पालिकामा कब्जा जमाउन सफल भएको छ । ०७४ मा पहिलो भएको एमाले बागमतीमा यसपटक तेस्रो भएको छ । ०७४ मा ६४ पालिका प्रमुख जितेको एमाले यसपटक २६ पालिका प्रमुखमा समेटिएको छ ।

एमालेले बागमती प्रदेशमा ३८ पालिका प्रमुख गुमाएको छ । प्रदेशगत रूपमा उसले सबैभन्दा बढी बागमती प्रदेशमै प्रमुख गुमाएको छ । 

यसअघि १७ पालिका प्रमुखसहित तेस्रो शक्ति रहेको माओवादीले बागमतीमा यसपटक दोस्रो स्थान हासिल गरेको छ । उसले २७ पालिका प्रमुख जितेको छ । एकीकृत समाजवादीले ५ राप्रपा र नेमकिपाले एक पालिका प्रमुख जितेका छन् । काठमाडौंको शंखरापुर नगरपालिकाबाट राप्रपाको इन्ट्री हुँदा नेमकिपाले ०७४ मा जितेको भक्तपुर नगरपालिका  जोगाउन सफल भएको छ । काठमाडौँ महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीको कमब्याक, काँग्रेसलाई क्षति

गण्डकी प्रदेशमा एमालेसँगको कडा टक्करबीच काँग्रेस पहिलो पार्टी बनेको छ । गण्डकीका ८५ स्थानीय तह मध्ये काँग्रेसले ३६ को नेतृत्व हात पारेको छ भने एमालेले ३५ पालिका प्रमुख जितेको छ । गण्डकीमा पहिलो पार्टी भने पनि काँग्रेसले यसपटक क्षति बेहोरेको छ । 

०७४ मा ४४ पालिका प्रमुख जितेको काँग्रेसले ८ पालिकाको नेतृत्व गुमाएको छ । यसअघि ३४ पालिका जितेको एमालेले भने यसपटक दुई पालिकाको नेतृत्व हत्याएको छ । माओवादी केन्द्रले ११ पालिका प्रमुख जितेर गण्डकीमा कमब्याक गरेको छ । 

०७४ मा ५ पालिकामा सीमित माओवादीले ६ पालिका प्रमुख थपेको छ । एकीकृत समाजवादी गण्डकीको एक मात्र महानगर जित्दा दुई पालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

लुम्बिनीमा १६ पालिका गुमाउँदा पनि एमाले दोस्रो

लुम्बिनी प्रदेशका १०९ स्थानीय तह मध्ये काँग्रेसले ४७ मा काँग्रेसको नेतृत्व आएको छ । ०७४ मा ३३ पालिकाको मात्र नेतृत्व हात पारेको काँग्रेसले यसपटक १४ पालिका प्रमुख थपेको हो । 

एमालेले २७ पालिका प्रमुख जित्दा माओवादी केन्द्रले २५ पालिकाको नेतृत्व हात परेको छ । ७४ मा ४३ पालिका प्रमुखमा निर्वाचित एमालेले अहिले १६ पालिकाको नेतृत्व गुमाएको छ । 

यसअघि १९ पालिका जितेको माओवादी अहिले थप ६ पालिकामा फैलिएको छ । जसपाले ३, लोसपाले २ र जनता प्रगतिशील पार्टीले १ पालिका प्रमुख जितेको छ । यस्तै तीन पालिकामा अन्य उम्मेदवार विजयी भएका छन् ।

कर्णालीमा ​काँग्रेस तेस्रोबाट पहिलो

कर्णाली प्रदेशमा काँग्रेस तेस्रोबाट यसपटक पहिलो पार्टी बनेको छ । ७९ स्थानीय तह मध्ये काँग्रेसले ३२ मा नेतृत्व हात पारेको छ । ०७४ मा २५ पालिका जितेर तेस्रो पार्टी बनेको काँग्रेस यसपटक ७ पालिका थपेर पहिलो बनेको छ ।

माओवादी केन्द्र २३ र एमाले १५ सिटमा खुम्चिएको छ । ०७४ मा एमालेले २७ र माओवादीले २५ पालिकाको नेतृत्व पाएका थिए । यसपटक एमालेले १२ र माओवादी केन्द्रले २ सिट गुमाएको छ । एकीकृत समाजवादीले ४ पालिका प्रमुख जित्दा स्वतन्त्रले ५ पालिका प्रमुख जितेका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश ८७ स्थानीय तह मध्ये काँग्रेसले ४० मा जित हात परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशमा काँग्रेसले कमब्यापक गरेको छ । ०७४ मा ३८ पालिका प्रमुख जितेर दोस्रो भएको काँग्रेस २ पालिका प्रमुख थपेर पहिलो भएको छ । ०७४ मा ३९ पालिकाको नेतृत्व हत्याएर पहिलो भएको एमाले १४ पालिका प्रमुख गुमाएर दोस्रो भएको छ । यसपटक एमाले २५ पालिकामा समेटिँदा माओवादी केन्द्रले १४ पालिका जितेको छ ।

०७४ मा १० पालिका जितेको माओवादीले अहिले ४ पालिका प्रमुख थपेको हो । यस्तै नागरिक उन्मुक्ति पार्टीले ४ पालिका जित्दा एकीकृत समाजवादीले २ पालिकाको नेतृत्व हात पारेको छ । कैलालीको धनगढी उपमहानगर र बैतडीको डिलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप