बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहुँचका भरमा जहाजको टिकट वितरण

बिहीबार, १२ जेठ २०७९, ०७ : ४९
बिहीबार, १२ जेठ २०७९

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दैआएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान रु १० हजार र हुम्लाबाट सुर्खेत आउन रु सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।

नेपाल वायुसेवा निगमको न्यून  उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् । 

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउछन् । “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ”, उनले भने । निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन् । सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ ।

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ । यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा रु नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्छ । पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप