
तालमेल गरेर बेकारै भयो कि भन्ने भ्रमबाट मुक्त हुनुस् : धनराज गुरुङ
‘कसको अधिकार के छ भनेर साथीहरुले संविधान नै पढ्नु भएन’

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले स्थानीय तहको निर्वाचनमार्फत नेपाली काँग्रेसले कम्तीमा ५१ प्रतिशत स्थानीय तह जित्ने लक्ष्य राखे पनि त्यो पूरा हुन नसकेको बताएका छन् । यद्यपि, काँग्रेसका लागि स्थानीय तह निर्वाचनको नतिजा सकारात्मक नै रहेको बताए ।
टिकट वितरण र तालमेल गर्दा भएको प्राविधिक ‘इरर’ले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकिए पनि चुनावी परिणामले सत्ता गठबन्धनलाई उत्साहित नै बनाएको उनको भनाइ छ । संघ र प्रदेशको निर्वाचनमा भने सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने कि नगर्ने भन्नेबारे अहिले नै भनिहाल्न आवश्यक नरहेको उनले बताए । स्थानीय तह निर्वाचनको परिणाम र आगामी रणनीतिका विषयमा केन्द्रित रहेर काँग्रेस उपसभापति गुरुङसँग रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको संवादको सम्पादित अंश–
स्थानीय निर्वाचनको नतिजालाई काँग्रेसले कसरी हेरेको छ ? तपाईंहरुको प्रारम्भिक समीक्षा के छ ?
काँग्रेसका लागि स्थानीय तह निर्वाचनको नतिजा सकारात्मक आएको छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । परिणाम अपेक्षा अनुसारको भएन तर सकारात्मक छ ।
काँग्रेसको अपेक्षा कस्तो थियो र ?
हाम्रो अपेक्षा कम्तीमा ५१ प्रतिशत अर्थात् थोरैमा पनि ३७७ स्थानीय तह जित्ने हो । हामीले ३७७ स्थानीय तह जित्ने आँकलन र अपेक्षा गरेका थियौँ । अपेक्षाकृत नतिजा नआउनुमा हामीबाटै केही कमी कमजोरी भयो । टिकट वितरणमा पनि केही कमी कमजोरी भएका छन् । त्यसपछि अरु कुरामा पनि कमी कमजोरी भए । केही तालमेलमा पनि कमी कमजोरी भए । तालमेलबाट केही ठाउँमा लाभ पनि भयो, केही ठाउँमा नोक्सान पनि भयो । सबै पक्षलाई हेर्दा हामी केही न केही ठाउँमा चुकेकाले गर्दा अपेक्षाकृत नजिता आएन । तर पनि हामी उत्साहित नै छौं । परिणामलाई सकारात्मक रुपमा लिएका छौं ।
सत्ता गठबन्धनसँगको चुनावी तालमेल नगरेको भए काँग्रेस एक्लैले अहिलेको परिणाम प्राप्त गर्थ्यो ?
त्यसरी पनि नहेरौँ । कतिपय ठाउँमा तालमेल गर्दा प्राविधिक ‘इरर’ भइदियो । रुख, कलम, हसिया हतौँडा र छाता चुनाव चिह्न खोज्ने कुरा एकदमै अस्तव्यस्त भयो । हामीले हाम्रो मतदातालाई राम्रोसँग प्रशिक्षित पनि गर्न सकेनौँ । धेरै मत बदर भएको छ ।
हामी तालमेलकै पक्षमा उभिएका थियौं । तालमेल गर्नुहुँदैन भन्ने वैचारिक कोणबाट मेरो अडान थियो र अहिले पनि छ । बहुलवादमा आधारित संसदीय पद्धतिमा आ आफ्नो कार्यक्रम लिएर जनताको बीचमा जाने नै हो ।
कतिपय ठाउँमा प्राप्त मतभन्दा पनि बदर मत बढी भएको अवस्था आयो । यो तालमेलबाट उब्जिएको प्राविधिक ‘इरर’ हो । त्यसैले धेरै ठाउँमा समस्या भएको हो । राजनीतिक ‘इरर’ कम भएपनि प्राविधिक ‘इरर’ बढी भयो । यसले हामीलाई घाटा भयो । विशेष गरी वडा सदस्यमा तालेमल गर्दा एउटै दलको चुनाव चिह्न लिएको ठाउँमा जितिएको अवस्था छ । तर हाम्रो पहिचान मेटिन्छ भनेर आफ्नै चुनाव चिह्न लिँदा काँग्रेस पनि हारेको छ । सिधै रुखमा मत हाल्न पाउँदा वडाध्यक्ष जित्यो । तर सदस्यहरु खोज्न थाल्दा कता रुख भनेको थियो, कता कता हँसिया हथौडा भनेको थियो भनेर झुक्किँदा हारेको अवस्था छ । वडा अध्यक्ष जितेर ४ वडा सदस्य रहेको अवस्था छ । पालिकाहरुमा पनि त्यो समस्या देखियो । त्यसैले तालमेलको प्राविधिक पक्षबाट ठूलो ‘इरर’ भएको छ । तालमेलबाट घाटा भयो भन्न खोजेको होइन प्राविधिक पाटो सुधार्न जरुरत देखेँ ।
तर गठबन्धन सहयात्री दलहरुले काँग्रेसको शेखर कोइराला समूह गठबन्धनको खिलाफमा उभिँदा अपेक्षाकृत नजिता नआएको आरोप लगाइरहेका छन् नि ?
म त त्यस्तो देख्दिनँ । झलनाथ खनालले यस्तो कुरा गर्नुभएको मैले पनि सुनेँ । उहाँले ओलीसँग पो सजिलो हुन्छ भन्ने कुरा पनि गर्नुभयो । उहाँजस्तो मान्छेले हडबडाएर बोल्नु हुन्नथ्यो भन्ने मलाई लाग्छ । आत्तिनु हुन्न नि ! राजनीति भनेको निरन्तर बगिरहने नदी जस्तो हुनुपर्छ खहरे खोला जस्तो गडगडाएर आउने र सुक्नेको के अर्थ छ र ? त्यसैले राजनीतिमा शालिनता र धैर्यता मान्छेले गुमाउनु हुँदैन ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावी तालमेलको पक्षमा उभ्याएको तर तपाईंहरुको समूह विपक्षमा उभिएको त साँचो हो नि ?
हामी तालमेलकै पक्षमा उभिएका थियौं । तालमेल गर्नुहुँदैन भन्ने वैचारिक कोणबाट मेरो अडान थियो र अहिले पनि छ । बहुलवादमा आधारित संसदीय पद्धतिमा आ आफ्नो कार्यक्रम लिएर जनताको बीचमा जाने नै हो । अहिले आ आफ्नो घोषणापत्र जारी गरेर पाँच दलीय गठबन्धन गरौं । उता ओलीले ९ दलीय गठबन्धन गर्नुभयो । त्यसैले वैचारिक रुपमा म तालेमलको विपक्षमा छु । तर पार्टीको केन्द्रीय कार्यसमितिले तालमेलको निर्णय गरेपछि त्यसलाई शिरोधार्य गरेर हामी तालमेलको पक्षमा उभिएकै हो ।
गठबन्धनको संयुक्त चुनावी सभामा जानुहुँदैन भनेर नगएको होइन । तपाईंहरुले भन्दा हो कि क्या हो भन्ने देखिन्छ । तर त्यस्तो होइन । काँग्रेस एउटै छ । तपाईंहरु जबरजस्त गुटगुटमा छुट्याउनुहुन्छ ।
त्यसो भए गठबन्धनको संयुक्त चुनावी सभामा तपाईंहरुको समूह सहभागी किन नभएको ? तपाईंहरु पार्टीको निर्णय मान्न माध्य भए पनि चुनावी तालेमललाई सफल बनाउन नलागेको कुरा त छर्लंगै देखियो । अहिले हामी गठबन्धनकै पक्षमा उभिएको थियौं भनेर हुन्छ ?
काँग्रेसबाट चुनावी सभाको संयोजन मैले नै गरेको हो । सुरुमा पार्टीको आयोजनामा विराटनगर, चितवन, पोखरा, बुटवल, जनकपुर, तुलसीपुर, तनहुँ, धनगढी र डेडल्धुरामा चुनावी सभा गर्ने निर्णय भएको हो । पछि साथीहरुको माग बमोजिम अवस्था हेरेर गठबन्धनलाई पनि सँगै लिएर जान संयुक्त सभा गर्नु भनेर भनियो ।
त्यहाँ तपाईंहरु किन देखिनु भएन ?
विराटनगरको चुनावी सभामा शेखर कोइराला हुनुहुन्थ्यो ।
विराटनगरमै रहेका शेखर कोइराला त्यहाँको चुनावी सभामा देखिनुले अर्थ राख्छ र ? उहाँ चितवनमा बोलाउँदा पनि आउनु भएन । तालमेलमा तपाईंहरुबाट बेइमानी भएन भनेर विश्वास गर्न सकिन्छ र ?
खाली देखिएन भन्ने कुरा होइन । हामीले ठाउँ अनुसार पदाधिकारीलाई पठाएका थियौं । हामी आफै गएर उभिनु पर्थ्यो त ?
पार्टीले कार्यक्रम तय गर्दा वक्ताका रुपमा नाम राखिएका तपाईं र महामन्त्री गगन थापाले कुनै संयुक्त सभा शेयर गर्नु भयो त ?
धेरै ठाउँमा कार्यक्रम हुँदा जान नसकिएको हो । बुटवलको कार्यक्रममा गगन थापाजी जाने कुरा थियो । तर उहाँ कार्यक्रममा धेरै व्यस्त हुनुभयो । हेलिकप्टर बिना बुटवल जान सम्भव छैन भन्नुभयो । सभापतिसँग जाने अवस्था छैन । म जाने भए त हेलिकप्टरै लिनुपर्ने भयो दाइ भन्नुभयो । मैले पनि सक्नुहुन्छ भने यताको कार्यक्रम घटाएर पनि जानुस् । पार्टीले हेलिकप्टरको व्यवस्था गर्न सक्दैन । तपाईं आफै व्यवस्था गर्नुस् भनेको थिएँ ।
उहाँको पूर्व निर्धारित कार्यक्रमका कारण जान सम्भव नभएको हो । गठबन्धनको संयुक्त चुनावी सभामा जानुहुँदैन भनेर नगएको होइन । तपाईंहरुले भन्दा हो कि क्या हो भन्ने देखिन्छ । तर त्यस्तो होइन । काँग्रेस एउटै छ । तपाईंहरु जबरजस्त गुटगुटमा छुट्याउनुहुन्छ ।
तपाईंहरुको व्यवहार त्यस्तै देखिँदा प्रश्न उठ्दैन त ?
धनराज गुरुङले कसैलाई यो यता, त्यो गुटको भनेर खटाएको होइन । काँग्रेसका महामन्त्री र सहमहामन्त्री भनेर उपसभापतिले खटाइरहेको हो । यसलाई यसरी बुझ्नुस् न । खाली गुटको कुरा गर्नुहुन्छ ।
तपाईंकै कारण एमालेलाई साइजमा राख्ने गठबन्धनको मिसन पूरा हुन सकेन भन्ने माओवादी र एकीकृत समाजवादीको निष्कर्ष छ । यसलाई स्वीकार्नु हुन्छ कि हुन्न ?
त्यो होइन । मलाई यस्ता मनगढन्ते कुरा गर्न आउँदैन । काँग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय अनुसार नै परिचालित भएका हौं ।
एकीकृत समाजवादीका नेताहरुले आफूहरुलाई भोटरमात्र बनाएको आरोप लगाएका छन् । यो तालमेलले काँग्रेसलाई मात्र फाइदा भयो, हैन ?
मेरो अनुरोध छ नेताहरुले आत्तिनु हुन्न । आवेगमा आएर बोल्नु हुँदैन । नेतामा धैर्यता र सहनशीलता हुनुपर्छ । एमालेबाट छुटिएर भर्खर भर्खर स्थापना भएको उहाँहरुको एकीकृत समाजवादी । जसपाले क्षेत्रीयतालाई नै प्राथमिकता दिएको छ । उहाँहरुले राम्रै नजिता ल्याउनु भएको छ । तर काँग्रेस तालमेलकै कारण मात्र ठूलो बनेको हो भन्ने भ्रम नपालिदिन मेरो अनुरोध छ । किनभने नेपाली काँग्रेसले इतिहासमा एक्लै दुई तिहाइ बहुमतको सरकार बनाएको छ । बहुमतको सरकार त काँग्रेस ०४८ र ५६ मा पनि बनाउन सफल भएको थियो । काँग्रेस आफ्नो खुट्टाले टेकेर दौडनै सक्दैन भन्ने भ्रम नपालिदिन अनुरोध गर्न चाहन्छु । तालमेल गरेर बेकारै भयो कि भन्ने लागिरहेको छ भन्ने भ्रमबाट पनि मुक्त हुन आग्रह छ । तालमेलका कारण कोही हार्यो, कोही जित्यो भन्ने बेकारको कुरा हो । यहाँ त काठमाडौं जस्तो ठाउँमा स्वतन्त्रले जितेको अवस्था छ । धरान र धनगढीजस्तो सहरमा स्वतन्त्र उम्मेदवार जितेको अवस्था छ । हामीले यसलाई पनि सँगै राखेर हेर्नुपर्छ । तालमेल गरेर हामी भोटरमात्र भयौं भन्ने हिनताबोध गर्नुभन्दा अहिलेको राजनीतिक हलचललाई बढी गम्भीर भएर हेरियो भने त्यो भ्रमबाट मुक्त भइन्छ । नत्र काँग्रेसले ३२५ सिट जित्ने, हामी जम्मा २०–२५ मा भन्ने आफूप्रतिको हिनताबोध हुन्छ । एकपल्ट आँखा उघारेर नेपाली राजनीतिमा नयाँ परिदृश्यलाई नियाल्ने र विश्लेषण गर्ने हो भने भ्रमबाट मुक्त भइन्छ ।
दलको विकल्पभन्दा पनि नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्नुपर्छ भन्ने चेतना नेपाली जनतामा खुलेको म देख्छु । यो दलको विरुद्धको कुरा होइन । तर सच्चिनुपर्छ ।
केही मुख्य सहरमा जबरजस्त ढंगले स्वतन्त्र उम्मेदवारको उदय भएको छ । यसले दिन खोजेको सन्देश के हो ?
हामीले व्यवस्था बदल्यौं । तर नेपाली जनताको अवस्था बदल्न नसकेकै हो । त्यो हामीले स्वीकार गर्नुपर्छ । नेपाली राजनीतिमा सुशासन स्थापित गर्न नसकेकै हो । त्यसैले नेपाली जनताले एक पटक ‘थ्रेट’ गरेको हो । ल है ! दलहरु सच्चिनुपर्छ, दलका नेताहरु सच्चिनुपर्छ । नसच्चिने भए अबको बाटो अर्कै हुन सक्छ भन्ने एउटा ‘थ्रेट’ हो । यसलाई स्वीकार गरेर कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नका लागि एउटा पाठ पनि हो ।
त्यो ठाउँमा पार्टीहरुले कमजोर उम्मेदवार उठाउँदा स्वतन्त्रले चुनाव जिते कि राजनीतिक दलको विकल्प खोज्नुपर्छ भन्ने जनतामा चेतनाको वृद्धि भयो ?
दलको विकल्पभन्दा पनि नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्नुपर्छ भन्ने चेतना नेपाली जनतामा खुलेको म देख्छु । यो दलको विरुद्धको कुरा होइन । तर सच्चिनुपर्छ ।
यसबाट काँग्रेसले के पाठ सिक्छ ?
आगामी दिनमा आफूलाई सच्याएर अगाडि बढ्ने हो । सच्याउने भनेको भन्दा जनजीविकाका सवालमा काम गर्नुपर्छ । चुप लागेर बस्नु हुँदैन । पहिलो कुरा त जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार होइन । यहाँ त हामी भ्रष्टाचारको दलदलमा फसिराखेका छौं । अब हामी सुशासन स्थापनामा अग्रसर हुनुपर्छ ।स्थानीय निर्वाचन सकिएको छ । सिंहदरबारको अधिकार गाउँ गाउँ जाँदा सिंदरबारको सबै भ्रष्टाचार गाउँ गाउँ पुगेको छ । पालिका–पालिकामा बेरुजुको चाङ छ । यसलाई सच्याउनुपर्छ ।
सत्ता साझेदार दल यहाँबाट भागेर जाने ठाउँ छैन । संविधान र व्यवस्था बचाउन एक ठाउँमा आएका थियौं । अब यहाँबाट अन्त जाने सोच कुनै दलमा भएको मैले देखेको छैन ।
स्थानीय तहमा काँग्रेसले करिब ४५ प्रतिशत पालिका जितेर पहिलो बनेको छ । स्थानीय सरकारलाई जनजीविकासँग जोड्न र सुशासन कायम गर्न कुन के रणनीति बनाइ राख्नु भएको छ ?
हाम्रा साथीहरु दैनिक जनजिवनसँग जोडिने काममा एक दिन पनि ढिला गर्न पाउनुहुन्न । विगत पाँच वर्षमा भ्रष्टाचारको कुरा धेरै आए । काँग्रेसले जितेको ठाउँमा भ्रष्टाचारको गन्ध आउन दिनुहुँदैन । हामीले सल्लाह गरिरहेका छौं । पालिका प्रमुख तथा उपप्रमुखलाई बोलाएर संविधानले दिएको अधिकार प्रयोग गर्न र सुशासन कायम गरेर अगाडि बढ्न हामीले निर्देशनात्मक प्रशिक्षण दिन्छौं । यहाँ त पाएको अधिकार पनि प्रयोग गर्न जानेका छैनन् । कति ठाउँमा अधिकारको विषयमा प्रमुख र उपप्रमुख झगडा गरेर बसेको देखियो । यसअघि एउटा पार्टीका प्रमुख र उपप्रमुखको बोलचाल बन्द भएको पनि सुनियो । कसको अधिकार के छ भनेर साथीहरुले संविधान नै पढ्नु भएन । यी सबै कुरामा उहाँहरुलाई प्रशिक्षण दिइन्छ ।
स्थानीय निर्वाचनको नतिजालाई लिएर सत्ता गठबन्धनमा हलचल आउने विश्लेषण भइरहेको छ । गठबन्धन केही गडबड हुने देखिएको हो ?
म त्यस्तो केही देख्दिनँ । म पटकै देख्दिनँ । सत्ता साझेदार दल यहाँबाट भागेर जाने ठाउँ छैन । संविधान र व्यवस्था बचाउन एक ठाउँमा आएका थियौं । अब यहाँबाट अन्त जाने सोच कुनै दलमा भएको मैले देखेको छैन । गठबन्धन भत्किन्छ भन्ने अनुमान भन्नुस् वा विश्लेषण त्यो गलत हो ।
काँग्रेसले प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धनलाई सँगै लिएर जान्छ ?
संघ र प्रदेशको निर्वाचनबारे मैले सोचेको छैन । हामीले चुनावमात्र सोच्दैनौं । चुनाव र जित–हारको कुरामात्र गर्ने मान्छे नेता हुन सक्दैन । नेताले जनताको सुख दुःखको कुरा सोच्नुपर्छ । आम निर्वाचनका लागि हामीसँग थुप्रै समय छ । अहिले हामी स्थानीय सरकारलाई जनताको सेवामा कसरी जोड्ने भन्ने सोचिरहेका छौं । स्थानीय तहका निर्वाचित साथीहरुलाई कसरी परिचालित गर्ने, कसरी सुशासन कायम गर्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ ।
काँग्रेसले पत्रकार सम्मेलन नै गरेर स्थानीय निर्वाचनबाट आम निर्वाचनमा गठबन्धन गरेर जाने मजबुत आधार तयार भएको दाबी गरेको छ । तपाईंलाई बोल्न किन अप्ठ्यारो ? कि संघमा पनि गठबन्धन गर्नु हुँदैन भन्ने पक्षमा हो ?
प्रवक्ताजीले भन्नु भएको छ । तर अहिले नै त्यो कुरा गर्न हतारो हुन्छ । सत्ता गठबन्धन चलिरहन्छ । चुनावी तालमेल त्यतिबेला कथाले जे माग्छ त्यही हुन्छ ।
स्थानीय निर्वाचनको नतिजाले आम निर्वाचनमा काँग्रेस कसैसँग तालमेल बिना नै निर्वाचनमा जानुपर्छ भन्ने देखिएको हो ? तपाईंको बुझाई के छ ?
संघको सन्दर्भमा अहिले किन बोल्ने ? अहिले बोल्न आवश्यक नै छैन । अब त काम गर्ने हो । अबको ६ महिना हाम्रा जनप्रतिनिधिलाई काम गराउने बेला हो । अहिले अर्को चुनावको चिन्ता गर्न थाल्यौँ भने हामी कहिल्यै सुध्रिदैनौं । हामी सुध्रिने कुरा पनि गर्दैछौं । स्वतन्त्र उम्मेदवारको जितले हामीमाथि थ्रेट दिएको छ । हामी फेरि नसुध्रिने कुरा किन गर्ने ? अब चुनावभन्दा पनि सुशासनको चिन्ता गर्नुपर्छ । हिजो हामीले वडाध्यक्ष भनेको त डोजर अध्यक्ष हो भन्ने सबैभन्दा बढी सुन्यौं । अब डोजर अध्यक्षलाई साँच्चिकै वडाध्यक्ष हो । तपाईंहरुकै सेवक हो भन्ने बनाउनु छ । गाउँपालिका र नगरपालिका प्रमुखलाई पनि त्यही बनाउनु छ ।
लोकेन्द्र भट्ट
भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।
ट्वीटर (Twitter) : @Lokendr61100271
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ