शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल, पहाड, तराईः कोही छैन पराई

बिहीबार, १२ जेठ २०७९, १० : ४७
बिहीबार, १२ जेठ २०७९

मैले अध्ययन गरेका सबैजसो धर्ममा ईश्वर एक मात्र छन् । यद्यपि हिन्दू धर्ममा सुरुका ब्रह्मा, विष्णु र महेश्वर तीन भएपनि त्रिमूर्तिका रूपमा ती कहिले एक हुन्छन् त कहिले तीन पनि बन्छन् । मतलव सारमा तीन भएपनि ती एक हुन्, अर्थात परिस्थितिअनुसार कहिले एक र कहिले तीन । हिन्दू, ईसाई तथा इस्लाम यी तीनै धर्ममा ईश्वर निराकार, अलौकिक तथा सर्वव्यापी छन् । हिन्दू धर्ममा ईश्वरका सम्बाहक छैनन् भने इसाई धर्ममा सम्वाहकका रूपमा जिसस क्राइस्ट तथा इस्लाममा मोहम्मद छन् । इसाई धर्मको सुरुवात जिससबाट भएको हो भने इस्लाम धर्मको सुरुवात मोहम्मदबाट भएको हो । 

यसै गरी एक ईश्वरबाट सुरु भएका यी धर्ममा पछि गएर अनेक विभाजन भए । केहीमा अनेक ईश्वर भएर तिनका पनि अनेक नामधारी हाँगाबिंगा हुँदै गए भने एक ईश्वरमा नै रहिरहेकाहरूका पनि अनेक हाँगाबिंगामा विभाजन भए । हिन्दू धर्ममा द्वैत र अद्वैतवाद, वैष्णव, शैव आदि हुँदै अझै विभाजन हुँदै गयो । एकले अर्कोलाई नमान्ने, नसहने आदि हुँदै गयो । त्यस्तै इसाईमा एउटै जिससलाई माने पनि क्रिस्चियनहरू कतै रोमन क्याथोलिक, कतै फ्रेन्च क्याथोलिक, कतै बाप्टिस्ट, कतै मेथोडिस्ट आदिमा विभाजित भए । एकले अर्कोलाई नमान्ने, नसहने भएको सुनिएको र यदाकदा देखिएको पनि हो । त्यस्तै इस्लाम धर्ममा पनि सिया, सुन्नीलगायत अरू अल्पसंख्यक अन्य सम्प्रदाय हामी भेट्न सक्छौं । यी विभाजन किन भए त ? 

मैले अहिलेसम्म पढेको कुनै पनि धर्ममा अर्को धर्मका वा आफ्नो धर्म नमान्नेलाई मार्नु, काट्नु वा घृणा गर्नु भनेर उल्लेख भएको पाएको छैन । मेरो धर्म एक नम्बरको भनेको पाएको छैन । तर हाम्रा राजनैतिक नेताहरू सबैलाई सधैं एक नम्बरमा रहिरहनु पर्ने र त्यसमा टिकिरहन अनेक तिकडम, जालझेल गर्न पछि नहट्ने महारोग लागेको छ । एक नम्बर हुन नपाउने छाँट देखेपछि विभिन्न बहानामा पार्टी फोडेर भएपनि आफू एक नम्बरमा कायम हुने संस्कार बसालेका छन् । जसरी हाम्रा केही नेताहरूले आफ्नो स्वार्थअनुरुप जनतामा विभाजन ल्याएर आफ्नो दुनो सोझ्याइरहेछन्, संसारभर धर्मगुरुहरुले पनि धर्मको नाममा एउटै धर्मभित्र विभाजन ल्याएर आफ्नो छुद्र स्वार्थ पूरा गरिरहेछन् । 
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नेपाल एक सूत्रमा बाँधिएको कुरा सर्वविदितै छ । त्यस बेलादेखि यहाँ क्षत्रीयताको बिषयमा कहिल्यै कुनै विवाद उठेन । हो, जातको बिषयमा भने बेलाबेलामा कुरा नउठेको हैन । ठूला जात भनाउँदाहरूले साना जातकालाई विभिन्न सामाजिक कार्य वा दैनिक प्रचलनमा पनि हेप्ने, तिरस्कार गर्ने, दण्डित गर्ने आदिका साथै छुवाछुतको अमानवीय व्यवहार नगरेका हैनन् । 

मुलुकी ऐन २०२० ले छुवाछुतको घृणित प्रथा उन्मुलन गर्ने उद्देश्यले छुवाछुत गरेमा दण्ड सजायको व्यवस्था गरे तापनि  व्यावहारिक रूपमा त्यो प्रथा व्यापक रूपमा समाजमा चलिराखेकै हो । मान्छे मान्छे बीचको सामाजिक भेदभाव कायमै रह्यो । यता लोकतन्त्रपछि जात जात बीचको भेदभावमा निकै कमी आएको र त्यो भेदभावलाई जारी राख्नेहरू विरुद्ध कारवाही हुने गरेको पनि पाइएको छ । विस्तारै जात जाति बीचको विभेद हट्दै जानेछ भन्ने आशा गरौं । विडम्वना आर्थिक शोषण, आर्थिक विभेदको गहिरो खाडल दिनानुदिन झन् बिकराल बन्दै गैरहेको हामीले देखिरहेकै छौं । 

यता आएर यो विभेद भन्दा कहालीलाग्दो विभेद अचेल नेपालमा केही वर्षदेखि केही व्यक्तिहरूले मच्चाउन थालेको हामीले देखेका छौं, भोगेका छौं । खास गरी पश्चिमा मुलुकले यस देशको सामाजिक, धार्मिक र मौलिक व्यवस्थालाई क्षतविक्षत पारेर वैमनश्यताको साम्राज्य फैलाउन केही एनजीओ र आइएनजिओ मार्फत धेरै अगाडिदेखि प्रयत्न गरिरहेकै हो । त्यही संस्थाहरूबाट पोसिएका र केही राजनैतिक स्वार्थीहरूबाट दिग्भ्रमित पारिएका सिधा साधा जनतालाई भड्काउने कोसिसअनुसार विदेशीकै आडमा कुनैबेला क्षेत्रीय र कुनैबेला जातीय बैमनश्यताका अस्त्रहरू मार्फत देशमा भाँडभैलो मच्चाएर आफ्नो नीच स्वार्थ पूर्तिहेतु यस देशलाई रणभूमि बनाउने षड्यन्त्र  नगरेका हैनन् । 
कुनैबेला एउटा नामधारी पार्टी त कुनैबेला अर्को नामधारी पार्टी र बेलाबेलामा बेग्लै अनुहार लिएर हाम्रो तराई, पहाड तथा हिमालमा बसोबास गरिरहेका सिधासाधा जनतालाई भ्रमित गर्ने कोसिस गरिरहेका छन् । तिनीहरूको क्षेत्रीयता र जातजातिबीच  बैमनश्यता फैलाउने कुरालाई दुत्कारेर हामी सबै नेपाली हौं र हामी अरुको ईशारामा नाच्दैनौं भन्ने प्रमाण हरेक चुनावका बेला जनताले प्रदर्शित गर्ने गरेका छन् । तराई होस् या पहाड वा हिमाल सबैतिरका महान नेपाली जनताले एउटै नेपाली भन्ने मनसायको प्रमाण हरेक चुनावमा दर्शाइरहेका छन् । त्यसको ज्वलन्त उदाहरण स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको चुनावमा तराईमूलका बालेन साहको विजयलाई लिन सकिन्छ ।

काठमाडौंका मतदाताले बालेनमा निहित राष्ट्रियताको भावना पहिचान गरेका छन्, भ्रष्टाचार विरोधी नियत भेटेका छन्, विकासका काम गरेर देखाउने संकल्पमा विश्वास गरेका छन् । जातीयता र क्षेत्रीयताको विद्वेषविरुद्ध डटेर अघि बढ्ने जाँगर देखेका छन् । त्यसैले त जनताले बालेनलाई अधिक मत दिएका हुन् । 

हुन सक्छ, राजनैतिक व्यक्तित्वले घेरिएको महानगरपालिकाका अन्य सदस्यहरूले बालेनको सोच अनुसारका विकास, निर्माणका कामहरू सुचारु गर्ने काममा छेकवार, बाधा विरोध उत्पन्न गर्लान् । खल्ती भर्ने  बानी लागेका ती व्यक्तिहरूले उनलाई विभिन्न बहानामा र बहुमतको घमण्ड गर्दै असफल तुल्याउने प्रयत्न गर्लान् । तर, बालेनले हरेक डर, त्रास र धम्कीको डटेर मुकावला गर्न जनताको सधैं साथ पाउनेछन् । उनले यत्ति गर्दिए पुग्छ कि कुनै पनि बाधा विरोध र धम्कीलाई जनतासामु तुरुन्तै उजागर गरुन् । काठमाडौंमा बालेन अहिले एक नम्बरमा आए । सधैं एक नम्बरमा रहिरहनु पर्ने भावनाको त्याग गर्दै, दाता होइन, सबैको सेवक बन्न प्रेरित होऊन् । सबै धर्म, संस्कृतिको बरोबर सम्मान गरुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप