शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विजय सुवेदीका लागि भरतपुरमा किन भयो ‘सूर्य’ अस्त ?

बिहीबार, १२ जेठ २०७९, १० : ५६
बिहीबार, १२ जेठ २०७९

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । भरतपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भइन् भने उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए ।

भरतपुरमा सत्तारुढ ५ दलीय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको थियो भने एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । भरतपुरमा सत्ता गठबन्धनविरुद्ध निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको एमालेले सोचेअनुसारको नतिजा निकाल्न भने सकेन ।

भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी दाहालले एमालेका विजय सुवेदीलाई पराजित गरिन् । बागमती प्रदेशसभा सदस्यसमेत भइसकेका सुवेदीलाई एमालेले प्रदेश सांसदबाट राजीनामा गराएर भरतपुरको प्रमुखमा उम्मेदवार बनाएको थियो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा एमालेका सुवेदीलाई जनताले त्यति रुचाएनन् । निर्वाचनको मत परिणाम अनुसार भरतपुरको प्रमुखमा सुवेदी १२ हजार बढी मतान्तरले पराजित भए ।

उक्त निर्वाचनमा माओवादी केन्द्रकी दाहालले ५२ हजार २८ मत पाउँदा एमालेका सुवेदीले ३९ हजार ५८२ मत पाए । भरतपुरमा माओवादी केन्द्रकी दाहाललाई पराजित गर्न एमालेले सुवेदीलाई ‘हेभीवेट’ नेताको रुपमा प्रस्तुत गरेको थियो । तर, निर्वाचनको मत परिणाम एमालेको विपरीत आएको छ ।

निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै एमालेका सुवेदीको पराजयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तयारी ताका सत्ता गठबन्धनको मत काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार जगन्नाथ पौडेलले काट्ने र राप्रपाको समेत मत पाएर एमालेले सुरुवाती चरणदेखि नै अग्रता लिने रणनीति एमालेले बनाएको थियो । जसबाट एमालेले निर्वाचन जित्ने विश्वास लिएको थियो । तर, मत परिणाम एमालेको अपेक्षाभन्दा निकै फरक आयो ।

यस्तो छ भरतपुरमा विजय सुवेदी हार्नुको कारण 

१) बढी उत्साहित र प्रतिस्पर्धीलाई कमजोर ठान्नु 

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनभित्रको विवादलाई एमालेले समग्रमा विश्लेषण गर्न सकेन । गठबन्धनको मत स्वतन्त्र उम्मेदवारले काट्ने र माओवादी केन्द्रकी उम्मेदवार पराजित हुने एमालेको अनुमान थियो । त्यही अनुसार एमालेले चुनावी रणनीति पनि बनाएको थियो ।

एमालेले गठबन्धनभित्रको सतही विवादलाई मात्र ध्यान दियो र जित्नेमा उत्साहित देखियो । निर्वाचन जित्नेमा ढुक्क बनेर एमालेले प्रतिस्पर्धीहरुलाई निकै कमजोर सोच्दा निर्वाचनको परिणाम उल्टो आयो । 

२) एमालेभित्रको अन्तर्घात

भरतपुर महानगर प्रमुखमा एमाले उम्मेदवार सुवेदी हार्नुको मुख्य कारण भनेको एमालेभित्रको अन्तर्घात हो । एमालेका उम्मेदवार सुवेदीले भरतपुरका आफ्नो बहुल्यता रहेको वडामा पनि सोचे अनुसार मत पाउन सकेनन् ।

निर्वाचनको मत परिणाम हेर्दा एमालेको प्रभाव रहेका वडाहरुमा आफ्ना वडा अध्यक्ष पदका उम्मेदवारले राम्रो मत पाउँदासमेत सुवेदी पछाडि परे । भरतपुरको बजार क्षेत्र (पूर्वीभेग)मा एमालेको प्रभाव राम्रो रहेको बताइएको थियो । ग्रामीण क्षेत्र (पश्चिम भाग)मा भने काँग्रेस र माओवादी केन्द्रको प्रभाव रहेको देखिन्छ । सुवेदीले भरतपुरको पूर्व क्षेत्रका वडाहरूमा समेत राम्रो मत पाउन सकेनन् । एमालेले जितेका वडाहरुमा समेत सुवेदी पछि परे ।

ती वडामा मतको ट्रेण्ड नै पहिलो छाप प्रमुख पदका लागि ‘हँसिया हथौडा’मा छ भने बाँकी ६ वटा सूर्यमा । यसबाट के प्रस्ट हुन्छ भने एमालेभित्रै अन्तर्घात भयो ।

यता निर्वाचनको तयारीमा रहँदा भरतपुरको प्रमुखमा ‘हेभीवेट’ तीन नेताले आकांक्षा व्यक्त गरेका थिए । एमालेभित्र भरतपुरको प्रमुखमा यस अघिको निर्वाचनमा हारेका देवी ज्ञवाली र कृष्णभक्त पोखरेल पनि आकांक्षी थिए । टिकट वितरणको छलफलमा दुवै नेताले सुवेदीलाई सघाउने सर्वसम्मत सहमति पनि भयो । केन्द्रको निर्देशन अनुसार सो सहमति बनेको थियो । तर चुनाव प्रचारका क्रममा एमाले एक ढिक्का हुन सकेन । जसका कारण एमालेमा अन्तर्घातको अवस्था बनेको थियो । 

३) स्वतन्त्र उम्मेदवारमाथिको रणनीतिमा विश्वस्त हुनु

एमालेले काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार जगन्नाथ पौडेलमाथि तयार पारेको चुनावी रणनीतिमा विश्वस्त हुँदा निर्वाचनको सही परिणाममा हात पार्न सकेन । स्वतन्त्र उम्मेदवार पौडेलले गठबन्धनको मत काट्छन् भन्ने एमालेको अनुमान थियो । तर, निर्वाचनको मत परिणाम त्यसको विपरीत आयो । स्वतन्त्र उम्मेदवारलाई एमाले र गठबन्धनको दुवैतिरको मत गयो । दवै तर्फको रुष्ट मत स्वतन्त्र उम्मेदवारले पाए भने त्यसको फाइदा गठबन्धनलाई भयो । स्वतन्त्र उम्मेदवारका कारण गठबन्धनको मत ‘होल्ड’ भयो र गठबन्धनको असन्तुष्ट मत एमालेका सुवेदीलाई जान पाएन ।

४) राप्रपासँग तालमेलमा धोका

भरतपुरमा सत्ता गठबन्धनसँग भिड्न एमालेले निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको थियो । राप्रपासँग तालमेल गर्दा एमालेका उम्मेदवार सुवेदीले जित्ने निश्चित रहेको नेताहरुले अड्कल गरेका थिए । तर, निर्वाचनमा राप्रपासँगको एलाइन्स एमालेमाथि भारी प-यो ।

राप्रपाको संगठित मत नै एमालेका सुवेदीले पाउन सकेनन् । अघिल्लो निर्वाचनमा भरतपुरमा राप्रपाको ७ हजार मत थियो । पछिल्लो समय राप्रपाको केही मात्रामा जनमत बढेको पनि देखिन्छ । सोही अनुपातमा राप्रपाको संगठित मत एमालेका सेवेदीलाई आउनु पर्ने थियो । तर एमालेले अपेक्षा गरे अनुसार राप्रपाको मत पाउन आउन सकेन ।

गठबन्धनका सम्बन्धमा एमालेको दोहोरो चरित्रका कारण पनि एमालेलाई समस्या बनाएको देखिन्छ । एकातिर गठबन्धनको विरोध गर्ने एमालेले भरतपुरमा भने राप्रपासँग तालमेल गरेको थियो । दोहोरो चरित्रका कारण पनि एमालेलाई निर्वाचनमा सोचे अनुसारको परिणाम निस्कन सकेन ।

५) एमाले विभाजनको असर

भरतपुरको मत परिणाम हेर्दा एमाले विभाजनको असर स्पष्ट देखिन्छ । भरतपुरमा एमाले हार्नुको मुख्य कारण नै आफ्नो विभाजनलाई नजरअन्दाज गर्नु हो । एमाले संगठनको आडमा चुनाव जित्ने दाउमा थियो । तर २०७८ भदौमा एमालेको विभाजनबाट भएको क्षतिको आकलन नै गर्न सकेन ।

एमालेमा माओवादी केन्द्रका केही नेताहरुको प्रवेशले आफ्नो विभाजनलाई पुर्ने काम गरेको र जनताले चुनाव चिह्न सूर्यबाहेक अन्त मत नहाल्ने उसको विश्वास थियो तर निर्वाचन परिणामले त्यसलाई गलत साबित गरिदियो । 

६) केन्द्रका नेता स्थानीय तहमा झर्नु

एमाले हार्नुको अर्को कारण भरतपुरको प्रमुख र उपप्रमुख पदका लागि सही उम्मेदवार छनौट गर्न नसक्नु पनि हो । एमालेले चुनाव जित्नकै लागि केन्द्र तहसम्म पहुँच भएका २०७० को संविधानसभा सदस्य निर्वाचनका उम्मेदवार, २०७४ मा निर्वाचित बागमती प्रदेशसभा सदस्य सुवेदीलाई भरतपुरको प्रमुखमा झार्नु हारको कारण बनेको हो ।

केन्द्रतर्फ गएका नेताहरु स्थानीय तहमा झर्दा निर्वाचनमा एमालेलाई घाटा भएको स्थानीयस्तरमा विश्लेषण भएको छ । केन्द्रमा गएका नेता स्थानीय तहमा आएको विषयमा एमालेभित्र तीव्र विरोध पनि भएको थियो । भरतपुरको प्रमुखमा सुवेदीको उम्मेदवारीका कारण युवा नेतृत्व पछि परेको भन्दै एमालेमा चर्को विरोध पनि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप