शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले अझै बूढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन सकेन

बिहीबार, १२ जेठ २०७९, ११ : २१
बिहीबार, १२ जेठ २०७९

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने बताएका छन् । ‘माननीय आयुक्त सगुनशम्शेर जबराज्यू नेतृत्वको उच्चस्तरीय स्थलगत अध्ययन टोलीको प्रतिवेदन प्राप्त भएको छ । प्रतिवेदन अध्ययन भइरहेको छ । आशा गरौँ, आयोगबाट चाँडै निर्णय हुन्छ’, जबराले भने । 

३० वैशाखमा निर्वाचन हुँदा एमालेले बुथ कब्जा गरेको कांग्रेस नेता, कार्यकर्ताहरूको आरोप छ । उनीहरू फेरि मतदानको पक्षमा छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् । 

दलहरूबीच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन । उदयपुरको त्रियुगा नगरपालिकामा भने आयोगले मतगणना गर्ने निर्णय गरेपछि मतगणना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप