ठगी आरोपमा नेपालमै भारतीय प्रहरीको ‘अप्रेसन’, नेपाल प्रहरी बेखबर !
एमबीबीएस परीक्षामा उत्तीर्ण गराई भर्ना गरिदिन्छु भनेर भारतमै ठगी गरी नेपालमा लुकेर बसेका एक व्यक्तिलाई नेपालबाटै पक्राउ गरी हैदरावाद लगिएको भारतीय मिडियाले दाबी गरेका छन् । टाइम्स अफ इण्डियामा प्रकाशित एक समाचार अनुसार बिहार स्थायी घर भई नेपालमा पनि बसोबास गरिरहेका ३० वर्षीय अशोक साहलाई नेपालबाटै पक्राउ गरी हैदरावाद लगिएको हो ।
अशोकले भारतको बैंगलोरमा रहेको केएमआईएस कलेजमा एमबीबीएस अध्ययनका लागि विशेष कोटा उपलब्ध गराइदिने भन्दै एक विद्यार्थीसँग १० लाख १६ हजार भारतीय रुपैयाँ लिएको समाचारमा उल्लेख छ । तर अशोकले विशेष कोटामा एमबीबीएसको सिट उपलब्ध गराउन नसकी पैसा लिएर फरार भएपछि बैंगलोरको विद्यार्थी वाई भेनेलाले हैदरावाद प्रहरीमा उजुरी गरेकी थिइन् । अशोकले ती विद्यार्थीसँग २० लाख रुपैयाँ बुझाए विशेष कोटामा एमबीबीएस सिट उपलब्ध गराउने बताएका थिए ।
अशोकको गिरोहले विद्यार्थीलाई विश्वास दिलाउन बैंगलोर, कोलकाता र पुनेमा कार्यालयसमेत खोली एमबीबीएसको कोटा उपलब्ध गराउने भन्दै विद्यार्थीलाई प्रभावमा पारेका थिए । अशोकको समूहले एमबीबीएस इन्ट्रान्स कक्षामा लगातार अनुत्तीर्ण भएका विद्यार्थीको सूची तयार पारी उनीहरुलाई फोन र एसएमएस गरी एमबीबीएसको कोटा उपलब्ध गराउन सहयोग गर्ने भन्दै पैसा उठाउने गर्दथे । तर जब विद्यार्थीसँग पैसा लिन्थे, त्यसपछि उनीहरु कार्यालय बन्द गरी मोबाइलका स्विच अफ गरेर फरार हुन्थे ।
हैदरावाद साइबर सेलको हवाला दिँदै टाइम्स अफ इण्डियाले लेखेको समाचारमा अशोकले फोन गर्ने र आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउँथे । त्यसपछि उनीहरु फरार हुन्थे । गिरोहले रकम लिएर पनि एमबीबीएसको कोटा उपलब्ध गराउन नसकेपछि पीडित विद्यार्थीले गत महिना हैदरावाद प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि अशोकका खोजीमा निस्केको हैदरावाद प्रहरीले अशोक नेपालमा लुकेर बसेको पत्ता लगाएको थियो ।
भारत बिहार स्थायी घर भएपनि नेपालमै पनि नागरिकता बनाएर बसेका अशोकलाई सशस्त्र सिमा बलको सहयोगमा नेपालबाट पक्राउ गरिएको दाबी गरिएको छ । यद्यपि पक्राउका क्रममा आफू नेपाली नागरिक भएकाले पक्राउ गर्न नमिल्ने भन्दै उनले भारत जान अस्वीकार गरेको समाचारमा उल्लेख छ । पक्राउ परेपछि अशोकले उक्त गिरोहको मास्टरमाइण्ड अजित भन्ने व्यक्ति रहेको र अन्य चारजना व्यक्ति पनि उक्त अपराधमा संलग्न रहेको बताएको समाचारमा उल्लेख छ ।
पक्राउबारे नेपाल प्रहरी बेखबर
नेपाली भूमिमै आएर भारतीय नागरिक पक्राउ गरी लगेको बारे नेपाल प्रहरी भने बेखबर छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले भारतीय नागरिक पक्राउबारे कुनै जानकारी नभएको बताए । उनले भने, ‘भारतीय प्रहरी नै आएर नेपालबाट आरोपी पक्राउ परेको बारे नेपाल प्रहरीलाई कुनै जानकारी छैन । नेपाल प्रहरीले समातेर बुझाएको पनि होइन, किनभने कुनै देशसँग पनि हाम्रो सुपुर्दगी सन्धी छैन । त्यसकारण कागजी प्रक्रिया पूरा गरेर पठाउने भन्ने नै भएन । उनीहरु कसरी नेपाल आए र कसरी लिएर गए भन्ने कुरा नेपाल प्रहरीको जानकारीमा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा