शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वतन्त्रबाट बालेनको उदय, एनजीओ जस्ता भए वैकल्पिक पार्टी

बिहीबार, १२ जेठ २०७९, १७ : ३३
बिहीबार, १२ जेठ २०७९

विवेकशील साझा पार्टीले जेठ १ गते विज्ञप्तिमार्फत् चुनावी आत्मसमीक्षा गर्यो । विज्ञप्तिमा उल्लेख छ, ‘हामीले देशभरि पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ । साथै पार्टीमा टुटफुटलगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि क्षति ब्यहोर्नुपर्‍यो ।’

पार्टीको यो विज्ञप्तिलाई रवीन्द्र मिश्र पक्षले मात्र सार्वजनिक रूपमा प्रस्तुत गरिरहेको थियो । मानौँ कि अर्को पक्ष मिलन पाण्डेलाई स्थानीय निर्वाचनको सरगर्मीले छोएकै छैन । वैकल्पिक राजनीति गर्ने भनेर २०६८ सालबाट (सन् २०११) नै ‘विवेकशील नेपाली’ नामक सञ्जाल बनाएर उज्ज्वल थापालगायत युवाले काम गरिरहेका थिए । पछि पत्रकारिता छाडेर राजनीतिमा आएका रवीन्द्र मिश्र, पूर्वाधारविद् सूर्यराज आचार्यलगायतले गठन गरेको साझा पार्टीलाई विवेकशील नेपाली दलसँग गाभे । उनीहरूले २०७४ सालमा तीनै तहको निर्वाचनमा आफ्नो सम्पूर्ण ऊर्जा प्रस्तुत गरे । काठमाडौँ महानगरको मेयरमा रञ्जु दर्शना, काठमाडौंबाट संघीय निर्वाचनमा रवीन्द्र मिश्र उम्मेदवार बने । दुवैले शीर्ष राजनीतिक दललाई टक्कर दिने गरी मत ल्याए पनि विजयी भने हुन सकेनन् ।

त्यतिबेलाको विवेकशीलको क्रेज हेर्दा अहिले उदाएका बालेन साहसँग धेरै समानता छ । किनकि नेपालको सन्दर्भमा ‘वैकल्पिक राजनीति’ वा ‘वैकल्पिक शक्ति’ बन्ने होड समय–समयमा विभिन्न समूह, सञ्जाल, पार्टी वा व्यक्तिबाट हुने गरेको देखिन्छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत स्थापित राजनीतिक शक्ति अब नेपालमा चल्दैन भन्ने निष्कर्षका साथ नयाँ शक्ति पार्टी (२०७२) गठन गरेका थिए । तर बाबुरामको नयाँ शक्ति पनि दुई वर्ष नपुग्दै तितरवितर बन्यो । उनी आफैँ मधेस आन्दोलनबाट स्थापित बनेका उपेन्द्र यादवको पार्टीमा मिसिन गए । 

पछिल्लो एक दशकमा भएका प्रयासबाट नेपालमा वैकल्पिक राजनीतिक शक्तिको उदयको प्रयास भएको प्रष्ट देखिन्छ । तर त्यसले नेपालको माटोमा जरा गाड्न सकेको छैन । वैकल्पिक भनिएका शक्ति वा समूह प्रकारान्तरले शीर्ष राजनीतिक दलमा गाभिएका छन् वा शीर्ष दलजस्तै बहुदलीय प्रतिस्पर्धामै सरिक भएका छन् । 

यही परिवेशमा बालेन साह अहिले काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने निश्चित भएको छ  । उनले पहिलो प्रयासमै एमालेका र काँग्रेसका अनुभवी उम्मेदवारलाई फराकिलो मतान्तरले उछिन्दै मेयरमा निर्वाचित भइरहेका छन् । 

प्रश्न यहाँ उठ्छ, बालेनको उदय कसरी भयो ? वास्तवमा बालेनको उदयको बहुल कारण छन् । छिमेकी देश भारतमा अरविन्द केजरीवालले आम आदमी पार्टीमार्फत् प्रस्तुत गरेको वैकल्पिक राजनीतिको मोडेल बालेन साहसँग मिल्दोजुल्दो छ । बालेन आफैँले पनि अन्तरवार्तामा यो कुरा स्वीकार्दै ‘आफ्नो चुनावी प्रचार र रणनीति आम आदमी पार्टीबाट प्रेरित रहेको’ बताएका छन् । मेयरमा विजयी भए नयाँ शक्ति गठन गर्ने कुराको संकेत बालेनले गरेका छन् । जुन बाटो अरविन्द केजरीवालकै बाटो हो ।

यद्यपि मेयरको रूपमा बालेनको उदय हुनुलाई मात्र वैकल्पिक राजनीति मान्न नसकिने विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषक डम्बर खतिवडाका अनुसार  नेपालमा अहिले वैकल्पिक राजनीतिको बहस चर्चा भएपनि कुन आधारमा त्यसलाई वैकल्पिक शक्ति मान्ने भनेर चर्चा नभएको बताउँछन् । ‘वैकल्पिक राजनीति भन्नाले विवेकशील, नयाँ शक्ति र साझा पार्टी हो भन्ने बुझ्न हुँदैन । २०४६ पछि देवेन्द्रराज पाण्डेले लोक दल बनाएर नयाँ प्रकारको सामाजिक जनवादको, गजेन्द्रनारायण सिंहले सद्भावना पार्टी गठन गरेर मधेसी, जनजातिका सवाललाई उजागर गर्न खोजेका थिए । ती आफ्नो समयका वैकल्पिक राजनीति नै थिए । यस्ता सबै प्रयासलाई वैकल्पिक राजनीतिलाई बुझ्नु पर्दछ’, खतिवडा भन्छन् । 

वैकल्पिक राजनीतिको मुद्दा लिएर दलमार्फत् नै राजनीति गरिरहेका मिलन पाण्डे भने केही वर्षयता वैकल्पिक पार्टीका केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँछन् । उनका अनुसार यस्तो राजनीतिको ठोस उपलब्धि तत्काल नदेखिन सक्छ तर दीर्घकालीन रूपमा यी उपलब्धि सुसंस्कृत राजनीतिको आधार बन्नेछ ।

पाण्डे अगाडि भन्छन्, ‘वैकल्पिक राजनीति, वैकल्पिक पार्टी पनि हुन सक्छ । वैकल्पिक नेतृत्व पनि हुन सक्छ । वैकल्पिक शैली पनि हुन सक्छ वा यी सबै पनि हुन सक्छ । गतिशील समाजले पृथक् राजनीतिको माग सधैँ गरिरहेकै हुन्छ । विकल्पहीन राजनीतिले अतिवाद अनि अधिनायकवाद जन्माउँछ ।’

वैकल्पिक राजनीतिको बलमा स्थानीय शासन अझ मजबुत हुने धारणा राख्छन् लेखक गनेस पौडेल । यसैपालीको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बनेका पौडेलले आशाजनक मत ल्याएनन् तर निराश भने छैनन् । उनी वैकल्पिक राजनीतिको स्वरूप र सवाल हरेक देशमा फरक हुने मान्यता राख्छन् ।

‘यूरोपमा ग्रिन पोलिटिक्सको रूपमा वैकल्पिक राजनीतिको सुरुवात भयो । भारतमा हेर्‍यो भने केजरीवालले बत्तीको बिल बढी भएको कुरालाई राजनीतिक अस्त्र बनाए, जुन कुराले दिल्लीवासीलाई छोयो,’ पौडेलले भने, ‘समतामूलक, समृद्ध र व्यवस्थित तरिकाले जनताको मनमा लागेको कुरालाई उठाउनु नै वैकल्पिक राजनीतिक दलको विशेषता हो ।’ 

यस्तै पूर्वाधारविद् तथा राजनीतिक विश्लेषक डा सूर्यराज आचार्य यस किसिमको संगठनिक रूपले  विवेकशील साझा लगायतका वैकल्पिक भनिने पार्टीहरु गन्तव्यमा पुग्न नसक्ने र विसर्जन सुरु भैसकेको बताउँछन् । “जनता अब काँग्रेस, एमाले, माओवादी लगायतका दलहरुले जति चुनाव जितेपनि काम नगर्ने निचोडमा पुगिसकेका छन् र त्यसैको नतिजास्वरुप प्रतिविम्बित भएको हो उम्मेदवार बालेन साहलगायतको लोभलाग्दो मत पनि,” आचार्य भन्छन् । 

प्रदेश र संसदीय तहको चुनाव आउँदै गर्दा यही ढंगमा केही सुधार गरेतापनि विवेकशील साझा लगायतका वैकल्पिक पार्टीहरूको राष्ट्रिय पार्टी बन्ने सम्भावना नरहेको बताउँछन् आचार्य । “अब सुधार हैन, पूर्ण रूपमा नयाँ संरचनाका साथ वैकल्पिक पार्टी र शक्तिहरूले रूपान्तरणकारी राजनीति गर्ने सामर्थ्य बोक्नु पर्छ । विवेकशील साझा लगायत वैकल्पिक शक्ति सामाजिक कार्य गर्न खोलिएका एनजीओ जस्ता भए, राजनीतिक पार्टी जस्ता भएनन्,” आचार्य थप्छन् । यद्यपि, सांगठनिक रूपमा राजनीतिक विचार राखेर नयाँ संरचनासाथ हिँडे वैकल्पिक शक्तिको सम्भावना रहेको र अब बालेन लगायतका स्वतन्त्रले मिलेर पार्टी खोल्ने सम्भावना रहेको आचार्यको भनाइ छ । 

पार्टी खोलेर राष्ट्रिय राजनीतिमा पनि अघि बढ्ने यी स्वतन्त्र विजयीहरूको एजेन्डा छ या छैन भन्ने कुरा समयले देखाउने छ । 

केजरीवाल फ्याक्टर

वैकल्पिक राजनीतिको अधिकांश बहसमा भारतका अरविन्द केजरीवाल केन्द्रमा रहँदै आएका छन् । उनले भ्रष्टाचार, फोहोरमैला व्यवस्थापन लगायतका मुद्दा उठाउँदै अन्ततः राष्ट्रिय राजनीतिक पार्टी गठन गरी निर्वाचनमार्फत दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् । उनको बाटोलाई वैकल्पिक राजनीतिको सफलतम बाटो मानिँदै आएको छ । 

तल्लो तहका जनतालाई भ्रष्टाचारविरुद्ध लड्न उत्प्रेरित गरेको भन्दै केजरीवाललाई सन् २००६ मा रोमन म्यागेसेसे पुरस्कारद्वारा सम्मानित गरियो । यो पुरस्कारले केजरीवाललाई पृथक पहिचान दियो ।  यसैबीच सन् २०११ मा प्रसिद्ध अभियानकर्मी अन्ना हजारेसँग मिलेर भ्रष्टाचार विरोधी जनलोकपालको माग गर्दै गरिएको आन्दोलनले उनलाई प्रत्यक्ष राजनीतितर्फ डोर्‍यायो । केजरीवालले भ्रष्टाचार विरूद्धमा उर्लिएको विशाल जनमतलाई संस्थागत गरेर अघि बढ्ने योजनाअनुसार केही ऊर्जाशील साथीहरूलाई समेटेर गान्धी जन्मजयन्तीको अवसरमा सन् २०१२ को अक्टोबर २ मा आम आदमी पार्टी स्थापना गरे । 

एक सामान्य अभियन्ताबाट दलको नेता हुँदै अहिले दिल्लीको मुख्यमन्त्री बन्न सफल रहेका केजरीवाललाई नेपालमा वैकल्पिक राजनीति गर्नेहरूले आदर्श मानेको देखिन्छ । उनको दलले यसपाली पञ्जावमा पनि झण्डा फहरायो । यस पटकको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका धेरैजनाले केजरीवालको नाम लिएर नेपालमा आफूले त्यसरी नै राजनीतिमा हस्तक्षेप गर्ने बताए । यद्यपि उनीहरूले केजरीवालले विशाल जनसंगठन तथा दलित, महिला, मजदुर र युवाहरूको सञ्जालको बलमा राष्ट्रिय निर्वाचनमा विजयी भएको कुरा भुलेको देखिन्छ । वैकल्पिक राजनीतिको लागि पनि सही संगठन, कार्यदिशा र सामूहिकता चाहिन्छ भन्ने कुरा नेपालमा वैकल्पिक राजनीति गर्नेहरूले उठाएको पाइँदैन । त्यसैले पनि रवीन्द्र मिश्रहरूको अवसान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप