बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जबर्जस्ती करणी गरी हालसम्म फरार रहेका प्रिन्सिपल पक्राउ

पीडित किशोरीले केही दिनअघि मात्रै लेखेकी थिइन् फरार प्रिन्सिपलबारे स्टाटस
बिहीबार, १२ जेठ २०७९, १७ : ३५
बिहीबार, १२ जेठ २०७९


५ वर्षअघि आफ्नै होस्टलमा बस्ने नाबालिगलाई बलात्कार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली स्थायी घर भएका ३६ वर्षीय राज खड्का रहेका छन् । खड्काले आफू इटहरीको ब्लुमिङ् लोटस इङ्ग्लिस स्कुलमा प्रिन्सिपल रहँदा सोही स्कुलका अध्ययन गर्ने १५ वर्षीय नाबालिगलाई रेष्टिगेट गरिदिने धम्की दिँदै निरन्तर बलात्कार गरेका थिए । सोहीबारे प्रहरीमा उजुरी परेपछि उनी फरार भएका थिए । 

राजकुमार खड्का भनिने राज खड्काले बिरामीसमेत रहेकी नाबालिगलाई अन्तिमपटक २०७४ साउन २६ गते जिल्ला सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १० मा पर्ने घोपा क्याम्प जाने बाटोमा रहेको जनहित गेष्ट हाउस बलात्कार गरेका थिए ।

 त्यसपछि ती बालिकाले विद्यालय नै छाडेर अर्को विद्यालयमा गई अध्ययन गर्दा पनि ती नाबालिगलाई विवाह गर्छु भनी फकाउने र समाजमा बेइज्जत गरिदिने धम्की दिदै पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित बालिकाले २०७५ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएपछि खड्का फरार भएका थिए । 

सुनसरीबाट फरार भएका खड्का पछि काठमाडौंमै रहेको एक विद्यालयमा प्रिन्सिपल भएर काम गरिरहेका थिए । उनी वानियटारमा डेरा गरी परिवारसँग बस्दै आएका थिए ।  जब २०७१ सालमा ब्युटी प्याजेन्टको नाममा एक किशोरी कसरी बलात्कारमा परिन् भनेर सामाजिक सञ्जालमा भिडियो आयो, त्यसपछि ती पीडित बालिकाले पनि आफूमाथि भएको अत्याचार र त्यसविरुद्ध उजुरी गर्दा पनि प्रहरीले खोजी नगरेको भनी सामाजिक सञ्जालमा लेखेकी थिइन् । त्यसलगत्तै प्रहरीले खड्काको खोजी गरेको थियो । 

प्रहरीले खोजी सुरु गरेको थाहा भएपछि खड्का मोबाइलको स्वीच अफ गरेर वानियाटारस्थित डेराबाट समेत फरार भएका थिए । उनी विभिन्न स्थानमा लुक्दै बसेको थाहा भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरीले खड्काको खोजी तीब्र पारेका थिए । खोजीकै क्रममा खड्कालाई बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको सिआइबीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

पीडितको जाहेरीपछि प्रतिवादी खड्का फरार भएपनि सुनसरी प्रहरीले जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो । प्रतिवादी फरार रहेकाले उक्त मुद्दा सुनसरी जिल्ला अदालतले मुल्तवीमा राखेको थियो । 
खड्कालाई बिहीबार नै सुनसरी जिल्ला अदालतमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप