बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई दिनका एआईजी बसन्त लामा भन्छन् – मनमा केही असन्तुष्टि छैन

शुक्रबार, १३ जेठ २०७९, ०७ : ४६
शुक्रबार, १३ जेठ २०७९

मन्त्रिपरिषद्ले बसन्त कुमार लामालाई जेठ ६ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय ग-यो । तर, २९ वर्ष प्रहरीमा सेवा गरेका लामाले अतिरिक्त महानिरीक्षक बनेको दोस्रो दिनमै सधैँका लागि प्रहरीको बर्दी फुकालेका छन् । २०४९ चैत ११ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका लामाले एआईजीको ५६ वर्षे उमेर हदका कारण जेठ ७ को मध्यरातबाट अवकाश पाएका हुन् । 

दुई दिन मात्र विशिष्ठ श्रेणीको पदमा रहेर अवकाश पाएका लामा छोटो समय एआईजी हुँदा मनमा कुनै गुनासो नभएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मनमा कुनै न्यास्रोपन छैन ।’  

आफूभन्दा अघि सँगै परेड खेलेका साथीहरु अवकाशमा गएको सम्झिँदै उनले थपे, ‘कतिपय अवस्थामा पद खाली हुने तर, पदोन्नति नहुने अवस्था आउँदा धेरै अधिकृतहरूले अवकाश पाएका छन् ।’ तर, लामा आफूलाई भाग्यमानी सम्झिन्छन् ।

स्थानिय तह निर्वाचनको चटारोमा पनि बढुवा समितिले उनलाई मात्रै एकल बढुवा सिफारिस गरेको थियो । सरकारको सो निर्णयका कारण घर जानुअघि विशिष्ठ श्रेणीमा लामाको पदोन्नति भए । दुई दिनको एआईजी अनुभव सुनाउँदै लामा भन्छन्, ‘अवधिभन्दा पनि कुन दर्जासम्म पुगेँ भन्ने महत्वपुर्ण हो । क्षमता हुँदाहुँदै स्थिति यस्तो आयो कि, एआईजीमा पनि पुग्दिनँ कि भन्ने अवस्था थियो ।’ 

मानसिक रुपमा डीआईजी पदबाट नै अवकाशमा जान उनी तयार भइसकेका थिए । ‘मानसिक रुपमा म एआईजी हुन्‍नँ भन्ने भइसकेको थियो,’ उनि भन्छन्, ‘तर, सँधै सकारात्मक सोचेँ, सरकारले योग्यताको कदर गरेर मेरो पदोन्नति गरेको छ ।’ 

उनकै ब्याचमेट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक छन् । ब्याचमेटसँग ३० वर्ष प्रहरीमा बस्न पाए हुन्थ्यो भन्ने उनलाई नलागेको होइन् । उमेर हदको पावन्दी रोक्न सम्भव थिएन । लामा भन्छन्, ‘कम्तिमा ३० वर्ष सम्म जागिरमा बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर, मनमा पुर्ण असन्तुष्टि छैन ।’ 

फुटबल खेल्दा खेल्दै जागिरमा 

बसन्त लामाका बुवा पनि पूर्व प्रहरी हुन् । उनको परिवार पूर्वबाट बाराको लक्ष्मीनियामा र पछि वीरगञ्जमा बसाईँ सरेको थियो । उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट उच्च शिक्षा अध्ययन गरेका हुन्। 

स्कुल र क्याम्पसमा पढ्दा फुटबल खेल्दा खेल्दै उनी प्रहरीमा भर्ना भएका हुन् । नेपालको प्रतिनिधित्व गरेर उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनी थ्रिस्टार क्लब र तत्कालीन महेन्द्र पुलिस क्लबबाट खेल्थे । नारायणीबाट प्रतिनिधित्व गरेर फुटबल खेल्न काठमाडौं आउँदा साथीले किताब पढेको देखेर लामाले सोधे, ‘खूब पढिरहेका छौं, के पढेको ?’ 

साथीले जवाफ दिए,‘इन्स्पेक्टरको जाँच दिँदै छु ।’ लामालाई सो कुराले छोयो । वीरगञ्ज फर्केर आवश्यक कागजात ल्याएर उनले पनि जाँच दिए । नाम निस्कियो । ‘साथीले पुस्तक पढेको देखेर मेरो सोच परिवर्तन भयो,’ लामा भन्छन्, ‘त्यसपछि म प्रहरी भएँ ।’ उनलाई लागेको थियो प्रहरीमा प्रवेश गरेरै खेल्छु, कम्तिमा डिएसपी भएपछि निस्कन्छु । तर, उनलाई समयले एआइजी बनायो । 

‘प्रहरी जीवन चाँडै सकियो’

जागिर अवधिमा धेरैजसो तालिम केन्द्रमा बिताएका बसन्त लामा प्रहरीको जीवन चाँडै सकिएको अनुभव गर्छन् । उनी भन्छन्,‘प्रहरी जीवन चाँडै सकियो जस्तो लाग्छ ।’  तालिम केन्द्रहरुमा बस्दा खेल्न र शैक्षिकस्तर वृद्धिमा सहजता हुन्थ्यो, त्यसैले उनले धेरैजसो समय त्यहाँ बिताए ।

इन्स्पेक्टर भएपछि विवाह गरेका लामा डेरामा बसेर सुरुवाती जीवन गुजारेको सम्झन्छन् । इन्स्पेक्टर बेसिकमा उनी अलराउण्ड प्रथम थिए । ‘म पोजेटिभ सोच्थेँ । प्रहरीको सर्वोच्च पदमा पुग्छु भन्ने विश्वास थियो,’ उनी भन्छन्, ‘प्रमोशन नहुँदा कहिल्यै आत्तिइन्, समय आउला भनेर पर्खिरहेँ ।’

त्यो समय अहिले आएको छ । एआईजीको ५ वटा पद रिक्त हुँदा लामा एक्लै सो पदमा पुगेर अवकाशमा गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप