बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा चुनाव : शेर्पा–नेम्बाङ दुई प्यानल, कुन प्यानलमा को ?

शुक्रबार, १३ जेठ २०७९, १० : १०
शुक्रबार, १३ जेठ २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ५४ जनाको मनोनयन दर्ता गराएका छन् । कूल २१ पदका लागि एन्फामा ५४ जनाको उम्मेदवारी परेको हो । अध्यक्ष पदका लागि तीन उम्मेदवारी परेको छ । जसमा मुख्य प्रतिस्पर्धी कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङ प्यानल बलियो देखिन्छ । 

एन्फाको निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा ८, खुल्ला केन्द्रिय सदस्यमा ३६ र महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यकालमा चार वर्ष बिताएका अनुहार नै नयाँ कार्यकालका लागि होडमा देखिन्छन् । त्यसमा अध्यक्षका प्रत्यासीले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । फ्रेन्ड्स क्लबका राजिव पौडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली फुटबल हाँक्ने जोस लिएर उम्मेदवारी दर्ता गराउँदा नेम्बाङले वर्तमान अध्यक्ष शेर्पामाथि आरोप र गाली वर्षाउँदै आफ्नो उम्मेदवारी घोषणा गरे । यता शेर्पाले झूटा आरोप लगाउँदै चुनाव जित्ने परिपाटी नगर्ने भन्दै उम्मेदवारी घोषणा गरे । 

चार वर्षे कार्यकालमा आफूले धेरै काम गरेको र केही काम पूरा गर्न बाँकी रहेकाले नयाँ कार्यकालका लागि आफू चुनावमा होमिन लागेको शेर्पाको भनाइ छ । तर, नेम्बाङ पक्ष भने शेर्पाको कार्यकाल असफल भएकाले चुनावमा नउठ्न सुझाव दिन्छ । 

एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १३ जना केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्का उम्मेदवारी दर्ता गराएका छन् । 

उपाध्यक्ष शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेम्वाङ प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुबै पक्षले आफ्नो पक्षमा भारी मत भएको दावी गरिरहेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा नेम्बाङ पक्षले आफूहरुसँग ५५ मत रहेको दावि गरेको थियो । यता शेर्पा प्यानलले भने आफूहरुसँग ५४ मत हस्ताक्षरसहित रहेको दावि गरेको थियो । 

खुल्ला सदस्य पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रवीण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 

खुल्ला सदस्य पदमा ३६ जनाको उम्मेदवारी परेको छ । जसमा सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्ण मुरारी गुरुङ, कुमार कटुवाल, शम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमाल, मुखिया लामा, सुन्दर थापा क्षेत्री र बालकृष्ण साँवाले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै महिला सदस्यमा बिन्द्रा देवन, सरिता श्रेष्ठ, बिमला पौडेल, पेमा डोल्मा लामा र विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् ।  निर्वाचन समितिले दुवै पक्षको बैठक राखेर निर्वाचनको बाँकी कार्यतालिका सार्वजनीक गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप