मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

घरको निर्माण लागत कसरी घटाउने ?

शुक्रबार, १३ जेठ २०७९, १६ : ३०
शुक्रबार, १३ जेठ २०७९

भनाइ छ, जतिसुकै लामो यात्रा पनि पहिलो पाईलाबाट सुरु हुन्छ ।”  ९० प्रतिशत मानिसहरूले सीमित पुँजीबाट नै घर निर्माण कार्य सुरु गर्दछन् ।  घडेरी खरिदपछि जीवनमा सबैभन्दा बढी खर्च हुने क्षेत्र घर निर्माण हो । फरक यति होघडेरी खरिदमा एकै पटक रकम आवश्यक पर्छ, घर निर्माणमा विभिन्न स्रोतहरुबाट जुटाउँदै खर्च गर्ने सुविधा  हुन्छ ।  यसरी हुने कुल खर्चको लगभग ७० प्रतिशत निर्माण सामग्रीमा र ३० प्रतिशत कामदारहरूको ज्यालामा खर्च हुन्छ ।

सबैको जीवनभरको सपना हुन्छ, भौतिक पूर्वाधारलगायत शिक्षा, स्वास्थ्य, रोजगारी आदिको सहज पहुँच भएको ठाउँमा आफ्नै घर निर्माण गरी बसोबास गर्ने । घर बनाउँदा  प्रयोग गर्ने निर्माण सामग्रीको गुणस्तर, घडेरीको भूगोल, कामदारहरूको सहजता, व्यक्तिको आवश्यकताबजारको स्थिरता, निर्माणको प्रकार आदिले भवन निर्माण सम्पन्न हुँदा सम्मको खर्चलाई निर्धारण गर्दछ । सीमित पूँजीबाट संरचना निर्माण गर्दै गर्दा विभिन्न चरणमा खर्च कटौतीको लागि सम्झौता गर्न व्यक्ति बाध्य हुन्छ । आजकल बैंकिङ क्षेत्रमा तरलता अभावले कर्जामा कडाई र उच्च ब्याजदरको कारण त्यस्तो सम्झौताको डोरी झन् कसिँदो छ । यस लेखमा भवनको मजबुती र मापदण्डमा असर नपर्ने गरी घर निर्माणमा कसरी लागत घटाउन सकिन्छ भन्ने जानकारी दिइएको छ ।

यस्तो जग्गा खोज्नुस्

समथरसजिलै  ढल पास हुने, पूर्वाधारहरूको लागि थप खर्च गर्नु नपर्ने जग्गामा घर निर्माण गर्न सहज र कम खर्चिलो हुन्छ । हल्का भिरालो जग्गा छ भने पनि बाटो भन्दा अग्लो भागतर्फ छ भने डीपीसी मुनिसम्मको निर्माण कार्य र ढल निकासमा ठूलो खर्च बचत हुन्छ । पूर्वाधारको विकासको लागि उपभोक्ता समिति लगायतमा बुझाउनु पर्ने रकम विक्रेताले बुझाएको छ छैन यकिन गर्नुपर्छ । त्यस्तो रकम बुझाउन बाँकी भएमा विक्रेताले पाउने रकममा कट्टा गर्न सकिन्छ । गोरेटो बाटोमा घडेरी खरिद गर्दा केही कम मूल्य परेको देखिए पनि पछि घर निर्माण गर्दा सामग्री ढुवानीमा हुने खर्च, निर्माण सामग्रीमा हुने चुहावट, टुटफुट आदि समेत हिसाब गर्दा मोटरबाटोको भन्दा बढी खर्च हुन सक्छ ।

अनुभवी डिजाइनर रोज्नुस्

उपभोक्ताको आवश्यकतालाई प्रचलित मापदण्ड र भवनसंहिताको अनुकूल हुने गरी किफायती संरचना डिजाइन गर्ने खुबी एउटा अनुभवी इन्जिनियर आर्किटेक्टसँग मात्र हुन्छ । बाहिर घर आकर्षक देखाउनमा धेरै खर्च गरेर घरको जग तथा स्ट्रक्चर निर्माणमा कन्जुस्याइँ कदापि गर्नु हुन्न । झ्याल ढोका गोलाकार बनाउँदा गारोको मजबुती कम हुने त छँदैछ, बढी खर्चिलो पनि हुन्छ भने भर्याङ गोलाकारको सट्टा आयताकार बनाउँदा प्रयोग गर्न सजिलो, ठाउँ बचत हुने तथा कम खर्चिलो हुन्छ । 

पिल्लर धेरै राख्दैमा घर बलियो हुँदैन, अनुभवी डिजाइनरले तयार गरेको स्ट्रक्चरल नक्सामा फेरबदल गर्नु हुँदैन । तल्ला थपिँदै जाँदा पिल्लरले बोक्ने तौल घट्दै जाने हुँदा डन्डी घटाउँदै लानुपर्छ भने प्रायः आवासीय भवनहरूको स्ल्याबमा दुवैतर्फ ८ एमएमको डन्डी प्रयोग गर्दा हुन्छ । पिल्लर सिस्टमबाट बन्ने घरहरुको पूरै तौल बिम पिल्लरहरुले बोक्न सक्ने गरी डिजाइन भएको हुँदा वालहरु ४ ईन्च मात्र प्रयोग गरेर खर्च बचाउन सकिन्छ । भिरालो जमिनमा घर बन्ने पुरै भाग कटिङ वा फिलिङ गरी भुइँतलामा पुरै क्षेत्रफल निर्माण गर्दा बढी खर्चिलो र संरचनासमेत कमजोर हुने हुँदा स्टेप डिजाईन गर्नुपर्छ ।

सिपालु कामदारहरु जोड्नुस्

डिजाईनरले तयार गरी स्वीकृत भएको सम्पूर्ण नक्शा तथा अन्य कागजातहरुमा फरक नपर्ने गरी निर्माण कार्य गर्न सक्ने सिपालु कामदारहरूको व्यवस्थापन गर्नुपर्छ ।  टाढाको ठेकेदार भन्दा आफ्नै टोल छिमेकमा धेरै साइटहरु भएको कामदारले कम रकममा निर्माण कार्य गरिदिन सक्छन् । ठेकेदार छनौट गर्दा निजको टिममा भएका कामदारहरूको दक्षता र उनीहरुले सम्पन्न गरेका कामहरुको मूल्याङ्कनको आधारमा दररेट लिनुपर्छ । सामानसहित काम लगाउँदा महँगो पर्ने हुँदा सामान आफैले खरिद गर्ने गरी कामदारहरुको लागि मात्र जिम्मा दिनु बुद्धिमानी हुन्छ ।

धेरैजसो ठेकेदारहरुले छतको क्षेत्रफलको आधारमा दररेट लिने हुँदा छतमा अनावश्यक टपहरु हटाएर ठुलै खर्च बचाउन सकिन्छ ।  लोकल फर्माको सट्टा प्लाईवाला लेभल मिलेको फर्मा प्रयोग गर्दा सिलिङमा प्लास्टर गर्नुपर्दैन । ठेकेदारलाई कामको रकम भुक्तानी गर्दा कामदारहरुलाई सँगै राखेर दिनुपर्छ । साथै कार्यक्षमता बढाउन उनीहरुसँग नजिकको सम्बन्ध बनाई राख्नुपर्छ । जिउज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सुरक्षा सामग्रीसहित काम गर्न गराउन ठेकेदारलाई बेला बेलामा सचेत गराइयो भने दुर्घटनाबाट हुने जनधनको क्षतिबाट बच्न सकिन्छ ।

विज्ञापनको पछि लाग्न छोड्नुस्

सञ्चार माध्यममा धेरै प्रचारप्रसार हुने र महँगा निर्माण सामग्रीको गुणस्तर राम्रो हुन्छ नै भन्ने हुँदैन । नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त सामग्रीमध्ये सहुलियत दरमा जुन पाइन्छ, प्रयोग गर्दा हुन्छ । आरसिसि बाहेकका कामको लागि महँगो ओपिसि सिमेन्ट आवश्यक पर्दैन । मार्बल, टायल, पाईप तथा रंगहरू सकेसम्म एउटै गुणस्तर र नापको प्रयोग गरेमा खेर जाँदैन ।

बाथरुमका सामान सेतो रङको सस्तो पाइन्छ । नुहाउने धारा र किचेनमा मात्र तातो पानीको लाइन जडान गर्दा हुन्छ । झ्यालहरु आल्मुनियमको प्रयोग गरेर खर्च घटाउन सकिन्छ तर ढोकाको चौकोसहरुमा काठ नै प्रयोग गर्नुपर्दछ । चाईनिज ईंटा प्रयोग गरेर घरको बाहिरी भागलाई सदाबहार डिजाइन दिनुका साथै प्लास्टर र रंगरोगनको खर्चसमेत बचाउन सकिन्छ ।

विलासी  सोचलाई तोड्नुस्

घरलाई विलासितासँग होइन, आवश्यकतासँग जोड्नुहोस् । महँगा र बाहिरबाट हेर्दा आकर्षक देखिने सामग्री प्रयोग नगर्दा पनि तपाईंको घर  पूर्ण हुन सक्छ ।  आजकल सामाजिक सञ्जालमा देखिने भद्दा साजसज्जा सहितका निर्माण सामग्रीले हाम्रो सोचाई नै दुषित बनाइरहेको छ ।  ठूला कोठा, चौडा भर्याङ, फराकिला बार्दली प्रतिको मोह सबैमा हुन्छ । तर आवश्यकता भन्दा ठूला संरचनाले घरको क्षेत्रफलसँगै निर्माण लागत त ह्वात्तै बढ्छ नै । भित्री साजसज्जामा पनि नसोचेको रकम खर्च हुन्छ । घरको निर्माण क्षेत्रफल बढी हुँदा बाहिरको खुला क्षेत्र पनि घट्न जान्छ । आफ्नो आवश्यकता र आर्थिक क्षमतालाई सन्तुलनमा राख्नैपर्छ । अन्यथा तपाईंको सपनाको घरले विपनामा तपार्ईलाई खुशी दिन सक्तैन ।

मोलमोलाई गर्ने तरिका सोच्नुस्

निर्माण सामग्री खरिद गर्दा होस् वा ठेकेदार छनोट गर्दा एकै पटकमा निर्णयमा पुग्नु हुँदैन । एउटै गुणस्तरका सेवा र सामानको मूल्य व्यक्ति तथा पसलअनुसार फरक फरक हुन सक्छ । तसर्थ सकेसम्म धेरै व्यक्तिहरुसँग दरभाउ बुझ्नुपर्छ । सस्तो पाइयो भन्दैमा कमसल सामग्री प्रयोग गर्नु हुँदैन ।

बजारमा दर्जनौं ब्रान्डका सामान पाइन्छन् । कम खर्चमा बलियो घर बनाउने चाहना सबैको हुन्छ । बिक्रेताले राखेको दरभाउमा कति घटाउन सकिन्छ भन्ने कुरा क्रेताको मोलतोल गर्ने क्षमतामा पनि भर पर्दछ । आजकल अनलाईनबाट पनि सामानको वास्तविक मूल्य थाहा पाउन सकिन्छ ।

उधारोमा सामान लिंदा प्रायः बिकेताकै मूल्य स्वीकार गर्नुपर्ने हुँदा सकेसम्म  लिनु हुँदैन, नगदमा सामान खरिद गर्दा बिक्रेताले पनि छुट लगायतका सुविधा दिन सक्छन् । खुद्रा पसलमा थोरै थोरै गरेर सामान खरिद गर्न भन्दा होलसेल व्यापारीहरुसँग अलि ठूलो परिमाणमा खरिद गर्दा सस्तोमा पाइन्छ ।र साथै निःशुल्क ढुवानी पनि गरिदिन सक्छन् ।

प्राथमिकता निर्धारण गर्न सिक्नुस्

धेरै प्रकारका सीप र सामग्रीको संयोजनबाट  घर बन्दछ । यिनै सीप र सामग्रीको संयोजनको प्राथमिकता निर्धारण गर्न सक्नु ठूलो कला  हो । घर निर्माण गर्दा आफ्नो आर्थिक अवस्थाअनुसार कुन काम पहिले गर्ने राम्रोसँग योजना बनाउनुपर्छ । बसोबास गर्नका लागि अत्यावश्यक काम पहिला सक्नुपर्छ ।  दुई तल्ला ढलान गरेर वाल तथा फिनिसिङको लागि थप रकम जोहो गर्न थाल्नु भन्दा भुइँतला  बसोबास योग्य बनाएर तला थपको लागि पुँजी व्यवस्थापनतिर लाग्नु  बुद्धिमानी हुन्छ । घरको बाहिरी भागको भन्दा भित्री भागको कार्यहरु पहिला सकाउनु पर्छ । पानी, बिजुली, ढल, बाटोजस्ता पूर्वाधार विकासका कामलाई समेत प्राथमिकता दिनुपर्छ । यसरी कामको रोलक्रम मिलाउन सक्ने हो भने कम निर्माण लागतमा पनि घर निर्माण गरी बसोबास सुरु गर्न सकिन्छ ।

अन्तमा, धेरैजसो स्थानीय निकायहरुमा निर्माण इजाजत दिएपछि चार वर्ष भित्रमा स्वीकृत नक्सा अनुसारको निर्माण कार्य पूरा गर्नुपर्ने नियम छ । सो समयावधिभित्र  निर्माण गर्न सकिने क्षेत्रफलको नक्सा एकैपटक स्वीकृत गराउनुपर्छ । पटक पटक तल्ला थप स्वीकृत गराउँदा धेरै नै खर्चिलो हुन्छ । आवश्यक पर्दा निर्माण भएको भागको आंशिक निर्माण सम्पन्न पनि लिन  सकिन्छ ।

बिहान बेलुका फुर्सदको समयमा वाल तथा ढलानमा क्यूरिङ गर्ने, कम्पाउन्ड भित्रको लेभल मिलाउने, गार्डेन बनाउने, छरिएका निर्माण सामग्री संकलन गर्ने जस्ता काम आफैंले गर्ने हो भने निर्माण सामग्री र ज्यालामा हुने खर्च बच्नुका साथै आत्मसन्तुष्टि पनि मिल्छ ।

पेशाले इञ्जिनियर फुयाँलसँग भवन निर्माण अनुमति, निर्माण लगायतका विषयमा काठमाडौं महानगरपालिका कार्यालयमा दुई दशक भन्दा बढी समयको कार्य अनुभव छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ई.रामहरि फुयाँल
ई.रामहरि फुयाँल
लेखकबाट थप