शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र बन्द

शुक्रबार, १३ जेठ २०७९, १७ : ३८
शुक्रबार, १३ जेठ २०७९

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो । आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्वपूर्ण कार्य गरेकामा प्रशंसा गरे ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले केन्द्रले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी निर्वाचनमा थप प्रभावकारीरुपमा काम गर्न सकिने बताए । गत वैशाख १० गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो केन्द्र शुभारम्भ गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने र निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना तथा परिघटना सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोगका साथै  सम्बन्धित निकायमा सुझाव पेश गर्ने जिम्मेवारी उक्त केन्द्रले पाएको थियो ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन र विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम केन्द्रले गरेको थियो । केन्द्रमा काजमा रहेका अधिकारी र कर्मचारीलाई यही जेठ १६ गतेदेखि लागू हुने गरी काज फिर्ता गरिएको आयोगले जनाएको छ ।

बुलेटिन बन्द

आयोगले गत वैशाख १ गतेदेखि प्रकाशन गरेको स्थानीय तह निर्वाचन ई बुलेटिनको प्रकाशन आजैदेखि बन्द गर्नाका साथै यसै सातादेखि नियमित पत्रकार भेटघाटको कार्यक्रम पनि स्थगन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप