बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘यो रेशम चौधरीको उन्मुक्तिका लागि प्राप्त जनमत हो’

एउटा निर्दोष व्यक्तिलाई सरकारले सजाय दिइरहेको छ : रञ्जिता श्रेष्ठ चौधरी, नागरिक उन्मुक्ति पार्टी
सोमबार, १६ जेठ २०७९

स्थानीय तह निर्वाचनमा पार्टी दर्ता भएको केहि महिनामै ४ स्थानीय तहमा आफ्नो पकड बनाउन सफल भएपछि नागरिक उन्मुक्ति पार्टीले धेरैको ध्यान खिचेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी (रेशम चौधरीकी श्रीमती)ले पार्टीले प्राप्त गरेको जनमतबाट आफू सन्तुष्ट रहेको बताएकी छन् । गत फागुन ९ गते मात्र निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र थमाए पनि छोटो अवधिमै ठूलो उपलब्धि हासिल गरेको उनको दाबी छ । चौधरीले भनिन्, ‘हामीले १३ वटा वडा, २ नगरपालिका प्रमुख, १ उपप्रमुख र २ गाउँपालिका अध्यक्षसहित थुप्रै सदस्यहरूमा जित निकाल्यौँ ।’ 

अध्यक्ष चौधरीले रेशम चौधरीको विश्वासमा भोट दिएको बताउँदै भनिन्, ‘ठूलो चुनौतीका बीचमा यो जित हासिल गरेका हौँ, यो सबै मत माननीय रेशम चौधरीको विश्वासमा प्राप्त गरेका हौँ, यो उहाँको उन्मुक्तिका लागि प्राप्त जनमत हो ।’ हाल २०७२ साल भदौ ७ गते घटेको टीकापुर घटनामा मुख्य जिम्मेवार बनाउँदै चौधरी हाल डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

सुरुमा पार्टी दर्ता गराएर गाउँ घरमा जाँदा स्वयम् पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि रनभुल्लमा थिइन् । रातोपाटीसँगको कुराकानीमा भनिन्, ‘सुरुमा गाउँघरमा घुम्दा खासै केहि थिएन, हामीमाझ ठूलो चुनौती थियो’, उनी थप्छिन्, ‘ चुनौतीलाई चिरेर नै यो नतिजा प्राप्त गरेका छौँ । तथापि, हाम्रो मेहनत र प्रयासका आधारमा यो नजिता स्वाभाविक पनि हो ।’

सधैँ पुरानै पार्टी र पुरानै अनुहारहरूलाई भोट दिँदा जनता वाक्क दिक्क भइसकेको र अघिल्लो पाँच वर्षको प्रतीक्षापछि नयाँ पार्टीका लागि जनमत प्राप्त भएको पनि उनको दाबी छ । नागरिक उन्मुक्ति पार्टीका यो पटक लागि प्राप्त नतिजाले विशेष गरेर आउँदो प्रदेश र संघको निर्वाचन उन्मुख बनाउने पनि चौधरीको भनाइ छ। उनी भन्छिन्,‘ पार्टी अघि बढिसकेको छ। अब हामी पनि निरन्तर हामी अघि बढ्छौँ, र अब हाम्रो पार्टी पूर्व मेची देखि पश्चिम महाकालीसम्म नै वृहत् रूपमा फैलिन्छ।’ अध्यक्ष चौधरीले अब हरेक ठाउँमा नागरिक उन्मुक्ति पाटीले जितको प्रयास गर्ने दाबी पनि गरेकी छिन्।  

जेल जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि चाँहि यो पटक प्राप्त मत कति पर्याप्त छ ? भनि रातोपाटीको प्रश्नमा चौधरीले भनिन्, ‘मतदाताले माननीय रेशम चौधरी नै विश्वास गरेर निर्वाचनमा मतदान गर्नु भयो । त्यसैले उहाँ(रेशम चौधरी)को उन्मुक्तिका लागि यो शक्ति पर्याप्त छ भन्दा पनि अब जुन ठाउँमा घटना भयो र त्यहीँका मान्छेले उहाँमाथि विश्वास गरिरहेका छन् । त्यसैले अब पनि राज्यले यो जनमतको कदर गर्दैन भने यो राज्यकै लागि ठूलो घाटा हो’, उनले थपिन्, ‘एउटा निर्दोष व्यक्तिलाई सरकारले सजाय दिइरहेको छ तर, टिकापुर घटनाको ठीक भोलिपल्ट अर्थात्, २०७२ साल भदौ ८ गतेदेखिका चरणवद्ध घटनाका बारेमा सबै मौन बसेका छन् । त्यहाँका थारूहरूका दर्दनाक पीडाका बारेमा कोही बोलेका छैनन् त्यसैले उनीहरूको उन्मुक्तिका लागि पनि हामी अघि बढेका हौँ ।’

अध्यक्ष चौधरीले अबको संघिय निर्वाचनमा रेशम चौधरीलाई थुनामुक्त गराएर अथवा उहाँको विकल्पमा टिकापुर १ सहित थुप्रै ठाउँमा जसरी भए पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार उठाएर निर्वाचन लड्ने पनि बताइन् । विशेष गरेर टीकापुरमा रञ्जिता चौधरी स्वयंले निर्वाचन लड्ने चर्चा भए पनि उनले कुराकानी क्रममा भनिन्, ‘पार्टीको अध्यक्ष म भए पनि जन्मदाता रेशम चौधरी नै हो, त्यसैले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि कैलाली १ बाट उहाँ नै हाम्रो पहिलो प्राथमिकता हो। तर, यदि उहाँ हुनुभएन भने पार्टीले त्यसको विकल्प खोज्छ।’ यी र यस्तै विभेद प्रसङ्गमा रहरे रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’का लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग मनोज न्यौपानेको भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया