शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोजना आसपासका बासिन्दाका लागि श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ आउँदै

आइतबार, १५ जेठ २०७९, १२ : ३५
आइतबार, १५ जेठ २०७९

श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका– ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका–१ र ३ का बासिन्दाका लागि निष्काशनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दरखास्त आह्वान गरेको हो । 

त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–१, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको छ । बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ शाखा, साङ्ग्रिला डेभलपमेन्ट बैंक रामेछापको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक  मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बिबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप