शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिपाठी नेतृत्वको पार्टी चुनावमा किन कमजोर ?

जनता प्रगतिशील पार्टीका उम्मेदवारले आफैलाई हालेनन् मत
आइतबार, १५ जेठ २०७९, १४ : २५
आइतबार, १५ जेठ २०७९

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा पालिकामात्र हात पार्न सफल भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको मर्चवार गाउँपालिकाको अध्यक्षमा सो पार्टीका गया यादव र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।

त्यस्तै, जनता प्रगतिशील पार्टीले रुपन्देहीमा २, कपिलवस्तु र नवलपरासीमा एक–एक वडा अध्यक्ष पदमा जितेको छ । सो पार्टीबाट महिला सदस्य ३, दलित महिला सदस्य ५ र सदस्यमा ८ जना निर्वाचित भएका छन् । लामो समय मधेस राजनीतिमा सक्रिय हृदयेश त्रिपाठी नेतृत्वको पार्टी स्थानीय तहमा यति कमजोर हुन्छ भनेर सो दल नेताहरुले अनुमान गरेका थिएनन् । बरु २०७४ को चुनावमा त्रिपाठीसँग पार्टी नभए पनि उनको समूहले राम्रो नतिजा ल्याएको थियो ।

तत्कालीन राजपाबाट अलग भएर राजनीतिक समूह गठन गरी सूर्य चुनाव चिह्नबाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले आफ्नो समूहबाट आफूमात्र होइन, प्रदेश र संघीय संसदमा केही सीट जिताएका थिए । त्यतिबेला प्रदेश र संघीय संसदमा उनको समूहको सन्तोषजनक उपस्थिति थियो ।

२०७८ फागुन ३ गते निर्वाचन आयोगमा आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी दर्ता गराएका त्रिपाठीले २०७९ को स्थानीय चुनावमा प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिन लगाएका थिए । मधेस राजनीतिमा राम्रो छवि बनाएका र पटक पटक मन्त्री भएका त्रिपाठीले आफ्नो पार्टीका उम्मेदवारलाई मधेस प्रदेशमा जित दिलाउन सकेनन् ।

मधेस प्रदेशको रौतहट, सर्लाही, महोत्तरी र सप्तरीको केही स्थानीय तहमा मात्र उनको दलबाट उम्मेदवारी दिइएको थियो । यी जिल्लामध्ये उनको दलबाट सबभन्दा बढी उम्मेदवारी सप्तरीमा परेको थियो । त्रिपाठीको दल जनता प्रगतिशील पार्टीबाट प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिकाको प्रमुख र वडा अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको थियो । नगर प्रमुखमा उम्मेदवारी दिएका शेख इसराइल र वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका गंगानारायण झाले एक–एक मत प्राप्त गरे भने वडा नम्बर १२ को अध्यक्षमा उम्मेदवारी दिएका प्रमोद मलाहा सहनीले एक मत पनि प्राप्त गरेनन् । अर्थात उनले आफूले आफैलाई समेत मत दिएनन् ।

सो पार्टीका महासचिव ईश्वरदयाल मिश्र भने स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नै रहेको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय तहको चुनावमा हाम्रो पार्टीको उपस्थिति सन्तोषजनक नै रह्यो ।’ रातोपाटीसँग कुरा गर्दै उनले आफूहरुको जनता प्रगतिशील पार्टी विल्कुल नयाँ भएको र चुनावका लागि एक महिना पनि गृहकार्य गर्न नपाइएको बताए । ‘कहीँ कतै संगठन बनाउन सकिएन, यस अवस्थामा पनि यतिका मत आउनु सन्तोषजनक नै हो,’ उनले भने ।

आफ्नो पार्टीमा रहेका कतिपय नेताहरु अन्य पार्टीबाट चुनाव लडेर जितेको उल्लेख गर्दै उनले भने, ‘ जो पहिलादेखि जहाँ थिए, त्यहीँ मतदान गरे, त्यहीँबाट चुनाव लडे ।’ आगामी चुनावका लागि ती सबै गोलबन्द हुने उनको भनाइ छ । उनले भने, ‘पार्टी समयमा गठन नभएका कारण केही सोचेजस्तो नतिजा ल्याउन सकिएन, चुनावभन्दा पाँच–छ महिना अगाडि पार्टी गठन भएको भए राम्रो उपस्थिति हुन्थ्यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप