शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविकेशरी चित्तधरको जन्मजयन्ती मनाइयो

आइतबार, १५ जेठ २०७९, १५ : ०८
आइतबार, १५ जेठ २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्ती शनिबार मनाइएको छ । जन्मजयन्तीको अवसरमा ‘कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । 

सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल भाषामा कविता÷काव्य रचना गरेर कविकेशरी चित्तधरले नेपालभाषा साहित्यका साथै नेपाली साहित्यमा विशिष्ट योगदान दिएको बताए । उनले प्रज्ञा–प्रतिष्ठानले नेपालीलगायतका विभिन्न भाषाका विशिष्ट साधकहरूका जन्मजयन्तीका अवसरमा उहाँहरूका योगदानका बारेमा चर्चा गर्ने गरिएको स्मरण गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालभाषाका स्रष्टाहरूले रञ्जना लिपिको अध्ययन गर्नुका साथै नेपाल भाषा साहित्यलाई व्यापक बनाउनका निमित्त मातृभाषामै तर देवनागरी लिपिको प्रयोग गर्दा प्रभावकारी हुने विचार राखे । उनले नेपाल भाषाका स्रष्टाहरूको सक्रियताका कारण प्रज्ञा–प्रतिष्ठानबाट वार्षिक रूपमा प्रकाशित हुँदै आएको नेपाल भाषाको पत्रिका ‘थाय्भु’ अर्धवार्षिक भएको जानकारी दिए । साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालभाषामा साहित्यका काम अन्य भाषाका तुलनामा धेरै भएको बताइन् । 

कार्यक्रममा पूर्ण ताम्राकारले कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए । उक्त अवसरमा नेपालभाषा परिषद्द्वारा स्थापित विभिन्न पुरस्कार नेपालभाषा साहित्यमा योगदान दिने विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो । डा. आनन्द जोशीलाई चित्तधर पुरस्कार, विमलप्रभा बज्राचार्यलाई ठाकुरलाल पुरस्कार, सरस्वती तुलाधरलाई मोतीलक्ष्मी पुरस्कार, केदार सितुलाई केशललाल पुरस्कार र कुन्दनप्रसाद श्रेष्ठलाई पूर्ण–हीरा पुरस्कार कुलपति उप्रेतीबाट प्रदान गरिएको थियो । 

वि.संं. १९६२ साल जेठ ५ गते काठमाडौंको रक्तकालीमा जन्मिएका कविकेशरी चित्तधर हृदयका नेपाल भाषामा ३३ ओटा पुस्तक प्रकाशित छन् । उनलाई राजा महेन्द्रले २०१३ सालमा ‘कविकेशरी’को उपाधि दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप