शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पर्कविहीन विमान दिनभर खोजी : के-के भयो आज ?

धौलागिरि आसपास र मानापाथी हिमालमा भेट्ने आश
आइतबार, १५ जेठ २०७९, २१ : ४८
आइतबार, १५ जेठ २०७९

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङका लागी उडेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान १० बजेर ७ मिनेटमा सम्पर्क हीन भयो । सम्पर्क हीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन ।

विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका छन् । खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

म्याग्दीको शिख माथिको आकाशमा पुगेपछि सम्पर्कविहीन विमान शुरुमा मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा पुगेर बेपत्ता भएको आशङ्का गरिएको थियो । सेनाले सो क्षेत्रमा मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरेको थियो । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजेका थिए । तर, विमान भेटिएन ।

लेते क्षेत्रमा फिस्टेल एयरको हेलिकप्टरले हवाई मार्गबाट पनि खोजी गरेको छ । विमान लेतेको टिटि ताल आसपास भएको आशङ्कामा सुरक्षाकर्मीहरूले स्थानीयसँग समन्वय गरेर सो क्षेत्रमा पनि खोजेका छन् ।

 विमानको खोजीमा नेपाली सेनको मध्यकमाण्ड क्षेत्रका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ उद्धार टिमसँगै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा पुगेका थिए । सेनाको एमआई–१७ हेलिकप्टर कोबाङमा अवतरण गरिएको थियो । मौसम खराब भएपछि सो हेलिकप्टर जोमसोम फर्किएको छ । विमान खोज्न स्थलमार्गबाट ४ वटा टिम परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए ।

आइतबार अबेर सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको गरेको थियो । स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए । तर, साँझ परेपछि पैदल टोली फिर्ता भएको छ ।

 

धौलागिरि र मानापाथीमा भेटिने आशा

नेपाली सेनाले मानापाथी हिमालको पहिरोमा विमान भेट्ने आशा सहित सोमबार बिहानैदेखि खोजी गर्ने भएको छ । स्थानीयले दिएको ‘आगो बलिरहेको’ सूचनाको आधारमा सो क्षेत्रमा हवाई मार्ग र पैदल मार्गबाट टिम परिचालन गरिने सैनिक प्रवक्ता सिलवालले बताए । मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ ।

नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्मा चाहिँ नाउरिकोट भन्दा माथि टुकुचे क्षेत्रबाट विमान हराएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने –‘लोकेट भएको छैन तर, नाउरिकोट भन्दा माथि टुकुचे क्षेत्र र कोवाङ भन्दा माथि विमान भेट्ने आशा गर्न सकिन्छ ।’

मुस्ताङका डिएसपी रामकुमार दानी धौलागिरि हिमालको आसपासमा विमान हराएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै दानीले भने–‘सम्भावित ठाउँ धौलागिरि आसपासमा हुनुपर्छ, त्यसतर्फ खोजी केन्द्रित गर्दैछौँ ।’

विमानको खोजीमा पैदल मार्गबाट परिचालित सशस्त्र र नेपाल प्रहरीको टिम पनि आइतबार फर्किएका छन् । खोजीमा खटिएको टोली स्थानीय चौकीमा फर्केर बसेको डिएसपी दानीले बताए ।

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  पाइलट प्रभाकर घिमिरेले उडाएका थिए ।  सो विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले  जानकारी दिएको छ । ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा  पोखराको टावरसँग सम्पर्क आएको र त्यसपछि सम्पर्क विहीन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप