शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आरोप पुष्टि गराउन बरामद क्यामेरा नै गायब !

२४ वर्षीय भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा
मङ्गलबार, १७ जेठ २०७९, ०७ : ०९
मङ्गलबार, १७ जेठ २०७९

भारतको पश्चिम बङ्गाल राज्यमा पर्ने कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी विगत ७ महिनादेखि झापास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन् । मुद्रा सम्बन्धी कसुरमा चौधरीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर थुनामा पठाएको ७ महिनासम्म पनि उनको मुद्दा साक्षी बुझ्ने मै केन्द्रित छ ।

नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न मिडियाहरूमा फोटोग्राफीको काम गर्दै आइरहेका चौधरी यतिबेला नेपालको जेलमा नक्कली अमेरिकी डलर बोकेको अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । उनले राखेका साक्षीसमेत नेपाल नआइदिँदा उनको मुद्दा अगाडि बढ्न सकेको छैन । कोलकाता नजिकैको हाउडामा भाडाको घरमा बस्ने उनकी आमा कहिले नेपाल त कहिले भारत धाइरहेकी छिन् । बुवाको मृत्यु भएपछि पढाई छाडेर व्यावसायिक फोटोग्राफीमा लागेका दुर्लभ जेल परेपछि अहिले उनकी आमालाई आफ्नो छोरा निर्दोष रहेको पुष्टि गर्न दबाब थपिएको छ, यद्यपि अदालतमा मुद्दाको प्रक्रिया अगाडि नबढ्दा उनी पनि तनावमा छिन् ।

खासमा गत वर्षको मङ्सिर २ गते साँझ साँढे ४ बजे झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ आउने क्रममा डलरजस्तो देखिने २२६ थान फोटोकपीसहित दुर्लभलाई पक्राउ गरिएको थियो । प्रहरी प्रतिवेदन अनुसार भद्रपुरबाट काठमाडौँ जाने क्रममा शरीर तथा ब्याग खानतलासी गर्ने क्रममा चौधरीको साथबाट एक सय दरका २२६ थान अमेरिकी नोटहरू फेला परेको थियो । उक्त नोटसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो र प्रहरी प्रतिवेदनका आधारमा चौधरीको मुद्दा मङ्सिर २४ गते झापा जिल्ला अदालतमा दर्ता गरिएको थियो । सोही मुद्दामा झापा जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले ‘यी प्रतिवादी कसुरदार रहेको भनी विश्वास गर्ने आधार विद्यमान रहेकोले’ भन्दै दुर्लभलाई पछि ठहरे बमोजिम हुने गरी दुर्लभलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । र, सोही आदेशका आधारमा दुर्लभ हालसम्म पनि थुनामै रहेका छन् ।

यस्तो छ दुर्लभको नेपाल यात्रा र पक्राउको फेहरिस्त

भारतको कोलकातामा बसोबास गरिरहेका दुर्लभ फोटोग्राफीमा रुची राख्थे । कक्षा १२ उत्तीर्ण गरेपछि उनी फोटोग्राफीमै थप शिक्षा हासिल गर्न चाहन्थे । तर सन् २०१५ मा क्यान्सरको कारण दुर्लभको बुवाको मृत्यु भयो । बुवा, आमा र एक सन्तानमात्रै भएको परिवारमा कमाउने व्यक्तिको मृत्यु भएपछि दुर्लभले चाहेको जस्तो शिक्षा लिन सकेनन् । अनि उनले कक्षा १२ उत्तीर्ण गरेलगत्तै फोटोग्राफीलाई नै आफ्नो पेसा बनाए । त्यही पेसाबाट नै आफू र आमाको पालनपोषण गर्न थाले । यसै क्रममा उनले नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न फ्रि ल्यान्सर फोटोग्राफरका रुपमा काम गर्न थाले । यसबाट उनको आम्दानी राम्रै हुन थाल्यो ।

यसैक्रममा दुर्लभले सर्ट मुभी र डकुमेन्ट्री तथा ब्लगहरू समेत बनाउन थाले । दुर्लभले स्निपर मंक ट्राभल्स नामक युटुब च्यानल पनि भर्खरै खोले र त्यसका लागि ट्राभल ब्लग तथा डकुमेन्ट्री बनाउन थाले ।

अन्य देशमा पुगेरसमेत ट्राभल्स ब्लगहरू बनाएका दुर्लभलाई नेपालको प्राकृतिक सुन्दरताको बारेमा ट्राभल्स ब्लग बनाउने ईच्छा लाग्यो । आफू घुम्न पनि हुने र ट्राभल्स ब्लग पनि बनाउन सकिने भएपछि दुर्लभ कोलकाताबाट जलपाइगुडी हुँदै नेपाल आए । दिल्ली वा मुम्बईबाट सोझै काठमाडौँ आउन टिकट महँगो पर्ने भएपछि दुर्लभ झापाको काकडभित्ताबाट प्लेनमा काठमाडौँ आउनका लागि टिकट काटे र विमानस्थल पुगे ।

‘मनी इज नथिङ’ नामक डकुमेन्ट्रीका लागि बनाएका थिए नक्कली डलर !

दुर्लभले जिल्ला न्यायाधीशसमक्ष दिएको बयानमा आफूसँग बरामद भएको भनिएको नक्कली अमेरिकी डलर कारोबार गर्नका लागि नभएर डकुमेन्ट्रीका लागि उडाउने प्रयोजनका लागि ल्याएको दाबी गरेका छन् । दुर्लभले आफूसँग बरामद भएको भनिएको डलर आआफ्नो शरीर खानतलासी गर्ने क्रममा भेटिएको नभई आफैँले एअरपोर्टका सुरक्षागार्डलाई देखाएर ह्याण्ड क्यारीमा लैजान मिल्छ कि लगेजमा भनी सोधेपछि सुरक्षागार्डले प्रहरी बोलाएको बताएका छन् । प्रहरीलाई आफूले उक्त डलर उडाएर भिडियो बनाउने प्रयोजनका लागि मात्रै ल्याएको बताए पनि प्रहरीले गलत बयान लेखेर हस्ताक्षर गराएको बताएका छन् । आफूले नेपाली भाषा नबुझ्ने र प्रहरीले आफूलाई अब छोडिदिने भनी हस्ताक्षर गराएर कारोबार गर्ने उद्देश्यले ल्याएको भनी गलत बयानमा हस्ताक्षर गराएको दुर्लभले जिकिर गरेका छन् ।

प्रहरीसँगको बयानमा यस्तो लेखाइएको छ :

‘म पक्राउ पर्नुभन्दा अन्दाजी एक महिना अगाडीतिर ईन्टरनेट मार्फत अमेरिका देशको १०० रुपैयाँको नोट (डलर) डाउनलोड गरी मेरो घर नजिकै भारत कोलकाता बजारमा स्थित रहेको नाम थाहा नभएको छापाखानाबाट फोटो पेपरमा पैले डाउनलोड गरेको उक्त ONE HUNDRED DOLLARS, THE UNITED STATES OF AMERICA, LE00000099D​ उल्लेख भएको १०० दरको डलर भारतीय रु. २०० (दई सय) रुपियाँमा जम्मा थान, २२६ (दुई सय छब्बिस) खोटा मुद्रा छाप्न लगाई सो मुद्राहरू साथमा राखेको अवस्थामा नेपालको काठमाडौँ, पाखरा लगायतका ठाउँहरू घुमफिर गर्न जाँदा उक्त मैले बनाएको नक्कली खोटा मुद्राहरू साथमा बोकी लैजाने सोचले मैले भारत आफ्नो देशबाट नै इन्टरनेट मार्फत 18 NOVEMBER 2021 ​अर्थात मिति २०७८ मङ्सिर २ गते दिनको अन्दाजी १७ः२० बजेको FLIGHT NO. U4-958 ​को भद्रपुर बाट काठमाडौँ सम्मको बुद्ध एयरको जहाजमा काठमाडौँ जानका लागि सोही दिनको दिउँसोतिर नेपालको काकँडभिट्टा नाका बाटो हुदै झापा भद्रपुरको विमानस्थल एयरपोर्टमा आइपुगेपछि उक्त एयरपोर्टमा सुरक्षार्थ खटिएका प्रहरीहरूले हामी यात्रुहरूको सर–सामानहरू तथा जिउ शरीर चेकजाँच गर्ने क्रममा मैले साथमा बोकेको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा थान २२६ (दुई सय छब्बिस) अमेरिकन खोटा मुद्राहरू प्रहरीले फेला पारेकोले सो खोटा मुद्राहरू सहित पक्राउ गरी दाखिला गराएको हो । त्यसरी मैले साथमा बोकेको अमेरिकन खोटा मुद्राहरू हो भन्ने जानीजानी निकासी पैठारी गरी सद्दे सरह चलन गर्ने नियतले साथमा बोकी हिँड्नु मेरो गल्ती भयो ।’

दोभासेबिना नै बयानमा हस्ताक्षर !

दुर्लभ रोय चौधरी बंगालीमूलका भारतीय नागरिक हुन् । उनले आफ्नो मातृभाषा राम्रोसँग बोल्ने भएपनि हिन्दी भाषासमेत राम्ररी बोल्न नजान्ने उनकी आमा तृप्ती रोय चौधरीले रातोपाटीलाई बताइन् । तर हिन्दी भाषासमेत राम्ररी बोल्न नजान्ने दुर्लभलाई नेपाली भाषामा लेखिएको बयानमा हस्ताक्षर गराइएको छ । दुर्लभले उक्त बयान आफ्नो नभएको र आफूले भने बमोजिमको कुरा नलेखिएको दाबी गरेका छन् । जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान दिने क्रममा भने आफूले त्यति बेला नै प्रहरीलाई आफू ‘मनी इज नथिङ’ भन्ने डकुमेण्ट्री बनाउन आएको र सद्दे सरह प्रयोग गर्ने कुनै बदनियत नरहेको बताएको तर प्रहरीले उल्टो बयान लेखेर हस्ताक्षर गराएको कुरा पछि मात्रै थाहा भएको बताएका छन् ।

जिल्ला न्यायाधीशसमक्षको बयानमा उनले यस्तो बयान दिएका छन्,

‘अभियोग दाबी सुनेँ । मैले अभियोग दाबी बमोजिमको कसुर गरेको होइन, मेरो घर भारत तिर विवाह भोजमा नक्कली नोट उडाउने चलन छ, मेरो आफ्नै SNIPER MONK TRAVELS नामको युट्यूव च्यानल भएकोले नेपालको पोखरा तथा घान्द्रुकमा गई पैसा उडाएको भिडियो बनाएर युट्यूवमा राख्नका लागि मैले गुगलबाट अमेरिकन डलर डाउनलोड गरी फोटोपेपरमा फोटोकपी गरी उक्त नोटहरू बोकी नेपाल आएर एयरपोर्टमा म आफैले सुरक्षा गार्डलाई उक्त नोटहरू देखाई कुन झोलामा हालेर लैजाऊँ भनेर सोध्दा एयरपोर्टका कर्मचारीहरूले प्रहरी बोलाई पक्राएको हो । मैले उक्त नोटलाई सक्कली सरह चलाउनका लागि बोकी हिँडेको होइन, मैले नेपालमा समेत अमेरिकन डलर चल्दैन भन्ने सोची अमेरिकन डलरकै फोटोकपी गराएको हो, मेरो साथबाट बरामद भएको नोटहरू फोटोपेपरमा फोटोकपी भएको र सक्कली साइज बमोजिम पनि नभएको हुँदा उक्त नोटहरू जो कोहीले पनि सजिलै नक्कली हो भनेर चिन्छ, मैले युट्युबमा भिडियो राख्ने प्रयोजनका लागि मात्र उक्त नोटहरू बोकी हिँडेको हुँदा मलाई अभियोग दाबी बमोजिम सजाय हुनुपर्ने होइन ।’

ल्याब रिपोर्टले भन्छ, ‘खोटा मुद्रा चिल्लो तथा आकार र रङमा फरक छ’

झापा प्रहरीले दुर्लभको साथबाट बरामद भएको अमेरिकन डलरजस्तो देखिने नोटलाई परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, काठमाडौँमा पठाएको थियो । उक्त रिपोर्टमा उक्त नोटहरू सक्कली नोटमा हुने गुणस्तरभन्दा बढी चिल्लो रहेको, नोटमा हुने गुणस्तर नरहेको, एउटै नम्बर रहेको र ११० वटा नोटहरू छोटो र ११६ वटा नोटहरू लामो रहेको रिपोर्ट दिएको छ ।

यसको अर्थ नोटमा हुने गुणस्तरभन्दा फरक पर्ने गरी उक्त नोटहरू फोटो प्रिन्ट गर्न प्रयोग हुने कागजमा प्रिन्ट गरिएको र सामान्य अवस्थामा छाम्दा मात्रै पनि नक्कली हो भन्ने पुष्टि हुने अवस्था रहेको ल्याब रिपोर्टमा उल्लेख छ ।

दुर्लभसँग भएको क्यामेरा प्रहरीले बरामदी मुचुल्कामै राखेन

जतिबेला विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले दुर्लभलाई पक्राउ गरिएको बताएको छ, त्यतिबेला दुर्लभसँग Nikon D810 ​ मोडलको एउटा क्यामेरा, Tamron 7200 ​ मोडलको एक लेन्स, Nikon 50mm ​ को लेन्स, Samyang 14mm ​ लेन्स र एउटा ट्राइपोड समेत थियो । ती सामानहरू प्रयोग गरेर नै दुर्लभले ट्राभल ब्लग र डकुमेन्ट्री तथा फोटो खिच्ने काम गर्थे ।

तर प्रहरीले बरामदी मुचुल्का बनाउँदा ती सबै सामान बरामदी मुचुल्कामा नै राखेन । किनभने क्यामेरा, ट्राइपोड आदि सबै राख्दा उनी ट्राभल ब्लग बनाउने उद्देश्यले नै नेपाल आएको पुष्टि हुन सक्थ्यो र उनी छुट्न सक्थे । तर प्रहरीले अभियोगपत्र तयार पार्दा, बरामदी मुचुल्का कहीँ पनि ती सामान रहेको उल्लेख गरेको छैन । यद्यपि ती सामानहरू दुर्लभ जेल गएपछि प्रहरीले जेल प्रशासनलाई बुझाएको थियो र उनकी आमा तृप्ती रोय चौधरीले केही दिन अघिमात्रै ती सामानहरू बुझेर लगेकी छिन् ।

यसै सम्बन्धमा तत्कालीन समयमा दुर्लभलाई पक्राउ गरी जिल्ला प्रहरीको जिम्मा लगाउने जुनियर प्रहरी अधिकृतलाई सम्पर्क राख्दा ‘जिल्लाले किन क्यामेराहरू बरामदीमा नराखेको हो थाहा भएन’ भन्ने जवाफ दिए ।

के दुर्लभ ती नोट चलाउने उद्देश्यले नै नेपाल आएका थिए ?

खोटा मुद्राको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका दुर्लभले आफूले ती नोटहरू भिडियो बनाउनका लागि उडाउने प्रयोजनका लागि मात्रै ल्याएको बताएका छन् । उनले आफूलाई पहिले प्रहरीले पक्रेको नभई आफैँले ती नोटहरू विमानस्थलका सुरक्षा गार्डलाई देखाएको र ह्याण्ड क्यारीमा लान मिल्छ कि लगेजमा भनेर सोधेपछि मात्रै ती सुरक्षा गार्डले प्रहरीलाई बोलाएको बताएका छन् । बयानकै क्रममा उनले नेपालमा डलर चल्छ कि चल्दैन भन्ने पनि आफूलाई थाहा नभएको बताएका छन् ।

प्रहरीले दुर्लभलाई नियन्त्रणमा लिँदा शरीर खानतलासी गर्दा फेला परेको हो कि उनले नै ती नक्कली डलरबारे कुरा गरेका हुन्, पुष्टि हुने प्रमाण पेस गरेको छैन । दुर्लभले पनि आफैँले ती डलर देखाएको पुष्टि हुने विमानस्थलको सिसीटिभी फुटेज पेस गर्न सकेका छैनन् ।

बकपत्र गर्न साक्षीले मागे ६ लाख भारु

७ महिनादेखि नेपालको जेलमा रहेका दुर्लभ रोय चौधरीले आफ्नो साक्षीका रूपमा भारतकै दुई व्यक्तिलाई राखेका थिए । दुर्लभले राखेका साक्षीमध्ये कोलकताका ३८ वर्षीय कौन्तिया शर्माले बकपत्रका लागि नेपाल आउन ६ लाख भारु मागपछि उनको बकपत्र हुन सकेको छैन । दुर्लभकी आमा तृप्ती रोय चौधरीका अनुसार कौन्तिया शर्माले नेपाल गएर बकपत्र गर्न आफूहरूसँग ६ लाख भारतीय रुपैयाँ माग गरेका थिए । तर ६ लाख भारतीय रुपैयाँ दिन नसकेपछि उनी बकपत्रका लागि नेपाल आएका छैनन् ।

दुर्लभले साक्षीकै रूपमा राखेका अर्का व्यक्ति अमरतु सिग्दार भने डरका कारण नेपाल आउन मानिरहेका छैनन् । दुर्लभ खोटाचलन मुद्दामा जेलमा परेको कारण आफूले साक्षीका रूपमा बयान दिँदा आफू पनि पक्राउ पर्न सक्ने भन्दै उनी पनि नेपाल आउन नमानेको दुर्लभकी आमाले बताइन् । एक साक्षीले बकपत्रका लाख ६ लाख भारतीय रुपैयाँ मागेको र अर्को साक्षी डरका कारण बकपत्र गर्नै नआएको कारण मुद्दा लम्बिरहेको दुर्लभकी आमा तृप्तीले गुनासो गरिन् । 

डलरको फोटोकपी बोकेर हिँड्न पाइन्छ ?

नेपालको कानुनले नेपाली रुपैयाँ वा अन्य कुनैपनि देशको मुद्रा फोटोकपी गरेर बोकेर हिँड्न रोक लगाएको छ । तर यदि कुनै व्यक्तिले फिल्म सुटिङ वा अन्य त्यस्तै प्रयोजनका लागि सम्बन्धित निकायबाट स्वीकृति लिएर निश्चित समयका लागि उक्त नोटको फोटोकपी गर्न सक्छन् । तर त्यसरी अनुमति लिँदा पनि उस्तै आकार, उस्तै रङ र हुबहु देखिने गरी बनाउन पाइँदैन ।

दुर्लभले पनि नेपालको कानुन अनुसार उक्त नक्कली नोटहरू उडाउने उद्देश्यले नै ल्याएका थिए भने उनले नेपाल सरकारको कुनै निकायबाट पूर्व स्वीकृति लिनुपर्थ्यो । तर उनले कुनै पनि निकायबाट स्वीकृति नलिई ती नोटहरू बोकेर आएका थिए, त्यसकारण उनी शंकाको घेरामा पर्नु र अदालतमा मुद्दा जानु सामान्य कुरा नै हो ।

तर न्यायाधीश त्यस्ता व्यक्ति हुन्, जसले परिस्थितिजन्य प्रमाण, उद्धेश्य, आरोपित व्यक्तिको ब्याकग्राउण्ड आदि सबै हेरेर फैसला गर्ने गर्छन् । यस्तो मुद्दाहरूको फैसला गर्ने क्रममा न्यायाधीशले आपराधिक कार्य (actus reus​) र आपराधिक मनसाय (mens rea​) दुवैको विश्लेषण गरेर मात्रै फैसला गर्ने भएकाले यस प्रकरणमा दुर्लभको आपराधिक मनसाय छ कि छैन भनेर हेर्ने जिम्मेवारीचाहिँ विचाराधीन अदालतको न्यायाधीशकै स्वविवेकमा भर पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप