समाज

बढ्दो घरेलु हिंसाको आकारः ५ वर्षमा ७६ हजार ८५१ जना महिला पीडित

person explore access_timeजेठ १८, २०७९ chat_bubble_outline0

नेपाली समाजमा सदियौँदेखि श्रीमान्–श्रीमतीबीचको झगडालाई परालको आगोको संज्ञा दिइयो । घरायसी झगडालाई असाध्यै सामान्य मानिन्छ । दम्पतीबीचको हात हालाहाललाई नजरअन्दाज गरिन्छ । आज कुटाकुट गर्छन्, भोलि मिलेर हिँड्छन् भनेर कोही उनीहरूको झगडाको बीच कोही आएन । ज्वाइँले विनासित्ती कुटे भनेर दुःख बिसाउन माइत गएकी चेलीलाई उल्टै अभिभावकले भन्ने गर्छन्, ‘मारे पाप, पाले पुण्य भनेर ज्वाइँलाई जिम्मा लगाएको हो । लोग्नेले कैलेकाहीँ अलिअलि त कुटिहाल्छन् नि ।’


पछिल्लो समय केही महिलाहरू हिंसा सहन्न भनेर श्रीमान्सँग छुट्टिएर बस्ने निर्णय लिन्छन् । तर उनीहरूलाई यही समाजले बाँच्न दिँदैन । जतिसुकै हिंसा सहेर पनि श्रीमान्सँगै बस्नुपर्ने अप्रत्यक्ष सामाजिक आदेशले हरेक दिन महिलाहरूले हिंसा सहेर बाँच्नु परेको छ । शारीरिक, मानसिक, आर्थिक र यौनजन्य लगायतका हिंसा सहन उनीहरू विवश छन् । 



त्यही सामान्य घरायसी झगडाकै कारण खैरहनी नगरपालिका–१० मुसहर वस्तीकी श्रीमती गीता माझीले अकालमै ज्यानै गुमाउनु पर्‍यो । उनलाई श्रीमान्ले घर झगडामा सधैँजसो कुटपिट गर्ने गरेका थिए । अरूले कुटपिट गरेको होइन, श्रीमान्ले त हो नि, समाजले यही बुझाइले हेरेर बस्यो । फलस्वरूप बिहीबार राति ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमतीको यौनाङ्गमा हात हालेर पाठेघर नै निकाली दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए । कुनै दुर्घटना नहुन्जेल समाजले तमासा हेर्ने बाहेक केही गर्दैन । 



​घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी गीताको जेठ १६ गते सोमबार राति उपचारको क्रममा मृत्यु भएको छ । अपरेसनपछि पोष्टअपमा हुँदा अचानक कार्डियाअरेष्ट भएपछि उनको मृत्यु भएको हो । गीताका तीन छोरी टुहुरा बन्न पुगेका छन् । श्रीमान्ले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको र कम्मरको हड्डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढेको छ । गीताकी छोरीले हत्यारा बाबुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएकी छिन् ।

त्यसै गरी गत वर्ष चैत ४ गते झापाको बिर्तामोड नगरपालिकामा श्रीमान् ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया श्रीमती खेमजुङ गुरुङको मृत्यु भयो । कुटाइबाट गम्भीर घाइते भएकी गुरुङको नोबेल अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घरमा लग्दा मृत्यु भएको थियो । त्यस्तै, वीरगञ्जमा २०७५ चैत १५ गते डा. सचितानन्द यादवको कुटाइबाट गम्भीर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भयो । नारायणी अस्पतालमा कार्यरत डा यादव अहिले प्रहरी हिरासतमा छन् ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । घरेलु हिंसामा पर्नेहरू अधिकांश श्रीमान्बाट पीडित भएको पाइन्छ । कतिपय घरेलु हिंसाका पीडितहरु समयमा उजुरी नगर्दा जघन्य अपराध भएका छन् । हरेक वर्ष घरेलु हिंसा बढिरहेको तर यसको न्यूनीकरणका उपाय खोज्नु भन्दा पनि सामान्यीकरण गरेर मिलाउन खोज्दा यस्ता घटना झन् क्रूर बन्दै गएको छ । समाज शिक्षित, जागरूक हुँदै जाँदा हिंसा कम हुनुपर्ने तर हिंसा बढ्दै गएको छ ।

तथ्याङ्कमा के छ ?

नेपाल प्रहरीको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा ७६ हजार ८५१ जना महिला घरेलु हिंसाको सिकार बनेका छन् । जसमा आर्थिक वर्ष २०७३/७४ मा ११ हजार ६२९, ०७४/७५ मा १२ हजार २२५, ०७५/७६ मा १४ हजार ७७४, ०७६/७७ मा ११ हजार ७३८, ०७७/७८ मा १४ हजार २३२ जना र ०७८/७९ को चैतसम्ममा १२ हजार २५३ जना महिला घरेलु हिंसामा परेका छन् । यो तथ्याङ्कले नेपालमा महिलाहरूको अवस्था कहालीलाग्दो देखाएको छ । 

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले मान्छे मरिसकेपछि दोषीलाई कठघरामा ल्याऊ भनेर अभियानकर्मीले समय खर्चिएको बताउँछन् । पीडितको ज्यान गइसकेपछि आन्दोलन गर्नु अर्थहीन भएको उनको बुझाइ छ । भन्छन्,‘बरु आन्दोलनले प्रहरी अनुसन्धानलाई डिस्टर्व गर्छ । मान्छे नै मरिसकेपछि त प्रहरीले पक्राउ गरी नै हाल्छ । कानुनअनुसार दोषीलाई कारबाही भएको छ । तर कारबाही महत्त्वपूर्ण होइन । यस्ता घटना हुनै नदिन वा हुनुपूर्व सतर्कता अपनाउनु महत्त्वपूर्ण हो ।’ हिंसाका घटना सङ्ख्यात्मक रूपमा बढेको छ । अझ पछिल्लो समय घरेलु हिंसा क्रूर हुँदै गएको छ । यो गम्भीर र चुनौती बनेको उनले बताए । 

महिला हिंसालाई सामान्य हिसाबले लिने अवस्थै छैन । विशेष खालका कानुन ल्याएर दोषीलाई छिटो भन्दा छिटो कारबाही गरी न्यायको कठघरामा ल्याउनु सरकारको दायित्व भएको पोखरेल बताउँछन् । यस्ता खालका घटना किन घटेका छन् ? कारण खोजेर सचेतना कार्यक्रम गर्नुपर्छ । उनी भन्छन्, ‘यस्ता घटना आकस्मिक र आवेगमा भएको देखिँदैन । शृङ्खलाबद्ध रूपमा भइरहेको हिंसाले अकल्पनीय घटना घटेका छन् । सुरुकै स–साना हिंसाबाट दुर्घटनामा परिणत हुन्छ । त्यसमा परिवार, माइती र समाजले ध्यान दिनुपर्छ ।’

अहिले स्थानीय सरकारका जनप्रतिनिधि चुनिएर आएका छन् । एउटै वडामा पाँच जनाको टिम छ । त्यो टिमले एक एक घरको कहाँ कसरी हिंसा हुन्छ भन्ने खबर राख्नु पर्छ । तर जिम्मेवारी ढङ्गले स्थानीय निकायले काम नगरेको पोखरेलको आरोप छ । श्रीमान् र श्रीमती बीचको झगडालाई सामान्य मान्नु नै यस्ता दुर्घटना बढ्नुको मुख्य कारण हो । कहीँ कतै सामान्य विवाद भएका छन् भने त्यहाँ निगरानी गर्नुपर्छ । महिला हिंसाको चेतना कार्यक्रम टोल टोलमा लैजानुपर्छ र हिंसा सहन हुन्न, प्रतिकार गर्नुपर्छ भनेर सिकाउनुपर्छ । टोलमा स्वयंसेवक टोली गठन गरेर खटाउनुपर्ने पोखरेल बताउँछन् ।

सजाय के छ ? 

– शरीरको कुनै अङ्ग कुरूप पारिदिने गरी शारीरिक यातना वा यौनजन्य यातनासम्बन्धी हिंसा गरेमा  ३ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन्छ ।

– घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदातालाई हुने सजायको आधा सजाय हुन्छ । 

 – घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा दोब्बर सजाय हुन्छ । 

– सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो पत्नी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक वा गर्भवती महिलाविरुद्ध हिंसा गरेमा थप १० प्रतिशत सजाय हुन्छ ।

– अदालतले दिएको आदेश पालन नगरेमा त्यस्तो व्यक्तिलाई २ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना र ४ महिनासम्म कैद वा दुवै सजाय हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।