जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस

‘जब मैले वेद पढेँ, दलितले छोएको खान थाले’

दलित र गैरदलितबीच विवाह अभियान, एक दशकमै छुवाछूत अन्त्य : रेखा थापा

person explore access_timeजेठ २१, २०७९ chat_bubble_outline0

जेठ २१ अर्थात् ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ । नेपाल जातीय विभेद तथा छुवाछूत भेदभावमुक्त राष्ट्र घोषणा भएको १६ वर्ष पूरा भएको छ । यद्यपि, विभेदका घटनामा भने कमी आउन सकेका छैन । जनआन्दोलन पछिको पुनःस्थापित संसद्ले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । 


व्यवस्थापिका संसद्ले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूत कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको एक दशक भन्दा बढी भयो । तर कानुनमा अन्त्य भए पनि व्यवहारिक रूपमा कार्यान्वयन भएको देखिँदैन । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ को अवसरमा रातोपाटीले केही अभियन्ताहरूको विचार समेटेको छ ।



छुवाछूतको समस्या दलितको मात्रै ठेक्का होइनः देवराज विश्वकर्मा



राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूतको समस्या दलितको मात्रै ठेक्का नभएर गैरदलितको पनि उत्तिकै जिम्मेवारी रहेको बताउँछन् । विभेद विरुद्ध अपेक्षा गरेअनुसार परिवर्तन हुन सकेको छैन । संवैधानिक रूपमा विभिन्न व्यवस्था गरेर अगाडि बढ्न खोजिएको छ । संविधानको धारा २४, ४० र ४२ कार्यान्वयनका लागि राष्ट्रिय दलित आयोग, नेपाल सरकार सबै मिलेर दलित समुदायको उन्मुक्तिको वातावरण तयार गर्दै गएको छ । तर सोचेजति परिवर्तन नभएपनि मात्रात्मक रूपमा बढेकै छ । उनी भन्छन्,‘राज्यका निकायमा प्रवेश पाउने सुरुवात भएको छ । एउटा वडामा एक दलित प्रतिनिधि निर्वाचित हुने कुराले सरकारमा २० प्रतिशत सहभागिता हुनु सुखद रुपान्तरण गर्नका लागि प्रभावकारी भूमिका खेलेको छ । दलितलाई राज्यका निकायहरुमा प्रवेश गराउने प्रयास भैराखेको छ तर अपेक्षा गरेअनुरुप काम गर्न सकिएको छैन ।’ 

विभेदमा परियो भने राष्ट्रिय दलित आयोगसम्म जानुपर्छ भन्ने चेतना अझै छैन । यो समुदायले अझै पनि राज्यले, संविधानले, ऐन कानुनले जुन संकल्प गरेको थियो, त्यो अनुसारको परिवर्तनको अनुभूति गर्न नपाएको उनले गुनासो गरे । सचेत गराउने विषयमा आयोगले पनि बजेट, जनशक्ति, साधन स्रोतको अपुगले काम गर्न नसकेको उनी स्वीकार्छन् । मुद्दाकै रूपमा वार्षिक ४० देखि ५० जनाको हाराहारीमा पीडित न्यायको लागि आउने गरेको उनले जानकारी दिए । 

दलित समुदायबाट उच्च पदमा रहेकाले नै विभेद निर्मूल नहोस् भन्दै राजनीति गरिराख्न खोजेको आरोप छ भन्ने प्रश्नमा उनले यो कुरा मिथ्या आरोप मात्र भएको बताए । ‘यो प्रायोजित आरोप हो । माथिल्लो निकायका नेताहरूलाई अलोकप्रिय बनाउने नारा हो,’ उनले भने । मन्त्री बने पनि अप्रत्यक्ष रूपमा विभेदमा पर्ने सम्भावना हुन्छ । अनि उसैले यो विभेद हटोस् भन्ने चाहन्छ र ? उनले प्रतिप्रश्न गरे । राजनीतिक आन्दोलन, राजनीतिक परिवर्तनले यहाँसम्म ल्याएको हो । राजनीतिले नै दलित समुदायको हक अधिकार स्थापित गर्ने उनले बताए । 

दलित र गैरदलितबीच विवाहमा प्रोत्साहन : रेखा थापा

नायिका तथा राप्रपा नेतृ रेखा थापाको विचारमा दलित मुक्तिको एजेण्डा उठाएकाहरुले आफ्नै घरभित्रका सदस्यलाई दलित र गैरदलितको विवाहलाई प्रोत्साहन गर्नुपर्छ । वैवाहिक सम्बन्धलाई बढावा दिने हो भने छुवाछूत अन्त्य हुन एक दशक पनि नलाग्ने उनको बुझाइ छ । सानैदेखि विभेद मन नपरेको बताउने उनी दलित मुक्तिको आवाज उठ्दा असाध्यै खुसी लाग्ने बताउँछिन् । तर जसले एजेण्डा उठाएका छन्, उनीहरुले नै यसलाई जीवनभर राजनीतिकरण मात्रै गर्न चाहेको देख्दा दुःख लागेको उनको भनाइ छ । 

मोरङको आफ्नै गाउँको काली मन्दिरमा दलित भनिएका दिदीहरूलाई त्यहाँको पुजारीले छिर्न नदिएको आफै साक्षी रहेको उनले बताइन् । आफूले सानैदेखि विभेद देखेको र त्यो मन नपरेर विद्रोह गरेको उनी सुनाउँछिन् । मैले त्यतिबेला पण्डितलाई गाली गरेको थिएँ । सानी देखेर मेरो कुराको वास्ता गर्नुभएन । चित्त नबुझेसी घर गएर आमालाई सोधेँ तर आमाले ठुली भएसी आफै बुझ्छेस् भनेर जवाफ दिनुभयो । दलित भन्ने शब्द प्रयोग गर्न नचाहने उनी मान्छेको जात नै सर्वोकृष्ट जात हो, यो धर्तीमा हरेक मानिसले उत्तिकै समान बाँच्न पाउने अधिकार राख्छ । एक्काइसौ शताब्दीमा छुवाछूत उन्मुलन दिवस मनाइरहँदा हामी कति पिछडिएका सोच र व्यवहार बोकेर हिँडेका छौ भन्ने कुरा प्रष्ट हुने उनको भनाइ छ । मान्छेले अन्य मान्छेलाई आफू समान मान्न सक्यो भने मात्र उ चेतनशील प्राणी हो । 

छुवाछूत गरेकोमा मर्नु भन्दा अगाडि पश्चात्ताप गर्नुपर्छ: रुपा सुनार 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालकी  केन्द्रीय सदस्य रुपा सुनार मान्छेले मर्नु भन्दा अगाडि छुवाछूत गरेकोमा पश्चात्ताप गर्नुपर्ने बताउँछिन् । अहिलेको पुस्ता  आधुनिक, शिक्षित देखिएको छ तर आमाबुवालाई दोष देखाएर आफै विभेदकारी सोच बोकेर हिँडेको उनको भनाइ छ । सामाजिक सञ्जाल हेरौँ, युवाहरूको सोच जातीय विभेद कस्तो विकराल छ । उनी भन्छिन्,‘म छुवाछूत मान्दिन तर मेरो घरको बूढी आमाले मान्नुहुन्छ भने त्यसलाई मैले सम्मान गर्छु भन्ने युवा पुस्ताको सोच जति ढोंग केही छैन ।’ शिक्षित युवाले छुवाछूत गलत भनेर बुझेको छ भने आमाबुवालाई सचेत गर्ने कि उहाँहरुको विभेदकारी सोचलाई सम्मान गर्ने ? उनको प्रश्न छ । जो युवाले छुवाछूतलाई मान्दैन, उसले अभिभावकलाई समेत सम्झाउन सक्छ । विश्वविद्यालय पढेर मात्रै मान्छे शिक्षित नहुने उनको बुझाइ छ ।

सानो छँदा हामी सानै जात हो भन्ने लाग्थ्यो । त्यही भएर भेदभाव सहनु नै पर्छ भन्ने लाग्यो । जब बुझ्दै गइयो, छुवाछूतको अवस्था देखेर पीडा हुन थाल्यो । पीडा भएसी प्रतिकार गर्न थालेँ । भन्छिन्,‘म पनि तिमीहरूजस्तै मान्छे हो भनेर धेरै ठाउँमा झगडा गरेँ । नबुझ्नेहरूलाई बुझाइयो पनि तर आजकाल आक्रोश पैदा हुन्छ ।’ समय यति परिवर्तन हुँदा पनि समाजले हामीलाई किन स्वीकार गर्न नसकेको होला भन्ने लाग्छ । 

अन्य क्षेत्रको अन्यायविरुद्ध आवाज उठाइदिने धेरै छन् तर दलितको हकमा दलितबाहेक अरू कसैले आन्दोलन गर्दैन । दलितलाई गैरदलितले मान्छे नै मान्दैन । कसरी परिवर्तन गर्ने होला भनेर सोच्दै हैरान हुन्छ । जात व्यवस्थाविरुद्ध फाइनल म्याच लड्नुपर्ने अवस्था आएको उनले बताइन् । ३ हजार वर्ष लामो समयदेखि रहेको छुवाछूत तथा जात व्यवस्थाको उन्मुलनको लागि पाठ्यक्रममा राखिनुपर्ने उनको माग छ । 

गैरदलितमा चेत नआउञ्जेलसम्म जातीय विभेद रहन्छ: पण्डित चुडामणि गौतम

गैरदलितमा चेत नआउञ्जेलसम्म जातीय विभेद रहने पण्डित चुडामणि गौतम बताउँछन् । त्यसैले विभेद विरुद्धको सचेतना गैरदलितलाई दिनुपर्ने उनको सुझाव छ । स्थायी घर सङ्खुवासभा रहेका गौतम हाल पशुपति मन्दिर प्राङ्गणमा कर्मकाण्ड गर्दै आएका छन् । उनका अनुसार तमाम ग्रन्थले मान्छेबीच विभेद नगरेको बताए । शिक्षक पेशा छोडेर कर्मकाण्डमा लागेका उनी वेद र ग्रन्थमा दलित लेखिएको तर भेदभाव नलेखिएको बताए । हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ गीता, भागवत पुराण र महाभारतमा विष्णु भगवान्को विभिन्न अङ्गबाट मान्छेको उत्पत्ति भएको मानिन्छ । उनी भन्छन् ,‘ विष्णु भगवान्को माथिल्लो अङ्ग मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, जाँघबाट वैश्य र सबैभन्दा तल खुट्टाबाट उत्पत्ति भएकालाई शूद्र वा दलित जाति मानिएको छ । तर सबै जाति वा मान्छे विष्णु भगवान्कै शरीरबाटै बनेका हुन् ।’ मन्दिरमा दलितलाई प्रवेश नदिनु पण्डितको बुझाइमा कमी हो । 

जसरी हाम्रो शरीरको कुनै पनि भागको महत्त्व उत्तिकै छ, जातको महत्त्व पनि उत्तिकै बराबर हुनुपर्छ । ‘खुट्टा बिना मान्छेको टाउको पनि अशक्त हुन्छ । अनि टाउको विना खुट्टा मात्रैको त जीवन नै रहन्न ।’ उनले भने । आफ्नो बुवा कट्टर पण्डित भएकाले घरमा दलितले छोएको नखाएको उनी सुनाउँछन् । स्कुल पढ्दा वा गाउँमा हुँदा आफूले पनि सामाजिक प्रभावले भेदभाव गर्ने गरेको उनको अनुभव छ । पण्डित गौतम भन्छन्, ‘जब मैले वेद पढेँ, दलितले छोएको खान थाले । दलितकै घरमा गएर पानी मागेर खान थालेँ । कोही मान्छेलाई छुँदैमा जात जाँदैन । अहिले कुनै पनि दलित आओस् उसको कर्मकाण्ड सबै गर्छु, जानेदेखि विभेद गरेको छैन । मान्छे उच र निच श्रेणीको हुँदैन ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।