कश्यपको कथा :  जुत्तापुराण

person explore access_timeजेठ २२, २०७९ chat_bubble_outline0

धेरै पहिलेको कुरा हो । एकादेशमा एक मुडी सामन्त थिए । शासकहरु प्रायः मुडी नै हुन्छन् । हमेशा जनताको नाम दिएर आफ्नै विचार र सिद्धान्त लाद्ने प्रयास गर्छन् । त्यसमा पनि उनी अलि बढी नै थिए । उनको भनाइ कानून बन्थ्यो, जे पनि गर्नैपर्थ्यो । तत्काललाई हेरेर निर्णय गर्थे, मूल्य देश र जनताले चुकाउनुपर्थ्यो ।


एक दिनको कुरा हो बगैँचामा खेल्न गएको बेला राजकुमारीको गोडामा काँडा बिझेछ । राजकुमारी रुन लागिन् । उसै त कुन कानमा सुन भनेजस्तो सामन्तका लागि किन खपिखानु हुन्थ्यो र । तत्कालै मन्त्रीलाई बोलाएर भने–‘तत्कालै यस काँडालाई कारबाही गर्नू ।’



मन्त्री जिल्ल परे । काँडालाई कसरी कारबाही गर्ने । उनले भरसक सामन्तलाई बुझाउने कोसिस गरे तर सुन्नेकान लगाएनन् । त्यसपछि बगैँचाको काँडालाई उखेलेर फाल्न लगाए तर सबै भनेजस्तो किन हुन्थ्यो र । उनीसँग मानिस डराए पनि प्रकृति किन डराउँथ्यो र । केही समयपछि नै काँडा उम्रेर जस्ताकोतस्तै भयो ।



केही समयपछि पहिलेकै घटना दोहरियो । न राजकुमारीले बानी सुधारिन् न काँडाले सुधार्‍यो । त्यसपछि सामन्तले क्रुद्ध हुँदै पूरा जमिन छालाले ढाक्ने आदेश दिए ।

मन्त्रीलाई अर्को आपत पर्‍यो । राज्यका जमिन ढाक्ने छाला कहाँ पाउने, कहाँबाट ल्याउने । पाए पनि जमिन ढाकेपछि अन्नपात कसरी उम्रने, अन्नपात नै नउम्रेपछि के खाने । जमिनले रुख बिरुवा बनस्पति उमारेको थियो र पो मानिस तथा पशुपक्षीले आहारा पाएका थिए, अक्सिजन पाएका थिए । बर्खाको पानी सोसेर हिउँदभरी हराभरा बनाएको थियो तर यहाँ त्यसैलाई ढाक्ने कुरा भइरहेको थियो । तैपनि हिम्मत हारेनन् र दुई हात जोर्दै भने–

‘महाराज ! यस निर्णयमा पुनर्विचार होस् भन्ने आग्रह गर्न चाहन्छु । यसले कसैको पनि हित गर्दैन । प्रयोग गर्न नजाने आगोले ज्यानै लिन पनि सक्छ जान्ने हो भने त्यही आगोले जीवन बचाउन पनि सक्छ । यहाँ पनि भएको त्यस्तै हो । गल्ती जमिनको होइन राजकुमारीको हो, राजकुमारीले हिँड्न नजान्दाकै परिणाम हो । त्यसैले जमिन ढाक्नतिरभन्दा राजकुमारीलाई शिक्षा दिनेतर्फ पो सोच्ने हो कि ।’

‘केरे ! राजकुमारीलाई शिक्षा रे !’ सामन्तले कड्किँदै भने–

‘होइन के भन्न खोज्दै हुनुहुन्छ ? गल्ती गर्ने एउटा शिक्षा दिने अर्कोलाई ? यो त भित्र हराएको चीज बाहिर खोज्न गए जस्तै भएन र ? राजकुमारीको शिक्षासित यसको के सम्बन्ध छ र ?’

‘छ महाराज ! गहिरै छ ।’ मन्त्रीले डराउँदै भने–

‘सरकारको उद्देश्य राजकुमारीको गोडामा काँडा नबिजोस् भन्ने हो । त्यसैले राजकुमारीलाई सकभर बाहिर नजाने र जानै परे बुद्धि पु¥याएर हिँड्ने शिक्षा दिने हो भने आइन्दा गोडामा काँडा बिझ्दैन । अन्यथा यस्तो भइरहन्छ ।’

त्यसपछि सामान्तले थप कड्किँदै भने–

‘अरू कुरा थाहा छैन । जमिनलाई छालाले मोड्नैपर्छ । यस्ता आदर्शको कुरा तपाईँसितै राख्नुस् । मेरी छोरीको शरीरमा घाउ लागेको छ तपार्ईँ नानाभाँतीका कुरा गरी पन्छिन खोज्दै हुनुहुन्छ । यस्ता बाह्रसत्ताइस कुरा सुन्ने फुर्सद मसँग छैन ।’

विचरा मन्त्रीजी गरून् पनि के । राजाज्ञाको कुरा थियो । तैपनि कुनै उपाय निस्कन्छ कि भनेर केही दिन टार्ने प्रयास गरे तर सामन्त छाड्ने पक्षमा थिएनन् । केही दिनपछि बोलाएर सोधे–

‘सुनाउनुस् केकति काम भयो, प्रगति विवरण जान्न चाहन्छु ।’

मन्त्रीबाट काम सुरू नभएको कुरा थाहा पाएपछि सामन्तको क्रोधले सीमा नाघ्यो । सात दिनभित्र काम तमाम नगरे बर्खास्त गर्ने चेतावनी दिएर पठाए ।

राजाज्ञाले खिन्न भएको मन लिएर मन्त्री घर पुगे । मन्त्राणीले कारण सोधिन् । उनले सबै कुरा बताए । मन्त्राणी सुझबुझकी रहिछिन्, उपाय खोज्ने प्रयास गर्दै भनिन्–

पल्लो गाउँका चतुरे बाहुन (चतुर्भुज शमा) समक्ष जानुस् न । तैपनि कुनै उपाय निस्कन्छ कि । निकै चतुर छन् रे, यस अघि यस्ता धेरै समस्या समाधान गर्दै आएका छन् भन्ने सुनेको छु ।’

मन्त्राणीको कुरा मन्त्रीलाई ठीकै लाग्यो । भोलिपल्टै चतुरे समक्ष गएर सहयोग मागे । मन्त्रीको कुरा सुनेर चतुरेले पनि नमीठो माने तर यति बेला भावनामा बग्ने समय थिएन । एकैछिन सोचेर एउटा जुक्ति सिकाएर पठाए ।

मन्त्रीजी भोलिपल्ट बिहानै चतुरेको भने बमोजिम दरवार दाखिला भए । सातदिन नपुग्दै मन्त्रीको उपस्थिति देखेर सामन्तले आश्चर्य मान्दै सोधे–

‘किन आउनुभो यति चाँडै ? कुनै बाहना लिएर आउनुभएको त होइन ? अहिले नै भन्द्याछु त्यस्तो चल्दैन ।’

‘बाहाना पार्न आएको होइन महाराज !’

‘किन आउनुभा त ?’

‘काम सकेर आएको हुँ ।’

‘यति चाँडै ?’

‘हजुर, चाँडै नै सकियो ।’

‘कसरी ढाक्नुभो त ?’

त्यसपछि मन्त्रीले राजकुमारीको गोडामा छालाको जुत्ता लगाइदिँदै भने–

‘लौ हेर्नुस् महाराज ! यसरी ढाकिदिएँ ।’

कुरा बुझ्न नसकेर सामन्तले रिसाउँदै भने–

‘के हो यो ?’

मन्त्रीले बेलीबिस्तार लगाउँदै भने–

‘जमिन ढाक्न त सम्भव थिएन तर राजकुमारीको गोडा ढाक्न सम्भव थियो । त्यसैले शाहज्यादीको गोडामा आइन्दा काँडा नबिजोस् भनेर यस्तो गरेको हुँ ।’

उनको कुरा सुनेर सामन्तले खुसी हुँदै भने–

‘उत्तम उपाय निकाल्नुभोे । भन्नुस् के दिऊँ ।’

‘त्यसको हकदार म होइन महाराज !’

‘को हो त ?’

‘चतुरे बाहुन (चतुर्भुज शर्मा) हुन्, उनैले सिकाएर यस्तो गरेको हुँ ।’

त्यसपछि सामन्तले तत्कालै चतुरेलाई बोलाउन लगाई उचित पारितोषिक दिएर पठाए ।

भनिन्छ, जुत्ता लगाउने चलन त्यति बेलादेखि नै सुरू भएको हो । यसरी जुत्ताको इतिहास अप्ठ्यारो परिस्थितिबाट सुरू भएको भए पनि फल भने दुनियाँले अहिलेसम्म पनि खान पाएका छन् ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।