समाचार

२७ वर्षअघि बन्द वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन कति सम्भव ?

person explore access_timeजेठ २२, २०७९ chat_bubble_outline0

पर्सा । वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेको धान कुट्ने थ्रेसर मेसिन कुनै बेला हेलिकप्टरबाट हुम्ला, जुम्लासम्म पुग्थ्यो । किसानलाई आवश्यक कुटो, कोदालोदेखि विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने सामानसमेत यसै उद्योगबाट उत्पादन हुन्थ्यो ।


तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण भएर २०२४ साल फागुन २८ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको सो कारखाना करिब ३ दशक सञ्चालन भएर बन्द भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ चैत ४ गते उद्योगलाई निजीकरण गरेर व्यक्तिलाई सञ्चालन अनुमति दिएको केही वर्षमै उद्योग ताला लाग्ने अवस्थामा पुग्यो र बन्द भयो ।





किसानलाई चाहिने कुटो, कोदालो, हलो, हसियाँ, खुर्पा, धान झार्ने मेसिन, टायर गाडा, टेलर, सेफ्टी ट्याङ्की, विद्युत् प्राधिकरणको पोलमा आवश्यक पर्ने एङ्गल, दुग्ध विकासको दुध बोक्ने ट्याङ्की, रेलको चक्कासम्म यही कारखानाले उत्पादन गर्दथ्यो । ‘किसानको कुनै सामान थिएन, जो यहाँ बन्दैनथ्यो,’ २० वर्ष कृषि औजार कारखानामा काम गरेका लालबाबु प्रसाद कुर्मीले भने, ‘यहाँ उत्पादन भएको धान कुट्ने थ्रेसर हेलिकप्टरबाट हुम्ला–जुम्लासम्म पुग्थ्यो ।’

तत्कालीन अवस्थामा ३५० जना मजदुर तथा कर्मचारी कार्यरत कारखानामा अहिले ७ जना सुरक्षा गार्डमात्रै छन् । कारखानाको नाममा अहिले पनि वीरगञ्ज–पथलैया ६ लेन सडक खण्डमा १० बिगाहा जग्गा, कारखाना भवन, ४ वटा गोदाम घर र आवास भवन छन् ।

तत्काललाई सञ्चालन खर्च १ करोड भए पुग्छ : व्यवस्थापक साह

वीरगञ्ज कृषि औजार कारखानाका तत्कालीन इन्जिनियर तथा पूर्व व्यवस्थापक देवनारायाण साह तत्काललाई १ करोड रकम भए कारखाना सञ्चालन गर्न सकिने बताउँछन् । ‘शत प्रतिशत मेसिनहरू कन्डिशनमा छन्, मेसिनहरू मर्मत सम्भार गर्न धेरै खर्च लाग्दैन, ४/५ लाख भए पुग्छ,’ उनले भने, ‘तत्काललाई १ करोड बजेट भए कारखाना सजिलै सञ्चालन गर्न सकिन्छ ।’

उनका अनुसार सरकारले चाह्यो भने एक दिनमै कारखाना सञ्चालन हुन सक्छ । ‘जिम्मेवारी दियो भने म आफै चलाउन सक्छु,’ उनले भने । कृषि औजार कारखानाको विद्युत् महसुल बापतको पुरानो बक्यौता करिब ४० लाख बुझाउन नसक्दा २०५३/०५४ देखि कारखानामा विद्युत् कटौती भएको उनले बताए ।

अघिल्ला सरकारले पनि चिनी मिल र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने विषयलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका थिए । यद्यपि कारखाना भने सञ्चालन हुन सकेन । ‘हिसाबकिताब खोज्यो भने अहिलेसम्म कृषि औजार कारखानाको नाममा मात्रै १० करोडभन्दा बढी रकम निकासा भइसकेको छ, तर त्यो रकम कसले कहाँ खर्च ग¥यो, थाहा छैन,’ साहले भने, ‘यसपटक पनि सरकारले  आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ तर बजेट नछुट्याएकाले यो अगामी संघ/प्रदेश चुनावका लागि प्रचारप्रसार मात्रै गरिएको हो कि ? कारखाना सञ्चालन भइहाल्छ भन्नेमा हामीलाई अलिकति पनि विश्वास  छैन ।’

यसअघि पनि सरकारका विभिन्न मन्त्रीले कारखाना अनुगमन गरेर एक महिनाभित्र सञ्चालनको आश्वासन दिएको उनले सुनाए । ‘थुप्रै मन्त्रीहरू आएर एक महिनाभित्र म कारखाना सञ्चालन गरिदिन्छु भनेर जानुभयो तर खै, आजसम्म सञ्चालन भएको छैन,’ उनले भने ।

यसपटक वीरगञ्ज कृषि औजार र चिनी मिल दुवै चल्छ : अर्थमन्त्री शर्मा

शनिबार वीरगञ्ज कृषि औजार कारखाना र चिनी मिल अनुगमन गर्न पर्सा आएका संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले यसपटक वीरगञ्जका दुवै उद्योग चलेको देख्ने पाइने बताएका छन् ।

‘साबेल, बेल्चा, पम्पसेटदेखि धान झार्ने लगायतका महत्त्वपूर्ण औजारहरू त्यतिबेलै बन्दा रहेछन्, अहिलेसम्म त्यसको विकास गरेको भए हामी कहाँ पुग्थ्यौं, यो हाम्रोलागि दुर्भाग्य हो । अब यसलाई सञ्चालन गरेर देशको र किसानको हितमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने सरकारको नीति हो,’ कृषि औजार कारखाना अनुगमन पश्चात् अर्थमन्त्री शर्माले भने ।

मन्त्री शर्माका अनुसार कतिपय मेसिन मर्मत सम्भार गरेर चल्छ भनिएको छ । यहाँका धेरैजसो औजारको अवस्था हेर्दा कारखाना सञ्चालन हुनेमा विश्वस्त रहेको उनले सुनाए ।

किसानलाई खेतीका लागि चाहिने औजारहरू निर्माण गर्ने कम्पनी बन्द गरेर राख्दा आयात प्रतिस्थापन हुन नसक्ने मन्त्री शर्माले जनाए । ‘यो आजको समस्या होइन, हिजोे बन्द गर्नेहरुको समस्या हो, किसानको जीवनसँग गाँसिएको यति महत्त्वपूर्ण उद्योगलाई सञ्चालनमा ल्याउनुपर्छ भन्ने अहिलेको सरकारको र मेरो प्रतिवद्धता हो,’ मन्त्री शर्माले भने, ‘वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनमा ल्याउँदा किसानहरूलाई सहभागी बनाएर त्यसको मुनाफा किसानले पनि पाउने गरी सहकारी मोडलमा सञ्चालन गर्दा पनि हुन्छ ।’

अर्थमन्त्री शर्मा शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ वार्षिक साधारण सभामा सहभागी हुन वीरगञ्ज आएका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।