मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१० महिनामा करिब १९ सय बस दुर्घटना, तर विमान दुर्घटनालाई मात्र महत्त्व

प्रभावहीन दुई चालक राख्ने नियम
सोमबार, २३ जेठ २०७९, ०८ : ४६
सोमबार, २३ जेठ २०७९

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर आइतबार बिहान ९ जनाको मृत्यु भयो । समाचार तयार गर्दासम्म ८ जनाको सनाखत भएको छ । 

जनकपुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैरहवा–परासी हुलाकी सडक खण्डको पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको खबर  बिहान ४ बजेर ३७ मिनेटमा प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

रोहिणीमा भएको दुर्घटना दुईवटा कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘तीव्र गति वा चालक निदाएको कारण दुर्घटना भएको प्रारम्भिक आकलन गरेका छौँ’ रुपन्देहीका एसपी रेग्मी भन्छन्–‘तीव्र गतिमा सवारी दौडाउनुको पछाडि यात्रुले हतार गरेको पनि हुनसक्छ, त्यसबारे अनुसन्धान गर्छौँ ।’ 

बस दुर्घटना हुँदा मृतकका आफन्तलाई शव जिम्मा लगाउने र  बिमाको प्रक्रिया पुरा गर्न स्थानीय प्रहरीको जिम्मा लगाएर छाड्ने गरिन्छ । तर, विमान दुर्घटना हुँदा सिङ्गो राज्यको ध्यान जान्छ । उच्चस्तरीय छानबिन समिति बन्छ । 

जेठ १५ मा तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा चालक दलका सदस्य सहित २२ जनाले ज्यान गुमाए । पोखराबाट उडेको ट्विनअटर मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरे स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सो दुर्घटना छानबिन गर्न सरकारले नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । सो आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सह–सचिव बुद्धिसागर लामिछाने सदस्य छन् । थप दुर्घटना रोक्न मौसम सफा नभई आन्तरिक उडान गर्न नपाउने नियम पनि लागू गरिएको छ । 

तर, बस दुर्घटना हुँदा एका–दुई बाहेक अधिकांश दुर्घटनाको घटना छानबिन हुँदैन । सवारी दुर्घटनाबारे जानकार पूर्व ट्राफिक प्रहरी इन्स्पेक्टर सीताराम हाछेथु गाडी दुर्घटना भएको १ साता हल्लाखल्ला गरेपछि बिर्सने संस्कार भएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै हाछेथुले भने–‘सडक दुर्घटना बिर्सने संस्कार छ, चालकलाई सचेतना कार्यक्रममा नचलाउँदा वर्षेनी दुर्घटना बढ्दो छ ।’ 

१० महिनामा १९ सय बस दुर्घटना

आर्थिक वर्ष २०७७–०७८ को तुलनामा चालु आर्थिक वर्षमा सड्क दुर्घटना बढेको छ । २०७८ साउन यता चैतसम्ममा देशभर साना ठुला गरी १ हजार ९ सय बस दुर्घटना भएका छन् । अघिल्लो आर्थिक वर्षमा करिब १ हजार ७ सय बस दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा करिब २ हजार ६ सय बस दुर्घटनामा भएको थियो । 

बस दुर्घटनाको तथ्याङ्क 

                                                 तथ्याङ्क स्रोत : प्रहरी प्रधान कार्यालय

चालकमा ‘ट्राफिक नियम पालना गर्नुपर्छ’ भन्ने भावना विकास गराउन नसक्दा दुर्घटना न्यूनीकरण हुन नसकेको बताउँछन् पूर्व ट्राफिक इन्स्पेक्टर हाछेथु । उनी भन्छन्–‘मेरो पछाडि यत्तिका मान्छे छन्, भन्नेकुरा चालकले बिर्सन्छन् । चालकले पैसा मात्रै सोचेर स्टेरिङ समाउँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।’ 

सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनको जिम्मेवार निकाय नहुँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन । अब, सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनको जिम्मा स्थानीय निकायले लिनुपर्ने बताउँछन् हाछेथु । उनी भन्छन्–‘स्थानीय तह सक्रिय भएमा मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सडकको खाल्डो पुर्ने र ट्राफिक नियम पालना गराउने दायित्व स्थानीय निकायले लिनुपर्छ ।’ 

प्रभावहीन दुई चालक राख्ने नियम  

लामो दुरीमा चल्ने सवारी साधनले दुईजना चालक राख्नुपर्छ । तर, अनुगमन संयन्त्र प्रभावकारी नहुँदा दुईजना चालक राख्ने नियम प्रभावकारी हुन सकेको छैन । दुई चालक राख्ने नियम छल्ने काम भइरहेको जानकारहरू बताउँछन् । अनुगमन गर्ने वैज्ञानिक मापदण्ड पनि छैन । 

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा दुर्घटना भएको लु.२ ख ३८४१ नम्बरको बसमा भने दुईजना चालक राखेको अनुसन्धानबाट थाहा भएको एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने–‘ट्राफिक प्रहरीले भेरिफाई गर्दा दुईजना चालक रहेको थाहा भएको छ ।’ 

लामो दुरीको सवारीमा दुईजना चालक राख्ने नियम मात्र प्रभावहीन छैन । नियमित सवारी परीक्षण नगराउँदा दुर्घटना बढ्ने गरेका छन् । पानी परेको समयमा सम्बन्धित निकायले सवारीको परीक्षण र ब्रेक परीक्षण गराउनुपर्ने बताउँछन् पूर्व इन्स्पेक्टर हाछेथु । 

गृहमन्त्रीको फोन 

रुपन्देहीको रोहिणीमा भएको दुर्घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणले चासो राखेका छन् । आफ्नो गृह जिल्लामा भएको दुर्घटनामा परेर २४ जना घाइते र ९ जनाको मृत्यु भएपछि उनले प्रजिअ र सुरक्षा अधिकारीहरूलाई फोन गरेका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलचन्द्र न्यौपाने र युनिभर्सल कलेजका प्रशासन प्रमुख तेजी केसीलाई फोन गरेर गृहमन्त्री खाँणले घाइतेहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे ।

 दुर्घटनामा परेर ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा ३ जना भारतीय नागरिक छन् । भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा  र सञ्जय गुप्ताको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल छन् । एकजना मृतकको पहिचान खुल्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप