मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पोष्टमार्टम रिपोर्टको एउटा क्लुले बदलियो दुर्घटनाको घटना

सामान्य ठानिएको सवारी दुर्घटना यसरी बन्यो सवारी ज्यान मुद्दा
सोमबार, २३ जेठ २०७९, १० : ४६
सोमबार, २३ जेठ २०७९

गत चैत २० गते साँझ ५:२० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पको ठीक अगाडि एक मोटरसाइकल दुर्घटना भयो । चालक नुवाकोटको बेलकोटगढी नगरपालिका ३ बस्ने २५ वर्षीय लक्ष्मी दर्नाल गम्भीर घाइते बनिन् । उनलाई नजिकैको नेशनल अस्पताल पुराइएपनि उपचारकै क्रममा साँझ मृत्यु भयो । 

चैत महिनामा चाँडै नै दिन सकिने भएकाले दुर्घटनाको बेला उक्त दिन पनि हल्का अँध्यारो भइसकेको थियो । सबैले उक्त मोटरसाइकल डिभाइडरमा ठोक्किएको कारण दुर्घटना भएको अनुमान गरे । दुर्घटनामा परेको स्पेल्डर मोटरसाइकलको अवस्था हेर्दा पनि अगाडिको भाग फुटेको देखेपछि डिभाइडरमै ठोक्किएर दुर्घटना भएको ठानियो । दुर्घटनाको सम्बन्धमा परिवारले पनि सामान्य दुर्घटना नै ठानी प्रतिवादीको महल खाली नै राखेर सवारी ज्यान शीर्षकमा जाहेरी दिए । त्यसपछि शवको सदगद भयो । 

पोष्टमार्टम रिपोर्टको त्यो क्लु

पोष्टमार्टमका लागि पठाइएको शवको रिपोर्ट करिब ५ दिनपछि मात्रै आयो । पोष्टमार्टम रिपोर्टमा टाउकोमा मात्रै नभएर छाती र पेटमा समेत चोट पुगेको देखायो । डिभाइडरमा ठोक्किएर दुर्घटना भएको मानिएको उक्त दुर्घटनामा मृतकको शरीरमा चार स्थानमा चोट पाइयो । सामान्य अवस्थामा टाउकोमा चोट लागेका कारण मृत्यु हुन्छ । ती महिलाको टाउकोमा चोट त थियो नै, त्यसबाहेक छाती र पेटको भागमा पनि चोट पाएपछि डिभाइडरमा मात्रै ठोक्किएर दुर्घटना भएको होइन भन्ने निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि प्रहरीले उक्त दुर्घटनाको थप अनुसन्धान सुरु गर्‍यो ।

प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिल कुमार घिमिरेले उक्त घटनाको सूक्ष्म अनुसन्धान गर्न दुर्घटनास्थल, दुर्घटनास्थल वरपरको सिसिटीभी क्यामेरा आदि सङ्कलन सुरु गरे । 

सीतापाइलातर्फबाट कलंकी, बल्खुतर्फ जाने सवारीसाधनको सूक्ष्म अनुसन्धान गर्दा दुर्घटनामा परेको प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकलसँगै एउटा निलो हात्ती गाडी पनि सँगसँगै गुडेको देखियो । सीतापाइलादेखिको सिसी क्यामेरा पछ्याउँदा दुर्घटनामा परेको मोटरसाइकलसँगै एक हात्ती गाडी पनि सँगै आइरहेको पाएपछि कालीमाटी प्रहरीले उक्त गाडीको खोजी गर्‍यो । दुर्घटनास्थलबाट बल्खुतर्फ जाँदा बाटोमा रहेको सिसीटिभीमा उक्त गाडी त्यहाँ पुग्न लाग्ने समयसमेत प्रहरीले क्याल्कुलेसन गर्दा ‘टाइमिङ’ मिलेन ।

त्यसपछि प्रहरीले उक्त हात्तीगाडीको नम्बर खोज्नतिर लाग्यो । साँझको समयमा डिमलाइट बाल्न थालिसकेको कारण सिसीटिभी क्यामेरामा पनि उक्त गाडीको नम्बर पत्ता लगाउन समस्या भयो । करिब एक साताको प्रयासपछि पत्ता लाग्यो कि दुर्घटना हुँदाको समयमा सँगसँगै रहेको हात्तीगाडीको नम्बर बा १२ च ५६२ थियो । 

त्यसपछि यातायात व्यवस्था कार्यालयबाट उक्त हात्ती गाडीको विवरण मागियो । उक्त हात्तीगाडीका सवारीधनी र चालक रामेछापको दोरम्बा गाउँपालिका ५ घर भई टेकुमा डेरा गरी बस्ने ३३ वर्षीय कमल प्रसाद गौतम रहेको पत्ता लाग्यो । त्यसलगत्तै कमललाई फोन गरी केही बुझ्नुपर्ने भएकाले प्रहरी वृत्त टेकुमा बोलाइयो । 

तर कमलले सुरुमा हुन्छ भनेपनि त्यसपछि मोबाइलको स्वीच अफ गरेर उनी फरार भए । जतिबेला कमललाई फोन गरिएको थियो, उनी त्यतिबेला मकवानपुरको हेटौँडामा थिए । मोबाइलको स्वीच अफ गरेपछि उनीमाथिको शंका झनै बढ्न थाल्यो र प्रहरीले उनको खोजीलाई तीब्र बनायो 

यता भवितव्य दुर्घटना भनी सामान्य जाहेरी दिएर बसेका परिवारलाई डिएसपी घिमिरे आफैले फोन गरेर कालीमाटी बोलाए । सुरुमा दुर्घटनाको दिनको सिसीटिभी फुटेज देखाए र दुर्घटनामा उक्त हात्तीगाडीको संलग्नता हुनसक्ने बताए । तर जुन स्थानमा दुर्घटना भएको थियो, उक्त स्थानमा सिसीटिभी कभरेज नभएको कारण परिवारले उक्त सवारीसाधन र त्यसका चालकविरुद्ध किटानी जाहेरी दिन मानेनन् । 

तर प्रहरीले अनुसन्धानलाई त्यसै छाडेन । यही क्रममा प्रहरी वृत्त कालीमाटीको टोलीले घटनाको ठीक दुई महिनापछि सवारी दुर्घटनामा संलग्नताको आशंका गरिएका कमल प्रसाद गौतमलाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरी काठमाडौँ ल्यायो । सुरुमा घटनाबारे अनभिज्ञ रहेको बताएका गौतमले अहिले भने दुर्घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनामा संलग्नता रहेका सवारी चालक पक्राउ परेको पुष्टि गरे । पक्राउ परेका अभियुक्तलाई सोमबार म्याद थप गर्ने र त्यसपछि घटनाबारे थप जानकारी दिने उनले बताए । प्रवक्ता मैनालीले भने, ‘यो घटनामा प्रहरीले गरेको अनुसन्धानले राम्रो नतिजा दिएको छ । सामान्य दुर्घटना भनी चुप लागेर बसेको भए आज पीडित परिवारले न्याय र क्षतिपूर्ति पाउने सम्भावना पनि नरहन सक्थ्यो । तर प्रहरी त्यसै चुप लागेर बसेन र यसको सफल अनुसन्धान गरी दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिन सफल भएको छ ।’

प्रहरीप्रति आभारी छु : मृतकका दाइ नवराज दर्नाल

घटनाको दुई महिनापछि दुर्घटनामा संलग्न चालक र सवारीसाधन नियन्त्रणमा आएपछि मृतक लक्ष्मी दर्नालका दाइले प्रहरीलाई धन्यवाद दिएका छन् । सुरुमा सामान्य दुर्घटना भनेर त्यसै छाडिएको घटनालाई प्रहरीले सूक्ष्म अनुसन्धान गरी नतिजा निकाल्ने गरी काम गरेकामा उनले धन्यवाद भनेका छन् । 

रातोपाटीसँग कुरा गर्दै नवराज दर्नालले भने, ‘सुरुमा हामीलाई डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको भन्ने कुरा नै गरियो । देख्ने मान्छेले पनि डिभाइडरमा ठोक्किएको कुरा नै गरे । कसैले ठक्कर दिएको नदेखेपछि हामीले पनि त्यही नै हो भन्ने लागेर सामान्य जाहेरी मात्रै दियौँ । तर शरीरमा धेरै ठाउँमा चोट लागेको कारण ठक्कर नै दिएको हो कि भन्नेचाहिँ लागेको थियो । तर अन्य केही प्रमाण नभएपछि हामी पनि त्यसै बसेका थियौँ । पछि डिएसपी सर आफैले बोलाएर सिसीटिभी फुटेज देखाउनु भएपछि शंका लाग्यो । अहिले त प्रहरीले पक्राउ गरेर ल्याइसक्नुभएको छ । पक्राउ परेकाले पनि डिभाइडरमा ठोक्किएपछि लड्दा आफूले चलाएको गाडीको पछाडिको टायरले किचेको भनेका छन् । अब बाँकी प्रक्रिया सुरु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप