सरोकार

सामाजिक सञ्जालमा शिक्षकबाटै बालबालिकाको चरम दुरुपयोग

गलत सन्देश दिने गरी धेरै बालबालिकाको प्रयोग

person explore access_timeजेठ २४, २०७९ chat_bubble_outline1

टिकटकमा एउटा बालक ‘ममी जाने..ममी जाने’ भन्दै डाँको छोडेर रुँदै गरेको भिडियो अहिले निकै भाइरल छ । भिडियोमा तुरुन्तै मिसले ल अब हाँसीदेउ भन्दा बालक आँखाभरी आँसु छचल्काउँदै मुस्कुराउन बल गर्छ । खासमा उ स्कुलमा आमा सम्झेर रुन खोजेको छ, तर भिडियो खिचेर उसलाई रुनबाट रोकिएको छ । र, बच्चाले आफ्नो निर्दोष भावना व्यक्त गर्दै भनेको छ, ‘म ममी जाने भन्दै रुन्छु, तपाईं टिकटक बनाउनु ।’ 


यो भिडियो नुवाकोट विदुर नगरपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालयको हो । रुने बालक नर्सरीमा पढ्ने ४ वर्षका सन्दीप मिजार हुन् । भिडियो विद्यालयकी नर्स मनिषा तिवारीले बनाएकी हुन् । यो भिडियो भाइरल भएर युट्युवरहरु सन्दीपको घरमा अन्तर्वार्ता लिन समेत पुगिसकेका छन् । आर्थिक रुपले विपन्न सन्दीप अब रातारात सेलिब्रेटी बन्ने तरखरमा छन् । 
समाजशास्त्रीहरुका अनुसार युट्युवरहरुबाट सन्दीपलाई केही सहयोग भए पनि यो एक प्रकारले बाल हिंसा नै हो, बालबालिकाको भावनामाथि खेलवाड हो । हामीले उनीहरूसँग सही व्यवहार गर्न सिक्नुपर्छ । त्यस्ता भिडियो खिच्नेलाई सम्झाउनुपर्छ । 



त्यसै गरी, अर्को एक टिकटक भिडियोमा करिब ४/५ वर्षकी बालिकाले आफ्नी आमाले टिकटक चलाइराखेको भनेर कपाल भुत्ल्याएकी छन् । ‘ममी मलाई भोक लाग्यो’ भन्दा ममीले ध्यान नदिएपछि उनले कपाल भुत्ल्याउँदै ‘टिकटकले खान दिन्छ ? टिकटकले लाउन दिन्छ ?’ भन्दै आमालाई खाटबाट भुइँमा लतारेकी छन् । भुइँमा झारेर बालिकाले आमालाई गालैगालामा थप्पड लगाएकी छन् । उक्त भिडियोलाई पनि धेरैले ‘हरेक घरमा यस्तै छोरी जन्मिनुपर्छ’ भनेर प्रशंशा गरेका छन् । 



सरसर्ती हेर्दा यो भिडियो स्क्रिप्टेड पनि देखिन्छ । किनकि आमाले चुपचाप लागेर पिटाइ खाएकी छन् । उनले आफ्नो छोरीसँग कुनै अवरोध जनाएकी छैनन् । त्यहाँ छोरी कति बुझ्ने, आमा कति नबुझ्ने भन्ने देखाउन खोजिएको छ । 
अभिभावक नै मोबाइलमा व्यस्त रहने र बालबालिकालाई समय नदिनु चुनौतीको कुरा हो । यसले बालबालिकाको हुर्काईमा निकै असर गर्छ । तर, अभिभावकले गल्ती गरे सन्तानले पिटेरै तह लगाउने भिडियोको सन्देश सरासर गलत देखिन्छ । सानैमा आमाबुवामाथि हात उठाउन सिकाउनु वा पिटेरै तह लगाउन सिकाएपछि भविष्यमा त्यो बच्चा कस्तो भएर निस्कन्छ ? गलत गर्नेलाई त कुट्ने नै भन्ने सिकेर आएको बच्चा वयस्क भएपछि कस्तो बन्छ ? 
त्यस्तै, केही समय अगाडि गुल्मीका १० वर्षीय सचिन परियार ‘के छ हजुर ? ठिक छ हजुर !’ भन्दै सामाजिक सञ्जालमा छाए । सामाजिक सञ्जाल टिकटकमा उनको मधुर स्वरको निकै चर्चा भयो । अत्यधिक रुचाइएपछि उनी गायक तथा कलाकारका रुपमा स्थापित भए । 

कलाकारका रुपमा चिनिँदै गएपछि उनको पारिवारिक कलहको कुरा निस्कियो । सानो बालकलाई आमासँग बस्ने कि बाबासँग भन्दै युट्युवरहरुबाट केरकार शैलीमा प्रश्न गर्न थालियो । कसैले उसको बाउ नराम्रो भने कसैले आमा नराम्रो भने । तर बालकको नजरमा आमाबुवा दुवै गलत थिएनन् । को सही, को गलत छुट्याउन सक्ने उसको विकास नै भएको थिएन । 

परियारलाई सामाजिक सञ्जालले जति माथि उचाल्यो, त्यसरी नै पछार्यो । आज उनी सामाजिक सञ्जालमा गुमनाम छन् । सानै उमेरमा मानसम्मान र पैसा कमाएका अब उनको संघर्ष कसरी अगाडि बढ्ला ? उनले कसरी सर्भाइभ गर्ने ? प्रश्न यावत छन् । 

यी त केही प्रतिनिधि घटना मात्र हुन् । अहिले सामाजिक सञ्जालमार्फत गलत सन्देश दिने गरी धेरै बालबालिकालाई प्रयोग गरिएको छ । बालबालिकाहरुमाथि हुने यौन हिंसाका विषयमा अध्ययन गर्ने संस्था इक्याप्टका अनुसार ७२ प्रतिशत बालबालिकाहरुको फेसबुक रहेको छ । त्यस्तै, ६१ प्रतिशत बालबालिकाको आफ्नै एकाउन्ट रहेको छ भने बाँकीले आमाबुवाको नामबाट एकाउण्ट बनाएको पाइएको छ  । हाल आएर यो संख्या २० प्रतिशतमा सीमित भएको छ । 

१८ वर्ष भन्दा कम उमेरकाले फेसबुकको एकाउन्ट खोल्न नमिल्ने व्यवस्थाका कारण आमाबाबुको जन्ममितिबाट फेसबुक खोल्ने गरेकाले संख्या घटेको देखिएको छ । तर बालबालिकाहरुमा इन्टरनेटकै माध्यमबाट ठूलो जोखिम बढ्दै गएको छ । 

मानसिक स्वास्थ्यमा असर
सानै उमेरदेखि सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा असर गर्ने बाल मनोचिकित्सक डा. गुञ्जन ध्वजु बताउँछन् । टिकटक वा अन्य कुनैपनि भिडियो बनाएर पोष्ट गरेपछि कमेन्टको भोक हुन्छ । उनी भन्छन्,‘सामाजिक सञ्जालमा सबैले प्रशंसा गर्छन् भन्ने छैन । अत्यन्तै निकृष्ट शब्द पनि प्रयोग भएको हुन्छ ।’ यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई असर गर्ने उनको जिकिर छ । 

उता अभिभावकहरुले भने आफ्नो छोराछोरी सबैले चिन्ने भए भनेर मख्ख परिरहेका छन् । उनीहरुले  नै अकाउण्ट खोलिदिएर बच्चाहरुलाई भुलाइरहेका छन् । तर सामाजिक सञ्जालबाटै बालबालिकाहरु नकारात्मक व्यक्तिहरुको संगतमा पुग्छन् । सामाजिक सञ्जालको दीर्घकालीन असरबारे धेरै अभिभावकहरुले नसोचेको डा. ध्वजुको भनाइ छ ।

त्यसै गरी मनोविद् सनम पौडल अहिलेको पुस्ता आधा मिनेटको भिडियोमा भविष्य खोजिरहेको बताउँछिन् । तीब्र गतिमा परिवर्तन चाहेका छन् । भाइरल भयो भनेर केही क्षणको लागि मान्छे खुसी भएका छन् । पौडेल भन्छिन्, ‘यो सञ्जाल नियन्त्रण गर्न नसकिने अवस्था छ । तर सामाजिक सञ्जालमा आफ्ना छोराछोरीले के हेरिरहेको छन्, के कुरा पोष्ट गरिरहेको छन् भनेर निगरानी राख्नै पर्छ । परिवारको निगरानी विना बालबालिकालाई कुनै साइट चलाउन दिनु हुँदैन ।’

अहिले इन्टरनेटमा मान्छे कसरी मार्नेदेखि हतियार कसरी बनाउने सम्मका भिडियो हेर्न पाइन्छ । त्यसैले अभिभावकले नै दायरा बनाएर सामाजिक सञ्जालको प्रयोग गर्न दिनुपर्ने मनोविद् पौडेलको भनाइ छ । 
सामाजिक सञ्जालमा भुलाउँदा पढाइमा असर

अभिभावकदेखि विद्यालयका शिक्षक समेतले सामाजिक सञ्जालमा बालबालिकाको दुरुपयोग गर्नु निन्दनीय छ । जसले बालबालिकाको निगरानी राख्नुपर्छ, उसैलाई सामाजिक सञ्जालबाट हुन सक्ने हानीको विषयमा ज्ञानको अभाव देखिएको डा. गुञ्जन र मनोविद् पौडेल दुवैको मतक्यता छ । ‘उनीहरु नै भाइरल हुने भोकमा लाग्नुले समाजलाई कता डोर्याउँदै छ भन्ने चुनौती छ ।’ अभिभावक, शिक्षक, टोल छिमेक तथा बालबालिकाको हेरचाहमा आउने जो कोहीलाई इन्टरनेट प्रयोगका विषयमा सचेत गराउन आवश्यक छ । 

शिक्षाविद् डा सुरेशराज शर्माका अनुसार बालबालिकालाई विद्यालयमै सामाजिक सञ्जाल टिकटकमा प्रयोग गर्नु, गराउनु अत्यन्त निन्दनीय कार्य हो । विद्यालयमा टिकटक भिडियो बनाउनेलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । सिकाइसँगै बालबालिकालाई विद्यालयमा अतिरिक्त क्रियाकलाप पनि सिकाउनुपर्छ । तर अतिरिक्त क्रियाकलापमा सामाजिक सञ्जाल नपर्ने उनको जिकिर छ । 

सामाजिक सञ्जालमा भुलाउँदा पढाइमा असर गर्ने बताउँदै शिक्षाविद् डा शर्मा भन्छन्,‘सामाजिक सञ्जालमा भाइरल बनाएर सानै उमेरमा वाह वाही बनाइदिएपछि उसमा पढ्न भन्दा भिडियो बनाउनु राम्रो रैछ भन्ने सन्देश जान्छ ।’ भविष्य उज्ज्वल बनाउन ताते ताते गर्दै गरेका बालबालिकालाई रंगीन दुनियाँसँग घुलमिल गराउन उचित नहुने शर्माको ठम्याइ छ । 

कमेन्ट

  1. June 9, 2022, 7:51 a.m. Bhim Kumar Lingden
    युटुबरलाई कन्टेन्ट खिच्न हतार राताेपाटीलाई युटुबरकाे खेदाे खन्न हतार।मैले नबुझेकाे कुरा !
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।