सङ्गीत

जसले फुक्को चिउरा र पानीमा महिनौँ बिताए, तर सङ्गीत छाडेनन्

person explore access_timeजेठ २५, २०७९ chat_bubble_outline0

भनिन्छ, सङ्गीतमा त्याग, तपस्या, साधना र लगनशीलता अनि धैर्य अपरिहार्य छ, तब मात्र सफल बन्न सकिन्छ । त्यसको एउटा उदाहरण हुन् उनी । उनी अहिले सफल सङ्गीतकारको रूपमा चिनिन्छन् । कमैलाई थाहा होला, यो अवस्थासम्म आउँदा उनले थुप्रै पहाडरुपी दुःख पार गरेका छन् । त्यो संघर्ष त्यतिबेला कठिन भए पनि अहिले सम्झँदा रमाउँछन् उनी । भन्छन् ‘पहिलेका दुःख अहिले सम्झँदा रमाइलो लाग्छ’ । उनी अर्थात् सङ्गीतकार दीपक शर्मा ।


शर्माले सङ्गीत करियरको सुरुवातको समयमा दुःखको धेरै जंघार तरेका छन् । २०६१ मासङ्गीतकार बन्ने सपनाका साथ ३५ सय रुपैयाँ लिएर काठमाडौँ छिरेका उनले करिब ६ वर्षपछि मात्र आफ्नो लागि कोठा लिन सफल भए । त्यो बिचमा उनले केही वर्ष होटलमा भाँडा माझ्दै सङ्गीत सिके । डेढ वर्ष सङ्गीत विद्यालयमा सिक्दै र प्रशासनमा काम गर्दै सोफामै सुतेर बिताए भने त्यतिकै समय साथीहरुको डेरामा ओत लागेर कटाए ।



काठमाडौँ छिरेदेखि नै श्रृतिसङ्गीत विद्यालयमा सङ्गीत सिकेका उनले २०६२/०६३ को जनआन्दोलनमा करिब एक महिना फुक्को चिउरा र पानीको भरमा दिन कटाए । तर सङ्गीतको प्रशिक्षण छाडेनन् ।



‘सङ्गीत भर्खर सिक्दै गरेको मसँग काम थिएन, काम नभएपछि दाम त हुने कुरै भएन । जनआन्दोलनले सबैतिर बन्द भयो । अनि किनेर खान पैसा नि थिएन,’ उनले भने, ‘साथीले पहिले सामान किन्ने गरेको पसलेले उधारो चिउरा मात्र दिन्थ्यो । त्यो पानीसँग खान्थ्यौ ।’ ‘पैसा तिर्नेलाई पसलेले भित्रबाट भनेको सामान दिन्थ्यो । पैसा नहुनेलाई चिउरा दिन्थ्यो,’ शर्माले थपे, ‘प्राण त राख्नु पर्‍यो भनेर चिउरा र पानी खाएर गुजारा गरियो ।’ उनका स्ट्रगलका किस्सा सुन्दा कतिलाई लाग्दो हो, गफ दिन्छ यसले । तर ती दिन सम्झिएर उनी अहिले पनि भावुक हुन्छन् । तर उनी ती दुःखका दिन सम्झिदा अगाडि बढ्न सहज भएको सुनाउँछन् ।

६ वर्षपछि एउटा कोठा

काठमाडौँ छिर्ने जो कोही पहिले केही दिनमा आफ्ना लागि बस्न कोठाको व्यवस्था गर्दछन् । त्यसपछि लक्ष्यको बाटो रोज्छन् । उनले भने पहिलै सङ्गीतको प्रशिक्षण रोजेको कारण आफ्नै कोठाका लागि पनि ६ वर्ष लाग्यो ।

‘दिनभरि हलो जोत्ने मानिसले बेलुका फर्किदा आफ्नो पारिश्रमिक पाउँथ्यो,’ उनले थपे, ‘सङ्गीतमा त्यो हुँदैन । वर्षौँको लगानी, तपस्या चाहिन्छ ।’ त्यसैले आफूलाई कोठाभाडा लिन पनि ६ वर्ष लागेको उनले सुनाए । सफल मानिसका पछाडि उसको स्ट्रगलको कैयौँ श्रृंखला हुन्छ । त्यो पनि उनले राम्ररी बुझेका थिए । त्यसैले उनी संघर्षको दिनमा आत्तिएनन् । उनी सँगैका साथीभाइहरू छोटो समयको अन्तरमा धेरै प्रगति गरे । परिवारले उनलाई सङ्गीत छोड्न र अन्य पेसामा लाग्न दबाब पनि नदिएको होइन ।  उनी भने कसैको कुरा नसुनी स्ट्रगल गरिरहे । सोही कारण पनि उनी अहिले राम्रो सङ्गीतकार भनेर चिनिन सफल भएका छन् ।

‘सङ्गीतमा त्यो भोगाई अपरिहार्य रहेछ । जसले मलाई जीवन्त र भर्साइटल सङ्गीतकार बनायो,’ उनले अगाडि थपे, ‘आफूले दुःखमा आत्मसात् गरेको जिन्दगी अहिले सङ्गीतमा जोड्छु । त्यही सङ्गीत हिट हुन्छ ।’ ती भोगाइले आफ्नो सङ्गीत अझ जीवन्त हुने गरेको उनको बुझाई छ । उनका थुप्रै गीत चर्चित छन् । तर उनी धेरै मिडियामा पनि छाउँदैनन् । किन हो कुन्नि छायामा बस्न रुचाउँछन् । 

त्यसपछि लगातार हिट 

२०४२ भदौमा म्याग्दीमा जन्मिएका शर्मा एसएलसी लगत्तै २०६१ मा सङ्गीतकार, गायक बन्ने सपना बोकेर काठमाडौँ उक्लिएका थिए । सानैदेखिको सङ्गीत प्रतिको लगावले उनलाई काठमाडौँ छिर्न बाध्य बनाएको थियो । उनलाई काठमाडौँ छिर्न हौस्याउनेमा साथीभाइ र आफन्त पनि थिए, जसले गाउँघर र स्कुलमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुति र सङ्गीत प्रतिको लगाव देखेका थिए । गाउँघरमा उनी गीत गाउँथे, मादल बजाउँथे । दसैँ, तिहार, मेला पर्वमा उनको उपस्थिति अनिवार्य हुन्थ्यो । 

काठमाडौँमा श्रृतिसङ्गीत विद्यालयमा २ वर्ष सङ्गीत सिकेपछि उनले साथीभाइहरूसँग मिलेर ‘ढल्के पिपल’ बोलको एक लोकदोहोरी निकाले । पहिलो गाँसमा ढुङ्गा भनेझैँ त्यसले उनलाई सफलता दिलाउन सकेन । तर उनले हिम्मत हारेनन् । सिक्दै, काम गर्दै अगाडि बढे । करिब आधा दर्जन गीतमा काम गरेपछि केही चिनजान समेत बढाएका उनले २०६३ मा ‘तेजाब’, ‘तहल्का’ र ‘धमाका’ फिल्मका लागि केही गीत गर्ने अवसर पाए ।

काम गरेका तीन फिल्ममध्ये ‘तेजाब’ को गीत ‘जहाँ तिमी, त्यही फूलको वर्षा’ ले चर्चा पायो । नवराज थापाको स्वर रहेको गीतमा शब्द, सङ्गीत उनकै थियो । त्यसपछि उनले कामको आइडिया राम्ररी बुझे । फाट्टफुट्ट काम गर्दै गए । २०६४/०६५ ‘सम्झी राख है’ फिल्मको ‘आँधी खोला उर्लिएर टाँडी खेतमा हान्यो’ बोलको गीत समेत हिट भयो । अञ्जु पन्तको स्वर रहेको यो गीतले उनलाई साङ्गीतिक आकाशमा सङ्गीतकारको रूपमा चिनायो । 

त्यसपछि कामको ओइरो लाग्यो, कामको कुनै कमी भएन । त्यसपछि ‘जिन्दगीको सवाल हुन्छ’, ‘मलाई आफ्नो बनाएर दुःखी हुन्छौ भने’, ‘रुँदै हिँड्छौ जहिले पनि’ लगायतका आधुनिक गीत पनि हिट भए । गीत हिट भएपछि राम्रा म्युजिक कम्पनीले समेत पत्याउन थाले । रुँदै हिँड्छौ जहिले पनि गीत लेख्ने उनी बल्ल मुस्कुराएर हाँस्न सक्ने भए । भन्छन्, ‘त्यसपछि मैले यो क्षेत्रमा फर्किएर हेर्नु परेन । सङ्गीतमा स्थापित भएँ ।’

त्यसपछि प्रमोद खरेलको स्वर रहेको ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए’, छविराज प्रोडक्सनको फिल्म ‘हवल्दार सुन्तली’ को गीत ‘तिम्रा डोला डोला हात’, ‘किस्मत २’ को ‘तिम्रो पिक्चर हिट’, ‘छक्का पन्जा’ को ‘देख न चम्पा’ लगायत गीत सङ्गीतकार शर्माको संग्लग्नतामा आयो । 

एवम्क्रमले शर्माको हातमा झन् ठुला र प्रतिष्ठित ब्यानरका काम पर्न थाले । उनले अहिलेसम्म ‘मंगलम्’ फिल्मको ‘पर्ख पर्ख मायालु’, ‘छक्का पन्जा’ सिरिजको ‘पहिलो नम्बरमा’ होस् वा आधुनिक ‘पिरिम नलाउने’, ‘बालखमै दिल बस्यो गौंथली’, ‘जदौ मायामा’, ‘हिजो आजका कुरा’, ‘ए है माया’, ‘फूल फुलेको वन’ लगायत एसके एक गीत हिट भए ।

‘आजसम्म युट्युवको करोड क्लबमा दर्जन बढी गीत छन् । टप टेनमा पनि थुप्रै छ,’ सङ्गीतकार शर्माले  भने, ‘आधुनिक, पप, फिल्मी गरेर अहिलेसम्म हजार बढी गीतमा सङ्गीत भरेको छु ।’ ती मध्य दुई सय गीत आफ्नै सङ्गीतमा रहेको उनले जनाए ।

भर्सटाईल सङ्गीतकार 

लोक, पप, आधुनिक होस् वा फिल्मी सबै गीत सङ्गीतमा छाएका छन् दीपक शर्मा । गजल विधामा समेत माहिर उनी भर्साइटल सङ्गीतकारको रूपमा चिनिन्छन् । गाउँघरमा लोक सङ्गीतसँगै हुर्किएका उनका ७ एल्बम सार्वजनिक भइसकेका छन् । शास्त्रीय, वेस्टर्न सङ्गीत सिकेका उनले दर्शक श्रोताको रुचि भने लोकसङ्गीतमा धेरै रहेको पाएका छन् ।

पछिल्लो समय युवा पुस्ताका रोजाइको सङ्गीतकार बन्न सफल उनले ठाउँ अनुसारका युवाहरूको प्रतिको रुचि फरक पाएका छन् । भन्छन् ‘सहरी युवाले पप, हिपहप बढी सुन्छन्, ग्रामीण भेगकाले लोकगीत ।’ अहिले देशका ७० प्रतिशत श्रोताले लोकगीत सुन्ने उनको बुझाई छ ।

सङ्गीतको सबै विधामा काम गर्न रुचाउने उनी फिल्मी प्याटर्नको सङ्गीतमा आनन्दित हुन्छन् । कारण सुनाए, ‘फिल्मी गीतले कथा बोकेको हुन्छ ।’

अहिलेका हिट गायकहरु राजेश पायल राई, सत्यस्वरुप, अञ्जु पन्तदेखि नयाँ पुस्ताका निशान भट्टराई, एलिना चौलागाईसम्म काम गरिसकेका उनको अग्रज गायक दीप श्रेष्ठसँग काम गर्ने ठुलो इच्छा थियो । त्यो भर्खर पुरा भएको छ । उनीसँग काम गरेको गीत केही दिनमै बजारमा आउने उनले जनाए ।

सङ्गीत सुख दुःखको साथी

‘सङ्गीत सुख दुःखको साथी हो,’ अधिकांशको धारणा यस्तै छ । यो मामिलामा भने अलि भिन्न धारणा छ शर्माको । उनी सङ्गीत मनको अध्यात्म ठान्छन् । धेरैले यसलाई मनोरञ्जनको रूपमा पनि लिन्छन् । सङ्गीतलाई जसरी हेर्यो, त्यसरी बुझ्न सकिने उनी बताउँछन् । 

‘ग्याँस, पानी जस्तो सङ्गीत जीवनको अति आवश्यकता होइन । गीत सङ्गीत नसुने पनि बाँचिन्छ,’ उनी थप्छन्, ‘सङ्गीत बिनाको मानिस निरश भने हुन्छ । सबै पुगेर पनि खुसी छैन भने त्यो के काम ।’ मनको खुसी सङ्गीतमा भेट्न सकिने उनी बताउँछन् । भन्छन्, ‘ जीवनका लागि सङ्गीत आवश्यक छ ।’

पछिल्लो समय सङ्गीतको बजार फराकिलो भएको छ । तर गुणस्तर खस्किएको आरोप लाग्दै आएको छ । यो आरोप शर्मा पनि स्वीकार्छन् । गुणस्तर खस्किनुको पछाडिको कारण हाम्रो सानो बजार र सङ्गीतको ठुलो लगानी हो । अर्को कारण उनी सङ्गीत बुझेर, अध्ययनशील भएर भित्रिनेहरूको कमी देख्छन् ।

‘सङ्गीतमा भित्रिने धेरैमा धैर्य, इमान र लगनशीलताको कमी  छ’ उनले भने ‘एक दुई वर्षमा सबै थोक हुन्छ भन्नु गलत हुन सक्छ ।’ वर्षौँ साधना गर्न नसक्ने, छिट्टै प्रतिफल खोज्ने जमातका कारण सङ्गीतको गुणस्तर खस्किँदै गएको उनको बुझाइ छ ।

‘अन्तर्राष्ट्रिय हिसाबले सङ्गीत उत्पादन गर्ने प्रविधि पनि हामीसँग छैन,’ उनले अगाडि भने, ‘क्षणिक चर्चाका लागि हल्काफुल्का गीत बनाएर सामाजिक, नैतिक मर्यादा नाघिन्छ ।’ गीत बनाउँदै विवादमा ल्याउने हिसाबले बनाउने व्यक्तिले गर्दा साङ्गीतिक बजार बिग्रिएको धारणा राख्ने उनी सङ्गीत सरस्वती भएकोले हल्काफुल्का रूपमा नलिन आग्रह गर्दछन् । 

केही सङ्गीतकर्मीको धारणा छ, सङ्गीतको आम्दानीले केही गर्न पुग्दैन । यो क्षेत्रमा लागेर के गर्ने ? तर शर्मा आफूले सङ्गीतमा नाम, दाम र इज्जत सबै थोक पाएको बताउँछन् । असल र सफल सङ्गीतले मात्र त्यसो गर्न सक्ने उनले बुझेका छन् । त्यसैले पैसाभन्दा पनि मौलिक सङ्गीत सिर्जनामा उनको ध्याउन्न छ ।

नेपाली सङ्गीतलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए बापत उनले फिल्मी खबर डिजिटल फिल्म अवार्ड २०६९, म्युजिक खबर अवार्ड, पाँचौँ राष्ट्रिय राप्ती अवार्ड लगायत थुप्रै पुरस्कार हात पारेका छन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।