शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतका नेपालीले मनाए महारानीको ‘प्लाटिनम जुब्ली’

बुधबार, २५ जेठ २०७९, २० : १६
बुधबार, २५ जेठ २०७९

बेलायतमा बसोवास गर्ने नेपाली समुदायको तर्फबाट पनि बेलायती महारानी एलिजाबेथ द्वितीयाको प्लाटिनम जुब्ली मनाइएको छ । सिर्जनशिल लेष्टर नेपाल यूकेले सोमबार साँझ लेष्टरमा आयोजना गरेको नेपाली शैलीको प्लाटिनम जुब्ली समारोहमा केहि विदेशी पाहुनासहित करीब ६५० जना नेपालीहरुको जमघट भएको थियो ।

महारानीको दीर्घजीवनको कामना गर्दै समारोहमा पन्चे बाजा धुन बजाएर नेपालीपन झल्काइएको थियो । बेलायती महारानीले राज्यरोहण गरेको ७० वर्ष पुगेको अवसरमा गतहप्ता बेलायतभर नै भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसर पारेर नेपाली समुदायले पनि उक्त कार्यक्रमको आयोजना गरेको हो । सिर्जनशील लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, लेष्टर इष्ट क्षेत्रकी बेलायती सांसद क्लडिया वेब, लेस्टरका मेयर जर्ज कोल, एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिम्खडा र युरोप उपसंयोजक दयानिधि सापकोटा, बीबीसी मास्टर सेफ सन्तोष साह, एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेल, रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाट, साझा नेपाली समाज यूकेका कार्यवाहक अध्यक्ष कृष्ण खरेल, सिर्जनशील लेष्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले बेलायतवासी नेपालीहरुको तर्फबाट महारानीको सुस्वास्थ्य एवम दीर्घायूको कामना गर्दै उनले दुई देशबीचको सम्बन्ध पनि आगामी दिनहरुमा अझै बढि सुमधुर रुपमा अघि बढदै आशा व्यक्त गरे । लेष्टर इष्ट क्षेत्रकी बेलायती सांसद क्लडिया वेब, लेस्टरका मेयर जर्ज कोल लगायतका बेलायती अतिथिहरूले महारानीको प्लाटिनम जुब्लीलाई उत्सवका रुपमा मनाउने बेलायतका नेपालीप्रति आभार व्यक्त गरे । साथै अन्य वक्ताहरूले पनि महारानीको सुस्वास्थ्य एवम दीर्घायुको कामना गरेका थिए ।

कार्यक्रमका सभापति एवं आयोजक सिर्जनशील लेस्टर नेपाल यूके अध्यक्ष नारायण फुयाँलले  कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा बेलायतभरबाट उपस्थित नेपाली समुदायका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रमको तयारीको लागि आफूहरुले निकै मिहिनेत गरेको बताउँदै यस कार्यक्रमले बेलायत नेपाल सम्बन्धलाई थप  उचाइमा पुर्याउने र बेलायती समुदायसँग यहाँको नेपाली समुदायको सम्बन्ध थप निकट बन्ने फुयाँलले बताए ।

कार्यक्रममा आधा दर्जन नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । नेपालबाट आएका कालाकारहरु वीरु लामा, कल्पना श्रीपाल, शान्तीरानी परियार, विशाल रायमाझी, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, भूमिका शाह, तुल्सी क्षेत्री लगायतका राष्टिय स्तरका गायक गायिकाले प्रस्तुति गरेका थिए। मोडल रीना थापामगरले नृत्य प्रस्तुत गरेकी थिइन् भने स्थानीय कलाकारहरुले नेपाली गीतमा आकर्षक नृत्य देखाएका थिए ।

महासचिव पुण्डरी अर्यालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिँदै सचिव शिव पराजुलीले सिर्जनशील लेष्टर नेपालको संक्षिप्त परिचय र प्लाटिनम जुब्ली कार्यक्रमको सोचबारे जानकारी गराए । कार्यक्रममा लेष्टर र मिडल्याण्डका पिटरबरो, नटिङहम, बर्मिङहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप