शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

बिहीबार, २६ जेठ २०७९, १२ : ००
बिहीबार, २६ जेठ २०७९

काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो ।  नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए ।

भर्खरै सुरु गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरु गरिएको छ । चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण सुरु गरिएको शिक्षा शाखा प्रमुख गौतमले बताए । दुबै विद्यालयको शिक्षकको तलब भने अहिले नगरले व्यहोरेको छ ।

टोखा नगरको विसं २०७८ चैत २४ गतेको बैठकको निर्णयअनुसार दुई सामुदायिक विद्यालय थप गरिएको हो । दुई विद्यालय थप गरिएसँगै टोखामा सामुदायिक विद्यालयको सङ्ख्या १० पुगेको छ । टोखामा यसअघि आठ सामुदायिक विद्यालय सञ्चालनमा थिए । टोखा–१ मा दुई सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने वडा नं ५ र ९ मा भने हालसम्म पनि सामुदायिक विद्यालय सञ्चालनमा छैनन् ।

वि.सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने निर्णयअनुसार यो शैक्षिक सत्रमा दुई विद्यालय थप गरिएको हो । टोखा नगरका प्रमुख कार्यकारी अधिकृत शङ्करराज पाठकले टोखाका सबै वडामा सामुदायिक विद्यालय निर्माण गर्ने नीति लिइएको बताए । “एक वडा, एक सामुदायिक विद्यालय निर्माण गर्ने नीति नगरले लिएको छ, सोही नीतिअनुसार अब चाँडै नै वडा नं ५ र ९ मा पनि सामुदायिक विद्यालय स्थापना गर्छौँ”, उनले भने । टोखाले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति लिएको उनको भनाइ छ । पछिल्लो समय टोखाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । 

विसं २०७४ मा टोखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या तीन हजार ५०० को हाराहारीमा रहेपनि अहिले उक्त सङ्ख्या बढेर छ हजार नाघेको छ । हरेक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई विशेष अनुदान र नगरले विभिन्न कार्यक्रम अगाडि सारेका कारण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको टोखा जनाइएको छ ।

यसैबीच विद्यार्थी बढ्दै गएपछि टोखामा शिक्षकको अभावसमेत हुन थालेको छ । विद्यार्थीका सङ्ख्या बढ्दै जानु र शिक्षक दरबन्दी कम हुँदा टोखामा शिक्षकको अभाव भएको नगरका शिक्षा शाखा प्रमुख गौतमले बताए । “शिक्षक दरबन्दी कमी हुँदा विद्यार्थीलाई पठनपाठनमासमेत समस्या हुँदै आएको छ, शिक्षक कम हुँदा एउटै कक्षामा ६० जनासम्म विद्यार्थी राखेर पढाउनु परेको छ,” उनले भने ।

टोखामा शिक्षक दरबन्दी कमी भए पनि नगरले आफ्नै स्रोतमा नयाँ ३३ शिक्षक नियुक्त गरेर पठनपाठन गराउँदै आएको छ । नगरबाट थप भएका ३३ शिक्षक पनि अपुग भएको शिक्षा शाखा प्रमुख गौतमले बताए । टोखाले शिक्षक दरबन्दी थप गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

यस्तै, टोखाले विद्यार्थीको सिकाइलाई सहज बनाउन स्थानीय सिकाई केन्द्रमा निःशुल्क इन्टरनेट सेवासमेत प्रदान गरेको छ । टोखाले गतवर्ष कोरोनाको महामारीको चपेटामा परेका बालबालिकालाई सिकाइ सहजताका लागि जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय झोर, झोर महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा इन्टरनेट सेवा प्रदान गरेको हो ।

शैक्षिक क्यालेण्डरअनुसार पठनपाठन गराउँदै आएको टोखामा सामुदायिक विद्यालयका अलावा ८० संस्थागत विद्यालय र तीन वैकल्पिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गर्दै आएको टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क गराउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप