बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रकाशकीय : रातोपाटी दशौँ वर्षमा प्रवेश

शुक्रबार, २७ जेठ २०७९, ०६ : ३३
शुक्रबार, २७ जेठ २०७९

हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले पहिलो पाइला चालेको नौ वर्ष पूरा भइसकेको छ । आजदेखि दोहोरो अङ्कको वर्ष अर्थात् दशौँ वर्षको सुरुवात भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न मानवीय र आर्थिक संकटको चपेटाका कारण हामीले सातौँ र आठौँ वार्षिकोत्सवलाई शब्दमा मात्र सीमित गर्‍यौँ । सिंगो देश र जनताको दुःखमा ऐक्यबद्धता जनायौँ । मुलुक कोभिड–१९ महामारीबाट उठ्दै गरेको तथा नागरिकको जनजीवन सामान्य अवस्थामा फर्किएपछि हामी नयाँ संकल्प र योजनासहित नयाँ अध्यायमा प्रवेश गरेका छौँ ।

पत्रकारिताको इतिहासमा रातोपाटी आफ्नै मानक र शैलीमा हुर्किएको छ । यसबीचमा हामीले अनेक आरोह र अवरोहसँग साक्षात्कार गर्ने मौका पायौँ ।  यात्राको थालनी गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज हामीसँग अनुभव पनि थपिएको छ । त्योभन्दा पनि ठूलो कुरा, हामीले दिनहुँ लाखौँ लाख पाठक र दर्शकको अपार माया पाएका छौँ, शुभचिन्तकहरूको साथ र सहयोग पाएका छौँ । हाम्रो यो विशेष दिनमा, देश विदेशमा रहनुभएका हाम्रा आदरणीय पाठक, विज्ञापनदाता र शुभचिन्तक सबैप्रति हामी हार्दिक आभार आभार प्रकट गर्दछौँ । 

दैनिक घटनाक्रम, राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्त्वका तत्कालीन समाचार, विचार र विश्लेषण मात्र होइन, हामीले जनता र राष्ट्रलाई केन्द्रमा राखेर समाचारको प्राथमिकता तय गर्दै आएका छौँ । हामी समाचार दैनिक अभिलेखको विषय मात्र होइन, समाजलाई सकारात्मक दिशा निर्देशन गर्ने काम पनि हो भन्नेमा विश्वास गर्छौँ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानका पक्षमा दृढताको साथ उभिएका छौँ र उभिन्छौँ । नागरिकका राजनीतिक र संवैधानिक अधिकारमाथि कतैबाट दागा धरिन्छ भने हामी खुलेरै प्रतिवादमा उत्रिन्छौँ । जनतामा निहित सार्वभौमसत्ता, संविधानको सर्वाेच्चता, स्वतन्त्र न्यायपालिका, सुशासन, नागरिक र मौलिक अधिकार, लोकतन्त्र र समानुपातिक समावेशिता जस्ता मुद्दाप्रति हाम्रो ऐक्यबद्धता रहन्छ । यिनै मुद्दा लिएर सहरदेखि गाउँसम्म हामी सजीव रिपोर्टिङ गर्छौँ ।

कानुनी राज्य, विधिको शासन, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको आधारभूत मानव अधिकारको संरक्षणमा सदैव हाम्रो चासो रहन्छ । न्यायपूर्ण, विभेदरहित, सबल र समृद्ध नेपालको निर्माणमा सहयोगी भूमिकामा उभिन्छौँ । सङ्घीयता कार्यान्वयन, प्रदेश र स्थानीय तहका सरकारहरूको सबलीकरणका साथै उच्च आर्थिक विकासतिर मुलुक अग्रसर होस् भन्ने सदिच्छा राख्छौँ ।
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्नेतर्फ राज्यको भूमिका अभिवृद्धि होस् भनेर त्यस्ता नीतिगत विषयमा बहस चलाउँछौँ । मजदुर, किसान लगायत सीमान्तकृत समुदायका नागरिकका सरोकार हाम्रो प्राथमिकतामा परेका छन् । जनताको जीवन स्तर सुधार्न राज्यलाई घचघच्याइरहन्छौँ ।

राष्ट्रिय हित प्रतिकूलका गतिविधि र निर्णयमाथि लगातार निगरानी र खबरदारी गर्छौं । जाति, भाषा, धर्म र संस्कृतिका आधारमा गरिने सबै प्रकारका भेदभाव अन्त्य हुनुपर्छ भन्ने मान्यताअनुसारका विषयवस्तु पस्कन्छौँ । सबै समुदायको भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदाको संरक्षण र सम्वर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्छाैँ ।

पत्रकारिताका आधारभूत मूल्य, मान्यता र नागरिकप्रतिको आफ्नो दायित्वबाट हामी कहिल्यै विमुख र विचलित हुँदैनौँ, हर मूल्यमा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा खडा हुन्छौँ र विश्वसनीय खबर पस्कन्छौँ ।
हामीसँग निर्भीक पत्रकारिताको विरासत छ । त्यसैले अगाडिको सम्भावित कठिनपूर्ण यात्राका लागि पनि हामी तयारी अवस्थामा छौँ । भौतिक पूर्वाधार र आन्तरिक प्रणाली चुस्त बनाउछौँ । प्राविधिकरुपमा पाठकमैत्री हुन्छौँ । डिजिटल संस्करणमा नयाँ नयाँ प्रयोग गर्नेर्छौँ । 

समग्रमा भन्दा रातोपाटी डटकम सबैको हो भन्ने कुरा आजको दिनसम्म आइपुग्दा जगजाहेर भइसकेको छ । रातोपाटी डटकमलाई सबैभन्दा राम्रो अनलाइन न्युज पोर्टल बनाउने हाम्रो सङ्कल्प छ । सचेत पाठक, विद्वान् लेखक, भरपर्दा समाचार स्रोत, उदारमना विज्ञापनदाता र शुभेच्छुकहरूको साथ, सहयोग र स्नेहले हाम्रो यो चुनौतीपूर्ण सङ्कल्प साकार हुनेमा हामी विश्वस्त छौँ ।

विजया शर्मा 
अध्यक्ष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप