वैदिक कथा : नदीहरूका मातृभाव

person explore access_timeजेठ २७, २०७९ chat_bubble_outline0

वैदिक सनातन संस्कृतिले नदी तथा समुद्रका विशेष महत्व दिएको छ । यसले उनीहरूलाई पवित्र तीर्थस्थल मात्र मानेको छैन प्रत्यक्ष देवता मानेर पूजा तथा उपासना गर्दै आएको पनि छ । उता नदी तथा समुद्रहरूले पनि आधारभूत आवश्यकता पूरा गरी प्रत्यक्ष देवताकै भूमिका निर्वाह गर्दै आएका छन् । रामायणका अनुसार भगवान् रामले समुद्रको उपासना गरी लङ्का जाने बाटो मागेका थिए । त्यतिबेला समुद्रले पनि उनको माग पूरा गर्न कत्ति सङ्कोच मानेको थिएन ।


त्यस्तै भागवतका अनुसार कृष्णलाई काँधमा बोकेर हिँडेका वासुदेवले गोकुल जाने बाटो माग्दा यमुना नदीले बाटो उपलब्ध गराई सहयोग गरेकी थिइन् भने गोपिनीहरूले दुर्वासा आश्रममा गएर आउन बाटो माग्दा पनि त्यस्तै गरेकी थिइन् । यी केही उदाहरण हुन् । यस्ता प्रशङ्ग पौराणिक ग्रन्थहरूमा प्रशस्तै भेटिन्छन् । भाइबहिनीहरूका जानकारीका लागि यहाँ यस्तै एउटा अद्भूत कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ चकित पर्नेछौ ।  



धेरै पहिलेको कुरा हो । एकदिन महर्षि विश्वामित्र सुदास राजाका यज्ञबाट फर्कने क्रममा विपासा (व्यास) र शतद्रु (शतलज) नदीको सङ्गममा पुगे । नदी ठूलो थियो तर्ने साधन थिएन । एक्लै भएका भए त सायद अर्कै उपाय पनि गर्थे होलान् साथमा केही शिष्य र धनसम्पत्ति लादिएको गाडा पनि थियो । त्यसैले नदीहरूसँग बाटो माग्नु नै उपयुक्त ठान्दै भने– 
‘हे विपाशे ! हे शतद्रु ! तिमीहरू आमाजस्तै छौ । आमाले जस्तै हाम्रो भरणपोषण गर्दै आएका छौ । तिमीहरूको शरणमा आएको छु । आफ्नै सन्तान ठानी पारीसम्म पुग्ने बाटो दिएर सहयोग गर्नेछौ भन्ने आशा गरेको छु ।’ 



विश्वामित्रका आग्रह सुनेपछि नदीहरू सोच्न लागे– 
‘यी महर्षि के भनिरहेका छन् । कहाँबाट आएका हुन् कता जान खोज्दै छन् । निकै थाकेका जस्ता पनि छन् । सहयोग त गर्नैपर्ने हो तर अलिकति मात्र चुक भयो भने पनि अनर्थ हुनेछ । निरन्तर बगेर दुनियाँलाई सेचन गर्नुपर्ने देवराज इन्द्रको आदेश छ । बाटो दिन थाल्दा बेग रोकिएर सेवा खण्डित हुन सक्छ । इन्द्रले के भन्लान्, दुनियाँले के भन्ने हुन् ।’ 

नदीहरू सोचमग्न भएको देखेर महर्षि विश्वामित्रले भने–
‘माते ! मलाई सुन्नुभएन ? भोक पनि लागिसकेको छ, थकाइ पनि छ । मेरो भन्दा पनि शिष्यहरूको बढी चिन्ता छ । हो, मलाई थाहा छ तिमीहरूमा बेग रोकेर कसरी सेवा खण्डित गर्ने भन्ने चिन्ता छ तर म यसो भनिएको छैन कि सबै बेग रोकेर बाटो खाली गरिदेऊ । अलिकति मात्र वेग कम गरिदियौ भने पनि पारी पुग्न सक्नेछौँ । फेरि पाइलो अघि बढ्नासाथ त्यस स्थानमा बेग बढाएर जस्ताको तस्तै बन्न सकिहाल्छौ ।’

त्यसपछि नदीहरूले मौन रहन सकेनन् र महर्षिलाई हेर्दै भने–
‘महर्षीजी ! तपाईँको भावना बुझ्छौँ तर कर्तव्य च्युत हुनुहुँदैन भन्नेमा पनि सचेत छौँ । हामी देवराज इन्द्रको आदेशमा बाँधिएका छौँ । उनले हामीलाई पर्वत भेदन गरी जीवन दान दिएका मात्र छैनन् माइतीघर समुद्रसम्म पुग्ने अवसरसमेत दिएका छन् । यस्तो अवस्थामा हामी न उनको गुन बिर्सन सक्छौँ न आदेश उल्लङ्घन गर्न नै ।’ 

‘यसमा पूरै जानकार छु माते !’ महर्षि विश्वामित्रले थप तर्क गर्दै भने–
‘हामी न देवराज इन्द्रको अपमान होस् भन्ने चाहन्छौँ न तिमीहरूमा कर्तव्यच्युतको दोष लागोस् भन्ने चाहन्छौँ । देवराज इन्द्र पनि सर्वहितैषी नै हुन् । उनी आफैँ पनि यस कुरामा बेखुस होलान् जस्तो लाग्दैन । आश्रमवासी ऋषिमुनिहरूको आग्रहमा ८०० भन्दा बढी नगर सभ्यता ध्वस्त गर्न त पछि परेका थिएनन् भने यति सामान्य कुरामा के नै भन्लान् र । त्यसैले आशा छ हाम्रो अप्ठ्यारोलाई मनन गरिदिनेछौ ।’

‘महर्षीजी ! तपाईँको कुरा पनि ठीकै हो ।’ उनीहरूले लामो सास फेर्दै भने–
‘हामीलाई देवराज इन्द्रको दुनियाँलाई भरणपोषण गर्ने आदेश छ र सोही अनुसार गर्दै आएका छौँ । सबैको हित र समुन्नतिमा समर्पित हुने हाम्रो धर्म पनि हो कर्म पनि हो । दुनियाँले जति नै दूषित गराउने काम गरेका भए पनि हामीले आफ्नो धर्म छाडेका छैनौँ भने तपार्ईँलाई सहयोग नगर्ने भन्ने कुरै भएन तर पहिले यो त प्रष्ट पार्नुस् कि कहाँबाट आउँदै हुनुहुन्छ, कता जाने विचारमा हुनुहुन्छ ।’  

‘अति उत्तम ।’ विश्वामित्रले खुसी हुँदै भने–
‘सहयोग त गर्नुपर्छ तर पहिले त्यसको पनि उद्देश्य प्रष्ट हुनुपर्छ । को के गर्दैछ र किन जाँदैछ भन्ने थाहा नपाई सहयोग गर्नु भनेको दैवी नियमको विरुद्ध हो । यस्तो काम सामान्य मानिसलाई त सुहाउँदैन भने तपाईहरूजस्ता दैवी नियमको पक्षपोषण गर्ने शक्तिलाई सोच्न पनि नसकिने कुरा हो । पाञ्चाल नरेश दिवोदासका नाति पिजवनका छोरा सुदास राजाका पुरोहित हुँ । उनको दरवारबाट विशेष यज्ञ सम्पन्न गरेर आउँदैछु । उनले दिएका सुनचाँदी र असर्फीको भारी बोकेर आश्रमतर्फ जाँदैछु ।’  

त्यसपछि नदीहरूमा मातृवात्सल्यभाव जागेर आयो । सुरूमा अनकनाएको भए पनि अब त्यस्तो गर्न उपयुक्त ठानेनन् र बाटो दिने विचार गर्दै भने– ‘ठीकै छ, माताको सम्बोधन गरिसक्नुभएको छ भने मातृभावबाट विमुख हुन मातृधर्मले दिँदैन । देवराज इन्द्रले के भन्लान् पछिको कुरा । जे भन्लान्, भन्लान्, अहिलेलाई यति भन्न सक्छौँ तपाईँहरू निर्वाधरुपमा पारी जान सक्नुहुन्छ ।’ यति भनेर उनीहरूले विश्वामित्रलाई पारी जाने बाटो दिए । विश्वामित्र उनीहरूलाई धन्यवाद दिँदै आश्रम  हिँडे । 

ऋग्वेद मण्डल तीन सूक्त ३३ का मन्त्रमा आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर नदीहरूले आमाले जस्तै हाम्रो भरणपोषण गर्दै आएका छन् भन्ने कुरा भने सत्य हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।