शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इच्छाशक्ति भए के हुँदैन ? दुर्गमको एक सरकारी विद्यालयको दृष्टान्त

शुक्रबार, २७ जेठ २०७९, १६ : १७
शुक्रबार, २७ जेठ २०७९


दुर्गम हिमाली भेगकाको सरकारी विद्यालयको बारेमा सोच्दा झट्ट दिमागमा के आउँछ ? पाठ्यपुस्तकको अभाव, शिक्षक अभाव वा कमजोर पूर्वाधार र न्यून गुणस्तर शिक्षा । तर सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बुमा रहेको एउटा सरकारी विद्यालयको यथार्थ भने धेरै नेपालीको सरकारी विद्यालयबारे रहेको सोचभन्दा बिलकुल फरक छ ।

शिक्षाले जनचेतना बढाउने र मानिसलाई जीवन लक्ष्य पहिचान गर्न सघाउने भएकाले विश्वभर शिक्षालाई ठूलो महत्व दिइन्छ । तर नेपालका शिक्षालयहरु त्यसमा पनि विशेष सरकारी विद्यालयहरू भने असफल कथाका रुपमा दर्ज छन् । यसमा सरकारी विद्यालयले दिने कमजोर गुणस्तर मुख्य कारण हो ।

तर आधुनिक यातायात, सञ्चार र अन्य सहरी सुविधा नभएको हिमालयको काखमा रहेको सिन्धुपाल्चोकको हेलम्बु–१, मेलम्ची ग्याङस्थित विद्यालयको कथा फरक छ ।
हेलम्बु–१ को श्री मेलम्ची ग्याङ माध्यामिक विद्यालयले देशभरबाट आउने सयौं विद्यार्थीलाई निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो विद्यालयले दिने स्तरको पठनपाठनको लागि अन्यत्रका निजी विद्यालयले मँहगो शुल्क असुल्छन् ।

सरकारी विद्यालय भए पनि यहाँको पठनपाठनको माध्यम भाषा अंग्रेजी हो । विद्यालयको छात्र, छात्राका लागि छुट्टाछुट्टै छात्रवास व्यवस्था गरिएको छ । होस्टलमा देशका विभिन्न स्थानबाट गुणस्तरीय शिक्षाका लागि इच्छुक २४८ विद्यार्थी छन् । होस्टलमा बस्नेहरुले कुनै पैसा तिर्नुपर्दैन । खानाको लागि मात्र न्यूनतम शुल्क तिरे पुग्छ । 

‘प्रत्येक विद्यार्थीले बिहान, दिउँसो र रातीको खानाका लागि दैनिक एक सय रुपैयाँ मात्रै तिर्छन् ,’ विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर गौतमले भने । सरकारी विद्यालय भए पनि यहाँ पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशालाको राम्रो व्यवस्था छ । यी सबै सुविधा विद्यार्थीले निःशुल्क प्रयोग गर्न पाउँछन् । विद्यालय मूलतः दाताहरू, विशेष गरी विदेशीहरूको आर्थिक सहयोगबाट सञ्चालित छ । आफ्नो छवि र कार्यशैलीका कारण विद्यालयले केही अन्तर्राष्ट्रिय दाताहरुको विश्वास जित्न सफल भएको छ ।

दाताले दिने आर्थिक सहयोगबाट नै विद्यालयले गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, शिक्षकहरूलाई तलब दिने काम गरिरहेको छ । विद्यालयलाई अहिले कम्युनिटी एक्सन नेपाल (क्यान), केटा–केटी, छिरिङ फण्ड र ह्योल्मो–कनेक्टलगायत संस्थाले सहयोग गरिरहेका छन् ।

हाल विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी पठनपाठन गर्छन् । अहिले नयाँ शैक्षिक सत्र सुरु भएकाले नयाँ विद्यार्थी भर्ना चलिरहेको र नयाँ सत्र सुरु भएको केही सातामै विद्यालयले सयभन्दा बढी नयाँ विद्यार्थीलाई स्वागत गरेको प्रिन्सिपल गौतमले बताए ।

‘पूर्वमा कञ्चनजङ्घा क्षेत्रदेखि पश्चिममा कैलाली र दक्षिणमा धनुषासम्मका विद्यार्थी विद्यालयमा अध्ययन गर्छन्,’ गौतमले भने ।
प्रधानाध्यापकसहित १७ जना शिक्षकलाई छात्रावास वार्डन, अनुशासन इन्चार्जलगायत विभिन्न जिम्मेवारी दिइएको छ । विद्यालयको सरसफाइको काम विद्यार्थी आफैले गर्छन् । उनीहरूलाई आफ्नै कक्षाकोठा, विद्यालय परिसर र शौचालयसमेत सफा गर्ने जिम्मा दिइएको छ ।

विद्यालयले स्थापना कालदेखि नै पहिले एसएलसी र अहिले एसईईमा जिल्लाकै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । २०६३ सालमा विद्यालय अंग्रेजी माध्यममा एसएलसी दिने जिल्लाकै पहिलो सरकारी विद्यालय बनेको थियो ।
भर्खरै सम्पन्न एसईई परीक्षामा सहभागी २४ परीक्षार्थीमध्ये १२ जनाले ए प्लस, १३ जना ए र दुई जनाले बी प्लस नतिजा ल्याएका छन् । त्यसै गरी २०७६ सालको एसइईमा २४ विद्यार्थी सहभागी थिए र तीमध्ये १० जनाले ए प्लस, ९ जनाले ए र पाँच जनाले बी प्लस नतिजा हासिल गरेका थिए ।

त्यस अघिको वर्ष (२०७५) मा २४ विद्यार्थी नै एसईईमा सहभागी भएकोमा १० जनाले ए प्लस, ११ जनाले ए र ३ जनाले बी प्लस ल्याएका थिए । एसईईमा यो स्तरको नतिजा धेरै सरकारी विद्यालयका लागि सपना हुन सक्छ । तर, श्री मेलम्ची ग्याङ माविले लामो समयदेखि उदाहरणीय नतिजा हासिल गरिरहेको छ ।

विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका अतिरिक्त यस क्षेत्रको आर्थिक अवस्था उकास्न र वातावरण संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । यसका साथै विद्यालयले गाउँबाट तरकारी तथा अन्य खाद्यवस्तु किन्ने र स्थानीय उत्पादनको बजार उपलब्ध गराएको गौतमले बताए ।

‘विद्यालय लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा रहेकाले हामीले जनचेतनामुलक र्याली आयोजना गर्छौँ । वातावरण संरक्षणमा स्थानीयलाई प्रोत्साहन गर्छौँ र वन फँडानीलाई निरुत्साहित गर्छौँ, ।  सरसफाइ र वन संरक्षण विद्यालयको प्रमुख प्राथमिकता हो,’ प्रध्यानाध्यापक गौतमले भने ।

विद्यालयले समुन्द्री सतहबाट करिब ३ हजार मिटरको उचाइमा रहेको मेलम्ची ग्याङ मन्दिरलाई पहिचान दिएको छ । साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । यो विद्यालयको चर्चा सुनेर पनि कैंयौ स्वदेशी तथा विदेशी पर्यटक गाउँ घुम्न आउने गरेका छन् ।

विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूले देशभित्र र बाहिर सफल जीवनआर्जन गरिरहेका छन् । केही विद्यार्थी भने आफूले पढेकै सोही विद्यालयमा शिक्षण पेसामा समेत संलग्न छन् ।
‘दुर्गम स्थानमा भएर पनि श्री मेलम्ची ग्याङ मावि जिल्लाकै उत्कृष्ट विद्यालय हो । जुन कुरा उसले लामो समयदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याएर प्रमाणित गर्दै आएको छ,’ सिन्धुपाल्चोकका जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीले भने ।

‘श्री मेलम्ची ग्याङ माध्यामिक विद्यालय र प्रधानाध्यापक गौतमले यस क्षेत्रका मात्र नभई देशभरका विद्यार्थीलाई निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ सुवेदीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुङ्गा ह्योल्मो
कुङ्गा ह्योल्मो
लेखकबाट थप