मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जस्टिन बीबरलाई आखिर कस्तो रोग लागेको हो ? कारण के, के हुन् लक्षण ?

आइतबार, २९ जेठ २०७९, १० : ०८
आइतबार, २९ जेठ २०७९

पप गायक जस्टिन बीबरले आफ्नो अनुहारमा पक्षाघात भएका कारण यस हप्ता आफ्नो शो रद्द गर्नुपरेको खुलासा गरेका छन् ।

२८ वर्षीय गायकले एक इन्स्टाग्राम भिडियोमा ‘रामसे हन्ट सिन्ड्रोम’ का कारण आफ्नो यो अवस्था भएको पनि जानकारी दिए ।

उनले भने, ‘तपाईले देख्न सक्नुभएजस्तै म एउटा आँखा झिम्काउन सकिरहेको छैन । मेरो अनुहारको एक छेउ पूरै पक्षाघात भएकाले म मुस्कुराउन पनि सक्दिनँ ।’

विज्ञहरू भन्छन्, ‘रामसे हन्ट सिन्ड्रोम’ सिंगल्ज (एक प्रकारको छालाको रोग) को प्रकोपले कान नजिकैको अनुहारको नसालाई असर गर्दा यस्तो हुने गर्छ ।’

यस हप्ताको सुरुमा, बीबरको जस्टिस वर्ल्ड टुरमा तीन कार्यक्रमहरू स्थगित गर्ने घोषणा गरिएको थियो।

जस्टिन बीबरले के भने ?

जस्टिन बीबरले तीन मिनेटको भिडियोमा आफ्नो अनुहारको दाहिने हिस्सा देखाउँदै भने, ‘यो भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ र मेरो अनुहार पक्षाघात भएको छ,’

उनले आफ्ना फ्यानहरुलाई धैर्य गर्न आग्रह गरेका छन् । आफ्नो आगामी शोको बारे कुरा गर्दै आफू ‘शारीरिक रूपमा शो गर्न सक्षम नभएको’ बताएका छन् ।

उनले भने, ‘यो धेरै गम्भीर छ, तपाईंले देख्न सक्नुहुन्छ । काश, यस्तो नभएको भए, मेरो शरीरले मलाई केही समय कुर्नु पर्छ भनेर भनिरहेको छ । तपाईंहरुले मेरो अवस्था बुझ्नुहुन्छ होला भन्ने मलाई आशा छ । म यो समयलाई आराम गर्नका लागि खर्चिनेछु र शत प्रतिशत ऊर्जाका साथ फिर्ता हुनेछु र आफू जे गर्नका लागि जन्मिएको हुँ, पुनः गर्न सकूँ ।’

जस्टिनले यस हप्ताको सुरुमा वाशिङ्गटन र टोरन्टोमा शो गर्ने तयारीमा थिए । यसबाहेक लस एन्जलस र न्युयोर्कमा पनि उनको शो आयोजना हुने थियो ।

यो रोग के हो ?

अमेरिकाको मेयो क्लिनिकका अनुसार ‘रामसे हन्ट सिन्ड्रोम’ ले अनुहारलाई पक्षाघात गर्ने र कहिलेकाहीँ कानमा पनि असर गर्छ, जसले सुन्न सक्ने क्षमतामा पनि असर गर्छ । मेयो क्लिनिकले रामसे हन्ट सिन्ड्रोमका लक्षणहरू धेरैजसो मानिसहरूमा अस्थायी हुने बताएपनि  केहीमा स्थायी हुनसक्ने जानकारी दिएको छ ।

मेयो क्लिनिकले यस सिन्ड्रोमबाट पीडित कतिपयले आफ्नो आँखा झिम्काउन नसक्ने बताएको छ । धेरैजसो अवस्थामा यो समस्याले गर्दा आँखाको ज्योति धमिलो हुने गरेको छ । यसले आँखा दुख्ने समस्या पनि निम्त्याउन सक्छ । यो ६० वर्षभन्दा माथिका मानिसमा हुने सम्भावना बढी हुन्छ ।

यसअघि मार्चमा जस्टिन बीबरकी श्रीमती हेली बिबरको मस्तिष्कमा रगत जमेको कारण अस्पताल भर्ना गरिएको थियो । तर, पछि उनलाई मस्तिष्कघात भएको र मुटुमा भएको प्वाललाई निको पार्नका लागि शल्यक्रिया गरिएको भनिएको थियो ।

मेयो क्लिनिकका अनुसार, रामसे हन्ट सिन्ड्रोम चिकनपक्स (ठेउला) गराउने भाइरसका कारण हुने गर्छ । ठेउला निको भएपछि पनि यसको भाइरस लामो समयसम्म स्नायुमा रहन्छ । यो वर्षौं पछि पनि सक्रिय हुन सक्छ । र यदि यो सक्रिय भयो भने यसले तपाईंको अनुहारको स्नायुहरूमा पनि प्रभाव पार्न सक्छ ।

लक्षण

रामसे हन्ट सिन्ड्रोमका मुख्य दुई लक्षण हुन्(

१. कान भित्र र वरपर पिपले भरिएको दाना जस्तो दाग बन्नु । यो दुख्ने खालको हुन्छ ।

२. अनुहारको मांसपेशीहरु कमजोर हुनु वा वा कुनै हिस्सा पक्षाघात हुनु

कहिलेकाहीँ तपाईंलाई पक्षाघात र दुबै एकसाथ हुनसक्छ ।

अन्य केही लक्षण

– कानमा दुखाइ

– सुन्न समस्या

– कान बज्नु

– एउटा आँखा बन्द गर्न गाह्रो

– चक्कर लागिरहेको महसुस गर्दै

– सबैकुरा बेस्वादको (खल्लो) लाग्नु

– मुख र आँखामा मोइस्चरको कमी

कहिले चिकित्सकलाई भेट्ने ?

अनुहारमा पक्षाघात भएको वा त्यस्तो दाग देख्ने बित्तिकै तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् । यदि पहिलो तीन दिन भित्र उपचार प्राप्त भयो भने, यसको दीर्घकालीन प्रभावबाट मुक्त हुन सकिन्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप