शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४००० वर्ष अघि मृत्यु भएकी महिला यस्ती थिइन्, वैज्ञानिकले गरे दाबी

बिहीबार, ०२ असार २०७९, १३ : ५६
बिहीबार, ०२ असार २०७९

वैज्ञानिकले उत्तरी चेक गणराज्यको एक प्राचिन समाधि स्थलबाट महिलाको कंकाल भेटेका थिए, जुन करिब ४००० वर्ष पुरानो थियो । सुन्दर, कालो कपाल भएकी यी महिलाको अनुहारलाई अब रिकन्स्ट्रक्ट गरिएको छ । यी महिला ब्रोन्ज–एज बोहेमियाकी सबैभन्दा धनी महिलामध्ये एक भएको हुनसक्ने बताइएको छ ।

उनका हड्डीहरु फेला परेको समाधि स्थलको रेडियोकार्बन डेटिङमार्फत् ती महिला १८८०–१७५० ईसा पूर्वको बीचको अवधिमा जिवित थिइन् ।

यो समाधिस्थल उत्तरी चेक गणतन्त्रको मिकुलोविस गाउँ नजिकै छ । यो क्षेत्र र वरपरका क्षेत्रलाई बोहेमिया भनेर चिनिन्छ । समाधिस्थलमा रहेका २७ चिहानहरु लगभग ९०० एम्बर वस्तुहरु (वहुमूल्य पत्थर)सहित कलाकृतिको उल्लेखनीय खजाना साबित भएका छन् । महिलाका ४० प्रतिशतभन्दा बढी चिहानमा एम्बर पाइएका थिए ।

तिनै मध्ये एकजना महिलाको खोपडी निकै राम्रोसँग संरक्षित अवस्थामा भेटिएको छ । अनुसन्धाताले ती महिला ब्रान्ज–एज बोहेमिया समयकी एक धनाढ्य महिलाको रुपमा प्रस्तुत गरेको छ ।

ती महिलालाई पाँचवटा काँसका ब्रासलेट, दुईवटा सुनको झुम्का र चारसयभन्दा बढी एम्बर मोतीका तीनवटा हारसहित गाडिएको थियो । उनीसँगै तीनवटा काँसको सियो पनि राखिएको थियो । उनी युनेटाइस संस्कृतिकी हिस्सा थिइन् । यी संस्कृतिसँग सम्बन्धित मानिसहरु प्रारम्भिक कास्य युगमा मध्य युरोपमा बस्दथे । उनीहरु आफ्नो धातु कलाका लागि परिचित थिए । ती कलामा बञ्चरो, चुरा र धातुलाई मोडेर बनाइएका हार समावेश हुन्थे ।

चेक रिपब्लिकको एकेडेमी अफ साइन्सेजकमा पुरातत्व संस्थानका पुरातत्वविद् माइकल एर्नीले ती महिला को थिइन् भन्ने बारे केही थाहा नभएको बताएकी छिन् । उनका अनुसार उनी असाध्यै धनी थिइन् भन्ने कुरा चाहिँ स्पष्ट छ ।

सबैभन्दा संरक्षित अवशेष यिनै महिलाको थियोः

समाधिस्थलमा पाइएका कंकालका अवशेषमध्ये, एम्बर लगाएकी यी महिलाको खप्पर सबैभन्दा राम्रो तरिकाले संरक्षित थियो । त्यसैले यसलाई रिकन्स्ट्रक्ट गरियो । यतिमात्रै होइन, हड्डी यति राम्रोसँग संरक्षित थियो कि त्यसमा महिलाको डिएनए पनि भेटयो । यसमार्फत् अनुसन्धानकर्ताले महिलाको आँखा र कपाल गहिरो खैरो रङको भएको र उनी गोरी थिइन् भन्ने कुरा पत्ता लगाउन सफल भए ।

ब्रनोमा मोरावियन म्युजियमकी मानव विज्ञानी ईवा वेनिकोवा तथा मूर्तिकार ओन्ड्रेज बिलेकले मिलेर यी महिलाको टाउकोको मोडल बनाए । एम्बर हार र सुनका झुम्कालाई रिकन्स्ट्रक्ट गरियो । काँसका बाला र सियोलाई पनि पुनः बनाइयो र कपडा पनि त्यति नै बेलाको बनाइयो ।

चिहानमा भेटिएकी अर्की महिलाको हड्डीबाट पनि डिएनए पाइएको छ । त्यसैले अनुसन्धानकर्ताले त्यहाँ गाडिएका मानिसबीच एक–आपसमा कुनै सम्बन्ध छ कि छैन भनेर पत्ता लगाउने कोसिस गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप