बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वसँग के अपेक्षा लिएर काठमाडौं आएका छन् एमालेका जनप्रतिनिधि ? (भिडियोसहित)

बिहीबार, ०२ असार २०७९, १७ : ३७
बिहीबार, ०२ असार २०७९

नेकपा एमालेले बिहीबार र शुक्रबारका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणको आयोजना गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट एमालेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ । 

विशेष गरेर पार्टीबाट टिकट पाएर प्रतिनिधि भइसकेपछि जनताका काम गर्दैगर्दा पार्टीको घोषणा पत्र र जनताका आवश्यकता पूरा गर्नुपर्ने हुन्छ। त्यसका लागि पार्टीको प्रशिक्षण निकै महत्त्वपूर्ण हुने प्रतिनिधिहरूको अपेक्षा रहेको छ । 
दैलेखको आठबिस गाउँपालिकाकी उपप्रमुख कल्पना थापाले पार्टीले आयोजना गरेको प्रशिक्षण अर्थपूर्ण रहेको बताइन् ।

‘संघीयतापछिको स्थानीय सरकारमा हामी दोस्रो कार्यकालमा छौं । पहिलो कार्यकालमा जनता र प्रतिनिधिका बीचमा ठूलो खाडल देखियो । त्यसले पछिल्लो निर्वाचनमा पछि प्रत्यक्ष असर पुग्यो’, उनले रातोपाटीसँग भनिन्, ‘त्यसैले यसबारेमा नेतृत्वले केही बोल्ला भन्ने अपेक्षा छ । हामी पार्टीबाट टिकट पाएर जनताका प्रतिनिधि भएका छौं र हामीलाई पार्टीले लगाम लगाएर काममा खटाउनु पर्छ। यस विषयमा पनि यो प्रशिक्षण अर्थपूर्ण हुने छ।’ उनले जनप्रतिनिधिका रुपमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा पनि पार्टीले सहजीकरण गर्ने अपेक्षा लिइन् । 

यस्तै धादिङको गल्छी गाउँपालिकाका प्रमुख केदार खतिवडाले पार्टीकै टिकटबाट प्रतिनिधि भएकाले पार्टीले देश र जनताका लागि काम गर्न सहयोग गर्ने अपेक्षा लिए । ‘हाम्रो अपेक्षा भनेको पार्टीले देशका लागि जे गरिरहेको छ त्यसको निरन्तरता नै हो’, उनले भने, ‘हामी पार्टीकै टिकटबाट प्रतिनिधि भएकाले हरदम देश र जनताका लागि काम गर्न पार्टीले सहयोग गरोस्। संविधानमा रहेर जनप्रतिनिधिलाई काम गर्न प्रेरित गर्नुपर्‍यो।’

पार्टीको नीति, निर्देशन र सिद्धान्त अनुसार नै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँछन्, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बु । यो दुई दिने प्रशिक्षणमा पार्टीले देशको समृद्धि र जनताको समस्या समाधानका लागि ल्याएका प्रतिवद्धता तथा घोषणापत्र कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । 

यस्तै सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव भने नीति निर्देशन भन्दा पनि पार्टीले आफ्नो क्षेत्रमा विकास निर्माणदेखि जनताका समस्या समाधानका लागि सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।  
यसैगरी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले भने आफूहरु पार्टीको इमानदार सिपाही रहेकाले पार्टीको निर्देशन अनुरुप काम गर्ने बताइन् । ‘हामी पार्टीका इमान्दार सिपाही हौँ, जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि हामीले पार्टीको निर्देशनमा रहेर काम गर्नुपर्छ’, अर्यालले भनिन्, ‘जनताको हितमा रहेर काम गर्न पार्टीले सहजीकरण गर्नेछ भन्ने मेरो बुझाइ छ।’

यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले नीति निर्देशनको विषयमात्र नभएर युवा र विकासका कुरा पनि नेतृत्वसँग राख्ने अवसर पाइन्छ कि भन्ने आशा लिएको बताइन् । 

भिडियो रिपोर्ट हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप