बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कैलालीका किसानको गुनासो : बर्खा आयो, मल आएन

बिहीबार, ०२ असार २०७९, १८ : २७
बिहीबार, ०२ असार २०७९

धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘धान रोप्दा  डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर अहिले सम्म मल पाइएको छैन, बेर्ना तयार भइसक्यो ।’ 

आफ्नो जमिन पानी जम्ने होचो स्थानमा रहेको बताउँदै उनले वर्षा सुरु हुनअघि नै रोपाई गरिनसके पछि खेत बाँझै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘वर्षा सुरु भएपछि खेतमा पानीको ताल बनिहाल्छ,’ उनले भने, ‘अहिलेसम्म खेत रोपिसक्नु पर्ने हो, मलको प्रतीक्षा गर्दागर्दै ढिलो भइसक्यो, वर्षा भएपछि खेत बाँझै राख्नुपर्ने स्थिति हुन्छ ।’ एक कट्टा मल नपाउँदा धान रोप्न ढिलो भएको उनी बताउँछन् ।

धनगढी–७ का रामदाश रानाले मल पाए तत्कालै रोपाई सुरु गर्ने योजना रहेको सुनाए ।  ‘एक, दुई दिनमा वर्षा सुरु भइहाल्छ,’ उनले भने, ‘सिँचाइको सुविधा नहुँदा वर्षाको भरमै खेत रोप्नु पर्ने हुन्छ, तर यस वर्ष मल पाइएको छैन, मल पाए तत्कालै रोपाई सुरु गर्ने थिएँ ।’ कृषि क्षेत्रमा सरकारले ठूलो लगानी गरेको सुनिए पनि मल समेत दिन नसकेको उनको गुनासो छ । अरू लगानी किसान आफैले गर्न सक्ने भन्दै उनले गुणस्तरीय मल उपलब्ध गराएर किसानलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘बरु कृषिमा अरू लगानी गर्नु पर्दैन,’ उनले भने, ‘समयमै गुणस्तरीय मल उपलब्ध गराएको खण्डमा हामीलाई ठूलो राहत हुने थियो ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले एक सातामा रासायनिक मल भित्रिन सक्ने बताए । साल्ट ट्रेडिङ कर्पोरेसनको कोटामा परेको मल एक सातामा कैलाली आउँछ होला,’ उनले भने, ‘सो मल सोझै सहकारीमा वितरण हुने छ, त्यसले केही राहत पुग्नेछ ।’ एक हप्तामा पछि भित्रिने मल पर्याप्त भने नरहेको उनले बताए । ‘हामीले कैलाली, कञ्चनपुरका सहकारी संस्थालाई मल वितरण गर्दै आएका छौं,’ उनले भने अहिले मलको माग उच्च छ, तर त्यस अनुसार मल पुग्ने देखिँदैन ।’

उता रासायनिक मल बिक्री तथा वितरण गर्ने प्रमुख निकाय कृषि सामग्री केन्द्र लिमिटेडले भने मल कहिले आउँछ भन्ने यकिन समेत नभएको जनाएको छ । दुई साता पहिला थोरै मल भित्रिएको थियो,’ कृषि सामाग्री केन्द्र लिमिटेड धनगढीका स्टोरकिपर रुपबहादुर कुँवरले भने, ‘त्यो मल वितरण भइसकेको छ, अव कहिले आउँछ कुनै जानकारी छैन ।’ कैलाली लगायत सुदूरपश्चिममा धान रोपाइँका लागि मात्रै २८ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने गर्दछ । 

मलसँगै कैलालीमा सिँचाइको पनि ठुलो समस्या रहेको छ । कैलालीमा आधाभन्दा बढी जमिनमा वर्षाको पानीको भरमा रोपाई हुने गर्दछ । कैलालीमा बोरिङ सिँचाइको प्रमुख साधन हो भने, केही स्थानमा नहर तथा कैलालीको पूर्विक्षेत्रका किसान कर्णाली नदीको पानीबाट सिँचाइ गर्दै आएका छन् ।  तर गत कार्तिकमा आएको बाढीका कारण कुलो बगाउँदा यस पटक भने टिकापुर क्षेत्रका किसानलाई समेत समस्या हुने देखिएको छ । कार्तिकमा भत्केको सिँचाइ कुला मर्मत गर्न स्थानीय तहले चासो नदेखाएपछि अहिले आफ्नै लागतमा कैलालीका ५ सय किसान मिलेर कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । रानी कुलाको मुहानमार्फत टिकापुर क्षेत्रमा करिब ७ सय हेक्टर जमिन सिँचाइ हुन्छ । कैलालीको ७१ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप