शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एसपीपीले हलचल–राजेन्द्र क्षेत्रीको पत्र सार्वजनिक, नेपालमा मंकीपक्स

बिहीबार, ०२ असार २०७९, २१ : १४
बिहीबार, ०२ असार २०७९

आज मिति २०७९ साल जेठ महिनाको २ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. एसपीपीले हलचल

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको सार्वजनिक भएको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षिरत सो पत्र सन् २०१५ अगस्ट २७ मा पठाएको उल्लेख छ ।

यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा।भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए । नेता रावलले नेपालले स्टेट पार्टनरसीप प्रोग्राम सम्झौता गरेमा शक्ति राष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।

​२. एसपीपीबारे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । 

​३. नेपालमा मंकीपक्स

नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ ।  मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ ।

​४. हेरोइन बरामद

काठमाडौंलाई ट्रान्जिट बनाएर भारत लान खोजिएको ५१ किलो हेरोइन प्रहरीले एक साता लामो अपरेशन चलाएर बरामद गर्न सफल भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ ।

​५. जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

नेकपा एमालेले बिहीबार र शुक्रबारका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणको आयोजना गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट एमालेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

विशेष गरेर पार्टीबाट टिकट पाएर प्रतिनिधि भइसकेपछि जनताका काम गर्दैगर्दा पार्टीको घोषणा पत्र र जनताका आवश्यकता पूरा गर्नुपर्ने हुन्छ। त्यसका लागि पार्टीको प्रशिक्षण निकै महत्त्वपूर्ण हुने प्रतिनिधिहरूको अपेक्षा रहेको छ ।

​६. विनियोजन विधेयक २०७९ बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका बीच विनियोजन विधेयक २०७९ पारित भएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।   त्यसअघि विनियोजन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि एमाले सांसद गोकर्ण विष्टले समय मागेर एमालेको धारणा राखेका थिए । उनले अर्थमन्त्रीले बाहिरी ब्यक्ति मन्त्रालय लगेर करका दरमा हेरफेर गरेको आरोप लगाउँदै एमालेले मन्त्री शर्माको राजीनामा मागिरहेको बताए ।

​७. पेट्रोलको मूल्य बढेर आयो

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

अर्थका अन्य समाचार

​८. राजनीतिमा रवि

टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।

एक भिडियो क्लिपमार्फत लामिछानेले आजदेखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् ।

​९. मर्जरमा सहमति

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्नगाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

​१०. यो पनि...

इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन् । थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवाल सोमबार मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका गरिएको छ ।

​विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने,  असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।

​नेकपा (क्रान्तिकारी माओवादी)ले स्थानीय निर्वाचनबारे समीक्षा गरिएको छ । विहीबार बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले गठबन्धन सरकारले साम, दाम, दण्डभेदको नीतिको प्रयोग निर्वाचन गराएको निष्कर्ष निकालेको हो ।

​सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।

​काठमाडौंमा हैजाको बिरामी भेटिएको पुष्टि भएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज हैजाको बिरामी उपचारका लागि पुगेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । काठमाडौ मोडेल अस्पतालले ती बिरामीमा एन्टिजेन पोजेटिभ देखिएपछि रिफर गरी शुक्रराज अस्पतालमा पठाएको हो ।

​नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाहले खेलाडीहरुलाई क्याम्प छोड्न बाध्य पारेको बताएका छन् । एएफसी एसियन कप छनोट खेल खेलेर नेपाल फर्केका कप्तान नवयुगले पत्रकारहरुसँग कुरा गर्दै त्यो समयमा आफूपनि क्याम्पमा नै भएका कारण खेलाडीलाई प्रशिक्षकले नै क्याम्प छोड्न बाध्य बनाएको बताए ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप