शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकै सबैभन्दा सानो, पाकेटमा बोक्न मिल्ने शौचालय

शुक्रबार, ०३ असार २०७९, १० : ४३
शुक्रबार, ०३ असार २०७९


जापानको नागोयामा रहेको स्टार्टअप कोकेनवा इंकले ‘पकेट टोइलेट’ उत्पादन गरेको छ । यसलाई विश्वको सबैभन्दा सानो, बोक्न मिल्ने शौचालय भनिएको छ ।

तपाईंलाई दिसा पिसाब लागेपछि तपार्ईं जुनसुकै अवस्थामा त्यसलाई बिसर्जन गर्न बाध्य हुनुहुनेछ । राम्रो शौचालयले हाम्रो दैनिक क्रियाकलापलाई सकारात्मक बनाउन निकै हदसम्म काम गर्छ । यो बिना हामीले आफ्नो जीवन कल्पना पनि गर्न सक्दैनौँ ।

युद्धग्रस्त क्षेत्रहरू र प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा सबैभन्दा बढी खोजिने भनेको शौचालयहरू नै हुन् । तर त्यस्ता स्थानमा स्वच्छ शौचालयका खासै विकल्पहरु उपलब्ध हुँदैनन् । खासमा भन्ने हो भने पकेट टोइलेट भन्ने उत्पादन पनि उपलब्ध छ । यसको विशेषता के छ भने यो ७ सेन्टिमिटर अग्लो र ६.५ सेन्टिमिटर चौडा हुन्छ जुन कुनै पनि पाकेट वा पर्समा अट्न सक्छ ।

कोकेनावा इंकका संस्थापक ३० वर्षीय योशिनोरी कोकेनावाले पकेट टोइलेटको अवधारणा सन् २०१९ मा विकसित गरेका हुन् । त्यतिबेला उनले नागानो सहरमा हागिबिस नामको आँधीले क्षती पुर्याउँदा स्वयंसेवककाे रुपमा काम गरेका थिए । परम्परागत बोक्न मिल्ने शौचालयको अगाडि लामो लाइन बसेका मानिसहरुलाई देखेपछि उनलाई यस्तो सोच आएको थियो ।

‘मानिसहरु आफ्नो क्षेत्रलाई पुरानै स्थितिमा फर्काउनका लागि सकेसम्म छिटो काम गरिरहेका थिए तर प्रत्येक पटक शौचालय जानुपर्दा भने उनीहरु आधा घण्टासम्म लाइनमा बस्नुपर्दथ्यो,’ कोकेनावाले स्मरण गरे । ‘यसका लागि मलाई केही गर्न मन थियो ।’

सन् २०२० को डिसेम्बरमा कोकेनावाको कम्पनीले पकेट टोयलेट लञ्च गर्यो । यो एउटा यस्तो शौचालय थियो जसलाई कुनै पनि स्थानमा निकै सजिलै प्रयोगमा ल्याउन सकिन्छ । यो शौचलयमा एउटा झोला हुन्छ जुन विशेष र टिकाउ फाइबरले बनेको हुन्छ र यसमा  कोगुलेन्टको प्याकेट हुन्छ । उक्त झोलालाई टोइलेटको सिट वा डस्टबिनमा पनि टाँस्न सकिन्छ । कम्पनीले आफ्नो परीक्षणमा उक्त ब्यागको प्रयोगपश्चात् पनि कुनै गन्ध नआएको फेला पारेको छ । कम्पनीले परीक्षण गर्दा ब्यागभित्र दिसा राखेर कोठाभित्र राखेको थियो । कम्पनीको दाबी अनुसार त्यसबाट हप्ता दिनसम्म कुनै गन्ध आएन ।

‘यो महिलाको मेकअप ब्यागमा पनि अट्छ, त्यसैले यसलाई धेरै मानिसहरुले आफूसँगै निकै सजिलै बोक्न सक्ने हामीले अनुमान गरेका छौँ,’ कोकेनावाले भने । उनका अनुसार उनको कम्पनीले हालसम्म ५० हजार पकेट टोइलेट बिक्रि गरिसकेको र ६ हजारभन्दा बढी युद्धग्रस्त युक्रेनमा पठाएको छ ।

अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप