मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाठ्यपुस्तकमा सधैँको कचकच : विद्यार्थीले किन पाएनन् समयमा किताब ?

छपाइमा वर्षेनी ढिलासुस्ती
शुक्रबार, ०३ असार २०७९, १८ : २३
शुक्रबार, ०३ असार २०७९

डडेल्धुराको गौडेश्वर मावि बेलापुरमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको एक महिना पुरा भएको छ । तर, विद्यार्थीहरूको हातमा अहिलेसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक दानबहादुर बोहराका अनुसार ५० जना भन्दा बढी विद्यार्थी रहेको कक्षा ७ मा जम्मा २५ सेट पुस्तक पुगेको छ । ४५ जना विद्यार्थी रहेको कक्षा ६ का विद्यार्थीहरूले अहिलेसम्म नयाँ किताब कस्तो छ, देख्न पाएका छैनन् ।

कक्षा ६ का विद्यार्थीहरू यस अघिका पुराना किताब पढिरहेका छन् । तर, त्यो पनि प्रयाप्त छैन । कक्षा ५ मा पनि त्यस्तै छ । विद्यार्थीहरू पढ्न जान थालेको एक महिना पुरा भयो तर, किताब पाएका छैनन् । पुरानै विद्यार्थीहरूबाट मागेर काम चलाउनुपरेको प्रधानाध्यापक बोहराको भनाइ छ ।

यो वर्ष कक्षा ४, ७ र ९ को यो वर्ष पाठ्यक्रम परिवर्तन भएको छ । त्यो किताब पनि आइपुगेको छैन । पाठ्यक्रम परिवर्तन भएपछि पुराना विद्यार्थीहरूबाट मागेर पनि काम चलाउन सकिने अवस्था नरहेको बोहराको भनाइ छ ।​ गौडेश्वर माविमा बुडरस्थित जोशी पुस्तकालयले पुस्तक पठाउँछ । तर, धनगढीबाट पर्याप्त मात्रामा किताब नआउँदा विद्यालयहरूमा आवश्यकताअनुसार पठाउन नसकिएको जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले थुप्रै विद्यालयमा पाठ्यपुस्तक पठाउन नसकिएको बताए । धनगढीबाट आवश्यकताअनुसार पाठ्यपुस्तक नआउँदा वितरणमा ढिलाई भइरहेको उनको भनाई छ । असारसम्ममा सम्पूर्ण विद्यार्थीको हात हातमा किताब पुगिसक्ने उनको दाबी छ ।

डडेल्धुरामा मात्र होइन, डोटीमा समेत पाठ्यपुस्तकको अभाव उस्तै छ । कतिपय विद्यालयले एउटा पनि किताब पाउन सकिरहेका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ डोटीका प्रमुख रामदत्त भट्टले पाठ्यक्रम परिवर्तन भएका कक्षा ४,७ र ९ को पाठ्यपुस्तक पाउन निकै समस्या भएको बताए ।

‘अरु कक्षामा पुराना किताब दिएर पनि काम चलाइरहेका छौं । पाठ्यक्रम परिवर्तन भएका कक्षामा पठनपाठन समस्या भयो भन्ने गुनासो आइरहेको छ । पालिकासँग समन्वय गरेर जतिसक्दो चाँडो किताब उपलब्ध गराउन लागिरहेका छौं,’ प्रमुख भट्टले भने ।

शैक्षिक सत्र सुरू भएको एक महिना वितिसक्दा पनि अधिकांश जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । हिमाली जिल्लाहरुमा त विद्यार्थीहरुले नयाँ किताब कस्तो हुन्छ भनेर अनुभव समेत गर्न पाएका छैनन् । उता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७७ वटै जिल्लामा कक्षा ४ देखि कक्षा १० सम्मका किताब छापेर स्थानीय बिक्रेतामार्फत् बिक्री वितरण भइरहेको जनाएको छ ।

यसरी शैक्षिक सत्र सुरु भएको १५ दिन भित्रमा वितरण गरिसक्नुपर्ने किताब अहिलेसम्म पनि पुग्न नसक्नुमा सरकार दोषी रहेको बताउँछन्, अभिभावक संघका अध्यक्ष केशव पुरी । पाठ्यपुस्तकको अभावबारे संसद्मा कुरा उठेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी गराएका थिए । उनले स्थानीय तह निर्वाचनका कारण पुस्तक छपाइमा ढिलाई भएको बताएका थिए । तर, अभिभावक संघका अध्यक्ष पुरीले भने निर्वाचन अघि के गरेर बसेको भन्दै प्रश्न गरे ।

‘सरकारको यति गैरजिम्मेवार तर्क आउँछ भन्ने मैले सोचेको पनि थिइनँ । चुनावको मिति त धेरै पहिला नै तोकिएको थियो । त्यो बीचमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड के गरेर बस्यो ।’ उनले प्रश्न गरे ।

पुस्तकको सवालमा अहिले मात्र नभएर हरेक वर्ष केही न केही बहाना बनाएर पन्छिने गरेको पुरीको भनाइ छ ।  कर्मचारीबीच हुने कमिसन, मेसिनरी औजार, कागज, मसी खरिददेखि कर्मचारी भर्ती, छपाई र वितरणसम्म कमिसनको खेल हुने गरेको उनको भनाई छ । रकम, समय सबै हुँदा हुँदै पनि हरेक वर्ष किन यस्तो समस्या आउँछ, यसबारे छानविन हुनुपर्ने पुरीले जिकिर गरे ।  

त्यसो त जनक शिक्षाको सुधार र विद्यार्थीको हातमा समयमा पुस्तक वितरणका लागि सरकारले एक समिति गठन गरेको थियो । पूर्व शिक्षासचिव जयराम गिरीको नेतृत्वमा गठन गरिएको समितिले सुधारको लागि सरकारलाई प्रतिवेदन दिएको थियो । तर, त्यो प्रतिवेदन कार्यान्वयन नगरेर सरकारले पुरानै प्रवृत्ति दोहोर्‍याइरहेको पुरीको आरोप छ ।

समयमै पुस्तक नछापेर अन्तिममा इमर्जेन्सीमा पुस्तक छाप्दा कर्मचारीले मनोमानी खर्च गर्न पाउने उनको भनाई छ । अन्तिम समयमा आएर किताब छाप्दा कसैले पनि हिसाब खोज्दैनन् । उनीहरुको मनपरी चल्छ । त्यसैले समय हुँदा तलब पकाएर बस्छन् । अनि अन्तिममा आएर किताब छाप्नतिर लाग्छन् । अध्यक्ष पुरीको आरोप छ । 

निजी कम्पनीले पनि छापिरहेका पुस्तक समयमै विद्यार्थीको हातमा पुगिरहेको भन्दै उनले भने, ‘सरकारी कम्पनीले मात्र छाप्न किन ढिलाई गर्छ ? यो गम्भीर प्रश्न हो ।’

९० प्रतिशत पाठ्यपुस्तक पुगिसक्यो : जनक शिक्षा सामग्री केन्द्र

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले ९० प्रतिशत क्षेत्रमा पाठ्यपुस्तक पुगिसकेको बताएका छन् । असार १५ भित्रमा सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्ने उनको दाबी छ । ‘हाम्रो डिपोहरूबाट सबै किताब बिक्री भइसकेका छन् । कतिपय ठाउँमा बाटोमा होला । कतिपय ठाउँमा बिक्री वितरण भइरहेको छ । असार १५ भित्रमा ९९ प्रतिशत किताब वितरण भइसक्छ ।’ प्रबन्ध निर्देशक झाले भने । 

पाठ्यपुस्तक ढिलो पुग्नुको पछाडि विविध कारण रहेको उनको भनाई छ । ‘हामीलाई सबैभन्दा प्रमुख समस्या भनेको किताब छाप्न कागजको अभाव भयो । विश्वव्यापी रूपमा कागजको अभाव भएपछि त्यसको असर हामीलाई पनि पर्यो ।’ झाले भने ।

त्यस्तै स्थानीय तह निर्वाचनका कारणले पनि केही दिन ढिलाइ भएको उनको भनाई छ । प्रबन्ध निर्देशक झाले भने, ‘छपाइमा त खासै समस्या परेन । तर, कर्मचारी चुनावमा खटिँदा वितरणमा ढिलाई भयो । हामीले पठाएका पुस्तक पनि बिक्रेताले समयमै विद्यालयमा पठाउन नसकेको देखियो ।’

त्यस्तै कोरोना महामारीका कारण तीन महिनासम्म प्रेस पूर्ण रूपमा बन्द हुँदा छपाइको काम प्रभावित भएको उनको भनाई छ । दसैंपछि नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छाप्ने उनले जनाए । विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका–२०६७ ले हरेक वर्षको कात्तिक महिनाभित्रै कुल छापिनुपर्ने पाठ्यपुस्तक संख्याको ५० प्रतिशत र बाँकी ५० प्रतिशत माघ मसान्तभित्र मुद्रण गरी सम्बन्धित क्षेत्रीय कार्यालयमा पुर्याई सक्नुपर्ने व्यवस्था गरेको छ । तर, असारमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन ।

यसरी शैक्षिक सत्र सुरु भएको एक महिना वितिसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेपछि प्रतिनिधिसभामा कतिपय सांसदहरूले जनक शिक्षा सामग्री केन्द्र नै खारेजी गर्नुपर्ने माग पनि उठाए ।

साउनमै पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइ सामग्री (पीआरसी) जनकलाई बुझाई सक्नुपर्छ । सोही आधारमा जनकले पाठ्यपुस्तक छाप्ने प्रक्रिया अगाडि बढाउँछ ।

विद्यालयको पाठ्यपुस्तक पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका–२०६७ ले भर्ना भएका विद्यार्थीलाई नयाँ शैक्षिक सत्र शुरु भएको १५ दिनभित्र नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने प्रावधान छ । २०२८ मा नयाँ शिक्षा योजना लागू भएदेखि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ । तर, हरेक वर्ष यसरी नै विद्यार्थीले पुस्तकको अभावै अभावमा झेल्नुपर्ने बाध्यता हटेको छैन ।

२०७० सालमा संसद्मा सत्तारुढ काँग्रेसका सभासद् गगनकुमार थापाले ‘हरेक वर्ष विद्यार्थीले पुस्तक नपाएको, पुस्तकको कृत्रिम अभाव सिर्जना गरेको, जनक शिक्षाले समयमै पुस्तक नछापेको’ भन्ने विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । 

उता केन्द्रले हरेक वर्ष शैक्षिक सत्र सुरू हुनुभन्दा १५ दिन अगाडिबाट नै पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षाका एमडी झा बताउँछन् । ‘यो वर्ष पनि जेठको पहिलो साताबाट शैक्षिक सत्र सुरू भएको थियो । केन्द्रबाट त्यो भन्दा अगाडि नै पाठ्यपुस्तक वितरण थालिएको थियो ।’ एमडी झाले भने ।

केन्द्रबाट पठाइ सकिएका पुस्तकहरू अहिले बिक्रेताकहाँ रोकिएको हुन सक्ने उनको भनाई छ । त्यहाँबाट सम्बन्धित विद्यालयमा पुग्न केही दिन लाग्ने उनले जनाए । सामान्यतया तराईका जिल्लामा केन्द्रका डिपोबाट लगिएका पुस्तक तीन दिन भित्रमा विद्यालयमा पुगिसक्छ । पहाडी जिल्लामा एक सातासम्म लाग्ने गरेको प्रबन्ध निर्देशक झाको भनाई छ ।

हरेक वर्ष पाठ्यक्रम परिवर्तन हुँदा वर्षेनी १० देखि १५ लाख पाठ्यपुस्तक खेर गइरहेको छ । ‘पाठ्यक्रम परिवर्तन नभएका किताब त अर्को वर्ष बिक्री हुन्छ । तर, करिकुलम चेन्ज भयो भने त्यो फाल्नुपर्ने अवस्था आउँछ ।’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप