बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एसपीपीमा ओली रक्षात्मक, अमेरिकालाई पत्र पठाउन संसदीय समितिको निर्देशन

शुक्रबार, ०३ असार २०७९, २१ : ५५
शुक्रबार, ०३ असार २०७९

आज मिति २०७९ साल असार महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. एसपीपीमा ओली रक्षात्मक

आफ्नै नेतृत्वमा सरकार रहँदा अमेरिकालाई स्टेट प्रोगाम पार्टरसीप(एसपीपी) का लागि पत्र पठाएको खुलासा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली रक्षात्मक बनेका छन् ।

नेपाली सेनाले २७ अक्टोबर २०१५ मा अमेरिकालाई लेखेको पत्रको वरिपरि रहेर सडकदेखि संसदसम्म बहस र चर्चा भइरहेका छन् । एसपीपीसँग सम्बन्धित सार्वजनिक पत्रको मितिअनुसार ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेलामा प्रक्रिया अघि बढेको देखिन्छ । जतिबेला उनी रक्षामन्त्रीको जिम्मेवारीमा समेत थिए ।  यो कुरामा सरकार, सत्तारुढ राजनीतिक दलका नेता, नेपालस्थित दूतावास र नेपाली सेना समेत सहमत भएपनि ओली भने अरुलाई नै दोष दिएर चोखिने प्रयासमा लागेका छन् । हाल प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका ओलीले शुक्रबार काठमाडौमा भएको एक कार्यक्रममा एसपीपी प्रकरणमा आफ्नो संलग्नताबारे प्रष्टीकरण दिने प्रयास गरे । तर उनको प्रस्टीकरणले चोखिनुको साटो बरु उनकै कमजोरी छताछुल्ल भएको छ।


२. संसदीय समितिको निर्देशन

संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले एसपीपी अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य खुलेकाले उक्त कार्यक्रममा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । शुक्रबार सरोकारवालासँगको छलफलपछि समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

​३. युवती प्रयोग गरेर अपराध

फेसबुकमा युवती मार्फत साथी बनाएर तत्काल फोन नम्बर लिने र भेट्न बोलाउने । अनि, भेटेपछि जिस्क्याएको र दुव्र्यवहार गरेको आरोप लगाएर पैसाको बार्गेनिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । युवती प्रयोग गरेर संगठित रुपमा ‘हनी ट्रयाप’को धन्दा चलाउने ६ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

​अपराधका थप समाचार

४. ओली भेट्न दुई मन्त्री बालकोटमा

गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् । गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ ।

५. समितिले देउवालाई बोलायो

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।

​एसपीपीबारे समितिको छलफलका थप समाचार

​६. एमाले जनप्रतिनिधिको प्रशिक्षण सकियो

नेकपा एमालेले बिहीबार र शुक्रबारका पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट एमालेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विशेष गरेर पार्टीबाट टिकट पाएर प्रतिनिधि भइसकेपछि जनताका काम गर्दैगर्दा पार्टीको घोषणा पत्र र जनताका आवश्यकता पूरा गर्नुपर्ने र त्यसका लागि पार्टीको प्रशिक्षण निकै महत्वपूर्ण भएको प्रतिनिधिहरूले बताएका छन् ।

७. सेयर बजार

क्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो ।  ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, यस बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टाका लागि मात्र बजार खुलेको थियो ।

थप आर्थिक समाचार

८. एसपीपीबारे बामदेवको खुलासा

राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको बताएका हुन् ।

​९. निहारिकाको अनसन तोडियो

न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी  सोनाली कुमारी सिंह निहारिका र सरकारका बीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिहरूसँग सहमति भएपछि महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।

​१०. र, यो पनि

मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

​नेपालमा पछिल्लो २० घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

​प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा  आकस्मिक अवतरण भएको छ ।

हेलिकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

​दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको देखिएको जानकारी रातोपाटीलाई दिए ।

​नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराएको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनायो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप