शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बालबालिकालाई दिइने फाइजर खोप ९१ प्रतिशत प्रभावकारी’

कस्ता बालबालिकाले खोप लगाउन हुँदैन ?
शनिबार, ०४ असार २०७९, ०६ : ०१
शनिबार, ०४ असार २०७९

काठमाडौं । जनस्वास्थ्यविद्हरुले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुका लागि उपलब्ध खोप निर्धक्क भएर लगाउन आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कुनै प्रकारको आशंका नराखी ढुक्क भएर फाइजर बायोएनटेक खोप अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

बालबालिकाहरूले लगाउने उक्त खोप ९१ प्रतिशत प्रभावकारी भएको अध्ययनहरूले देखाएको उनको भनाइ छ । परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले पहिलो चरणमा तोकिएका २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म र दोस्रो चरणमा बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन गरिने बताए । यस अवधिमा ३९ लाख बालबालिकालाई खोप दिने लक्ष्य छ ।

कोरोनाविरुद्धको खोप प्रदेश १ मा झापा, इलाम, सुनसरी, मोरङ गरी चार जिल्लामा र मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्लामा खोप अभियान सञ्चालन हुने छ ।

यसैगरी, बागमती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी सात जिल्लामा र गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्लामा सञ्चालन हुने छ । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्लामा खोप अभियान सञ्चालन हुने छन् ।

कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लामा खोप दिइने भएको छ । सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप दिइने भएको छ ।  

फाइजर बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ भने नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएकाले ढुक्क भएर लगाउन परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले आग्रह गरे ।

कस्तो हो फाइजर बोयएनटेक खोप ?

जनस्वास्थ्य अधिकृत महासेठका अनुसार, बालबालिकालाई दिइने फाइजर बायोएनटेक खोप झोलको रुपमा भायलमा उपलब्ध हुन्छ । यो खोपको झोलको रङ सामान्य अवस्थामा सेतो वा हल्का धमिलो सेतो हुन्छ । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप झोलको रुपमा उपलब्ध भएता पनि यो खोप लगाउनुभन्दा पहिला घोल्नुपर्ने महासेठले बताए ।

फाइजर बायोएनटेक खोपको घोलक ०.९ प्रतिशत सोडियम क्लोराइड हुन्छ । यस्तै, खोपसँगै घोलक उपलब्ध गराइएको हुन्छ । यस खोपलाई टोजीनामेरान, कोमिरन्याटी नामबाट चिनिने गरिन्छ । ५ देखि १२ वर्षमूनिका बालबालिकाहरूलाई दिन मिल्ने खोप अन्य उमेर समूहका व्यक्तिलाई दिन नमिल्ने परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत महासेठ बताउँछन् ।

बालबालिकालाई दिइने फाइजर बायोएनटेक खोपको भायलको प्लाष्टिकको बिर्को सुन्ताला रङको हुन्छ । एउटा भायल घोल्नका लागि १.३ एमएल घोलक जरुरी हुने उनले बताए । यस्तै, खोप घोलेपछि एक भायलमा १० मात्रा हुन्छ ।

कस्ता बालबालिकाले खोप लगाउन हुँदैन ?

कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप ५ वर्षभन्दा कम र १२ वर्ष वा सो भन्दा बढी उमेर समूहका व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेपछि कुनै पनि गम्भीर प्रकारको एलर्जी देखिएको खण्डमा दोस्रो मात्रा खोप लगाउन हुँदैन ।

इम्युनोग्बुनि÷मानोक्लोनल एन्टिबडी÷कन्भलेसेन्ट प्लाज्मा उपचार भएका व्यक्तिले यो खोप लगाउन नहुने परिवार कल्याण महाशाखाका निर्देशक डा. लाल बताउँछन् । यद्यपि यस प्रकारको उपचार लिएको ९० दिनपछि खोप लगाउन मिल्ने उनको भनाइ छ ।

यस्तै, कोभिड–१९ सङ्क्रमित भएको अवस्थामा फाइजर बायोएनटेक खोप लगाउन नहुने चिकित्सकहरू बताउँछन् । सङ्क्रमण निको भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्ने डा. लालले बताए ।

कुनै गम्भीर प्रकारको बिरामी भएको खण्डमा अर्थात् उच्च ज्वरो आएको खण्डमा पनि यो खोप लगाउन हुँदैन । निको भइसकेपछि भने यो खोप लगाउन हुने विज्ञको भनाइ छ ।

खोप लगाएपछि हुनसक्ने असर

कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप अन्य कोभिड खोपजस्तै एकदमै सुरक्षित रहेको महाशाखाका निर्देशक डा. लाल बताउँछन् । कोरोनाविरुद्धको खोप लगाएका १० जनामध्ये सरदर १ जनामा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वरो आउने हुन्छ ।

यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १०० जनामध्ये १ जनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुन्छ । एक हजार जनाले खोप लगाउँदा १ जनामा कम मात्रामा लिम्फएडेनोनोप्याथी, शरीर चिलाउने, बिमिरा आउने, डाबर आउने, आलस्य महसुस हुने, सुई लगाएको ठाउँमा चिलाउने हुन सक्छ । १० लाख जनाले खोप लगाउँदा सरदर एक जनामा एनाफाइलेक्सिस् हुने बताइएको छ ।

५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप विद्यालयले तयार पारेको कक्षागत सूची अर्थात् नामावलीका आधारमा लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ । यस्तै, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा पनि खोप दिइनेछ ।

निर्देशक डा. लालका अनुसार विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको लागि उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वघोषणा गरेको उमेरका आधारमा खोप दिइने उनले बताए । यस्तै, बालबालिकालाई दोस्रो मात्रा खोप भने पहिलो मात्रा लिएको खोप कार्डका आधार दिइनेछ । यस्तै, खोप अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरूमा र अन्य तोकिएका बाह्य खोप केन्द्रहरू पनि खोप दिइने परिवारकल्याण महाशाखाले जनाएको छ ।

बालबालिकालाई खोप दिइने खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी राखिने शाखाले जनाएको छ । यस्तै लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी राखिने जनस्वास्थ्य अधिकृत महासेठ बताउँछन् ।

प्रत्येक खोप केन्द्रमा २ जना स्वयंसेवक राखिने र प्रति दुई सय थप लक्षित सङ्ख्याका लागि थप एक जना स्वयंसेवक खटाइने भएको छ । महासेठका अनुसार प्रत्येक स्वास्थ्य संस्थाबाट खोप केन्द्रमा एईएफआई अनुगमन व्यवस्थापन र सहयोगका लागि एक जना स्वास्थ्यकर्मी खटाइने भएको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप अनुदानमा खोप आउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप