बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालिञ्चोक माताको काखमा लुटपुटिँदा

शनिबार, ०४ असार २०७९, ११ : ३५
शनिबार, ०४ असार २०७९

देशमा केही आपत्ति वा ठूलो घटना हुन लागेको छ भने त्यसको अग्रिम जानकारी गराउने साक्षात भगवान् दोलखाका भीमेश्वरबारे धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । भीमेश्वरको उत्पत्ति सम्बन्धमा स्कन्द पुराणको हिमवत्खण्डका अनुसार शुम्भासुर दैत्यका भयले स्वर्गलोकबाट भागेका देवताहरूले यहाँ रहेको देवतीर्थमा आएर स्नान गरी त्रिलोकका स्वामी भगवान् रुद्रको आह्वान गरे । उक्त स्तुतिअनुसार ज्योतिर्लिङ्ग प्रकट हुन गयो । र, सो लिङ्गबाट भगवान् शिव भीमका रूपमा प्रकट भई सारा देवताहरूलाई असुरहरूको वध गर्न सक्ने वरदान दिनुभयो । त्यही ज्योतिर्लिङ्गलाई कालान्तरमा भीमेश्वर महादेव वा दोलखा भीमसेनको नामले पुकारिने गरिएको पाइन्छ । यसरी भीमेश्वरको महिमा सुन्ने जो कोही पनि एक पटक दर्शनार्थ जाने चाहना हुनु स्वाभाविक छ ।

दोलखाकै सुप्पा गाउँको शिखरमा विराजित कालिञ्चोक भगवतीको अपार महिमा मैले पनि सुन्दै आएको छु । डाँडाको टुप्पामा भगवतीको प्रतीकस्वरूप एक कुण्ड रहेको छ । सो कुण्डबाट चारवटा जलधारा उत्पन्न भएका छन् रे ! कुण्डको उत्तरतर्फको जलधारा ताम्रकौशिकी (तामाकोसी) मा, पश्चिमतर्फको धारा स्वर्णकौशिकी (सुनकोसी) मा र बाँकी दुईवटा धाराको जल जमिनमुनिबाट सीधै दोलखा भीमेश्वरको मूल मन्दिरसम्म पुगेको किंवदन्ती पनि कम रहस्यमय छैन । यस कुण्डबाट उत्पन्न भएको मूल जलधारालाई चरणावती गङ्गा भन्ने गरिन्छ । सोही धाराको जल तीर्थालुहरूले प्रसादका रूपमा लैजाने प्रचलन रहेको  छ ।

यत्तिका महत्त्वपूर्ण कुरा बराबर सुन्दै आएको छु दोलखावासीहरूबाट । फेरि हालआफू बस्दै आएको सहर काठमाडौंदेखि  करिब ७२ किमिको दूरीमा रहेको छ चरिकोट बजार । यात्रा नै गर्ने भए पनि करिब ६ घण्टामा पुग्न सकिन्छ । यातायातको सुविधा पनि छ । तर खोइ, केले यात्रामा रोकावट ल्याउँछ !  आफैलाई थाहा छैन । 

हुन पनि यात्राको योग त्यसै जुर्दैन । त्यहाँ केही न केही कारण वा समय परिपक्व भएपछि मात्र यात्रा गर्न सकिन्छ भन्छन् मान्छेहरू । यही कुराको पुष्टि स्वरूप मैले आफ्नै कानले सुनेको र हेरेको कुरालाई पनि उल्लेख गर्दा अझ विश्वास होला भन्ने लागेको छ । 

२०६८ सालको कुनै दिन वाआफू नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत रहँदा जम्मु काश्मीरमा रहेकी वैष्णुदेवीको मन्दिरमा दर्शन गर्न जाने अवसर मिलेको थियो । त्यस समयमा नयाँ दिल्लीबाट रेल यात्रामा सरिक भई जम्मुको कतरा रेल्वे स्टेसनमा पुगेका थियौँ । कतराबाट चार घण्टा जतिको पैदलै उकालो चढ्नु पर्दथ्यो । हुन त घोडा तथा अन्य सवारीका साधन नपाइने भने होइनन् । तर प्रायः तीर्थयात्रीहरू पैदलै उकालिन मन पराउँथे । हामी पनि पैदलै उकालियौँ । यसरी पैदल यात्रा गर्ने तीर्थयात्रीहरू बारम्बार भन्ने गर्थे– 

‘मै चल के आया, माताजी ने बुल्वाया । बोलो, जय माता दी, जय माता दी ।’

सायद मलाई पनि कालिञ्चोक भगवती र चरिकोटमा विराजमान भीमेश्वर महादेवले २०७८ सालको कात्तिक २१ गते आइतबार दर्शनार्थ आउनु भन्नु भएकाले नै धार्मिक यात्राको साइत जुर्यो ।

यसका साथै यस वर्षको भाइटीका कात्तिक २० गते रहेको र बहिनी तथा दिदीको हातबाट टीका थाप्न जेठान दाजु कृष्णबहादुर राई (हाल एमएलए सिक्किम विधान सभा), भाइहरू क्रमशः तीरबहादुर र जसबहादुर राई पनि आउनु भएको थियो । यही मौकामा देवदेवीको दर्शन गर्न जाने चाँजो मेरी पत्नी रत्न राईलाई मिलाउने अभिभारा पाएकी थिइन् भन्ने लाग्यो मलाई ।

तीर्थयात्रामा जान टाटा सुमोको व्यवस्था गरियो । दोलखा आतेजाते अठार हजार रुपैयाँ लिने भए । बा.अ. ७०९३ टाटा सुमोका चालक निश्चित भए दोलखाकै नवराज बुढाथोकी । दोलखाकै चालक हुने भएपछि त्यत्ति कठिनाइ नहुने भयो ।

आइतबार बिहान चार बजे नै तयार भएर रह्यौँ हामीहरू । अर्थात् जेठान केबी राई, सालाहरू टीबी राई र जेबी राई । साथमा म र मेरा माइला दाइको छोरा देवान राई । कालिञ्चोक भगवती डाँडाको टुप्पामा वा ३८४२ मिटर अर्थात् १२६०२ फिटको उचाइमा विराजमान हुनु भएकीले लेक (उचाइ विमार) लाग्छ भन्ने सुन्दै आएको छु । उचाइ बिरामीका लागि घरेलु उपचारका निमित्त थर्मसमा तातो पानी, लसुन, अदुवा तथा जौ र गहुँ पिसेर बनाएको सातु र वास्नाका लागि कपुर सानो लगेजका तयार पारेका छौँ । साथै बाटामा भोकले सताए खानाका लागि केही भुजिया र सेल रोटी समेत राखेका छौँ ।

बिहान भनेकै समयमा टाटासुमो मितेरी मार्गको घर नं. ३६ अगाडि टुप्लुक्क आइपुग्यो । हस्याङ्फस्याङ् गर्दै झर्यौं र भित्रियौँ टाटा सुमोमा ।

त्यसपछि क्रमशः बढ्न थाल्यो सुमो । पुरानो बानेश्वरको मिलन चौक, देउराली क्लब भएर मीनभवनमा निस्कियो । त्यसपछि केही पूर्व हान्निएर तीनकुनेको चक्रपथलाई समात्यो । कोटेश्वरबाट जडीबुटीतिर हान्निएर बढ्न थाल्यो । 

मनोहरा नदीमाथि बनेको पुललाई पार गरी काठमाडौं जिल्लालाई बाईबाई गर्दै भक्तपुर जिल्लाको जमिनमाथि गुड्न थाल्यो निस्फिक्रीपूर्वक ।

लोकन्थली, कौशलटार, गठ्ठाघर, मध्यपुर ठिमी, सल्लाघारी तीनकुने, सूर्यविनायकमा तुफानले दौडिरहेको छ । चाडपछिको दिन र बिहानको सखारै भएकाले ट्राफिक एकदम पातलो छ । हामी दायाँतिरको हरियो जङ्गल र बायाँतिरको ऐतिहासिक भक्तपुर बजारलाई नियाल्दै यात्रारत छौँ ।

जगाते पुगिसकिएछ । नलिनचोक, पलाँसे भएर सानो कोप्चे तरी साँगा पुग्यौँ । 

कत्ति चाँडो  भक्तपुर जिल्लालाई बाई बाई गर्दै काभ्रे जिल्लाको भूमिलाई नाप्न थाल्ने क्रममा पुग्यौँ । यसै बीचमा बाटोदेखि बायाँपट्टि रहेको संसारकै सबैभन्दा अग्लो करिब १४३ फिटको शिवजीको मूर्तिलाई पनि एक नजर दिन जेठान र सालाहरूलाई जानकारी गराएँ ।

वास्तवमा बिहानको सन्नाटाजस्तै छ हाम्रो यात्रा । वरिपरि नजर डुलाएर सुन्दर दृश्यहरू बटुल्नमै व्यस्त छौँ हामी ।

हाम्रो सुमो गुलेलीबाट छुटेको मटेङ्ग्राजस्तै अवस्थामा दौडिरहेको छ चिल्लो सडकमा । जनगाल, बनेपा बजार, बुडोललाई पार गरेर धुलिखेल बजार आइपुगिसकेको छ । यहीबाट बीपी राजमार्ग र अरनिको हाईवेले आ–आफ्नो दिशा पक्रन्छन् ।

हाम्रो सुमोले अरनिको हाईवेलाई रोजेर अगाडि बढ्न सुरु गर्यो । दुलाल थोक, पाँचखाल, लामीडाँडा, जिरो किलो हुँदै जङ्गलको बाटोमा बढिरहेको छ ।

दोलालघाट पुग्यौँ बिहानको सवा सात बजे । इन्द्रावती र सुनकोशी नदीको मिलन बिन्दुमा । हाम्रो बायाँतर्फ इन्द्रावती र दायाँतर्फ बहिरहेकी छिन् सुनकोसी ।

यही छेउको वनदेउबाट सिन्धुपाल्चोक जिल्ला सुरु भयो । काभ्रेपलाञ्चोक जिल्लाको रमणीय भूभागलाई छोडी सिन्धुपाल्चोकको भूमिमा प्रवेश गर्यौँ । अहिले बिहानै तीनवटा जिल्लाका भूभागमाथि यात्रा गर्न पाउँदा खुसी भयौँ सबैजना ।

ठीक यसबेला सुमोले सिम्ले, सुकुटे बजार, सुनकोशीमाथि बनेको बलेफी पुल पार गरेर बलेफी बजार पुर्यायो । भोटेकोशी नदीमा नीलो पानी बहिरहेको छ । सुमोभित्रबाटै चियायौँ सबैले । 

खाडीचौर बजारमा पुगेर उकालिन थाल्यो सुमो । बाटाको दुवैतिर हरिया जङ्गल छन् । चिनेका नचिनेका चराहरू उडिरहेका छन् यत्रतत्र । उकालिन थालेपछि अलिअलि चिसोको आभास पनि भइरहेको छ । 

भालु खोप भन्ने स्थानमा कोदो पाकेको बाला देख्दा गाउँको याद आयो । चोर आँैलाले देखाउँदै भतिज देवानलाई भनेँ–

‘हेर, ऊ... बारीमा कोदो पाकेको रहेछ । हाम्रो भोजपुरको बास्तीम घरको बारीमा पनि भर्सेली कोदो पाक्थे हकि ? कोदोको रोटी खाए पनि, ढिँडो खाए पनि कत्ति मीठो मानेर खान्थेउ, हैन र ?’

‘हो नि काका । पहिले घर आँगनमा नै पाइने चिज अब त मोटर चढेर हेर्न जानुपर्ने अवस्था आयो ।’ छोटो जवाफ दिए देवानले ।

‘आजकल त गाउँतिर पनि फल्दैन होला कोदो । गाउँघर नै शून्य पारेर बसाइँ सरिसकेका होलान् ! आजकल त हाम्रो सिक्किमतिर पनि अन्नपात लगाउन छोडिसकेका छन् । सबै कुरा बजारमा पाइहालिन्छ । अनि कसले गर्छ दुःख ?’ साला भाइ जसबहादुरले कुरा थप्नुभयो ।

टाटासुमो भने बल गर्दै उकालिरहेको छ । यसबेला सल्लाघारी पार गरेर सानोपोखरलाई पनि पछाडि छोड्दै ठूलोपोखरमा आइपुग्यौँ र यहाँ प्रहरी पोस्टले सुमोको चेकजाँच गर्ने काम गर्यो ।

चेकिङको औपचारिकता पूरा भएपछि बढ्नेक्रम जारी रह्यो शिलढुङ्गा, अत्तरपुर जाने बाटो, २३ किलोलाई पार गरी शैलुङ्गेश्वर पेट्रोल पम्पलाई नाघेर मुढे बजारमा पुर्यायो सुमोले । 

मुढे भनेपछि धेरै पहिले चिनजान भएको व्यक्तिजस्तै लाग्यो मलाई । काठमाडौंको भान्सामा मुढेको आलु नभए अपूरो हुन्छ । काभ्रेको पाँचखाल र सिन्धुपाल्चोकको मुढेको नाम दिनदिनै जप्दै बस्ने गर्छ काठमाडौं । यी दुई स्थानका आलुले करिब ९५ प्रतिशत काठमाडौंका भान्सालाई धानेको छ । हुन पनि बाटाका दायाँ बायाँका पसलहरूमा जुट र प्लास्टिकका बोरामा आलु भरेर उभ्याइएका छन् रहरलाग्दो गरी । एक मनले त लाग्यो अहिल्यै एक बोरा उठाएर सुमोमा राखौँ कि जस्तो । अर्को मनले भन्यो भरे फर्किंदा किनेर लगे भइहाल्यो नि । यस्तै कुरा खेलाउँदै टम्म भरिएका आलुका बोराहरूलाई क्वारक्वार्ती हेरिरहेँ यात्रारत रहेकै समयमा ।

यस्तैमा शैलुङ रोड आइपुग्यौँ । शैलुङ रोड हामी यात्रारत बाटोबाट ठुस्किएर दाहिनेतिर लाग्यो लुसुक्क । हामी पनि चुपचाप सीधा अगाडि बढिरह्यौं । यस्तैमा सीधै अगाडि बाटोलाई बीचमा पारेर उभिएको छ एउटा आकर्षक सुन्दर गेट । यो गेट पार गर्नासाथ बागमती अञ्चलबाट विधिवत विदावारी भएर जनकपुर अञ्चलमा पर्ने दोलखा जिल्ला भित्रिने रहेछौँ । 

सडकको बीचमा उभिएको सुन्दर गेटको वरैबाट मनमनै भने– ‘धन्यवाद सिन्धुपाल्चोक शुभ बिहानीसहित बिदा पाऊँ ! फर्किंदा फेरि भेट होला । अहिलेलाई बाई बाई सिन्धुपाल्चोक ।’

गेटबाट भित्रिनासाथ दोलखाको जुरे डाँडासँग जम्काभेट भयो । स्वागत गर्यो हामी सबै यात्रुहरू र टाटासुमोलाई । दोलखा प्रवेश गरेकोमा खुसी भयौँ सबैजना । 

‘अब चिया पिउनु पर्ला कि ? अलिकति ताजा हावा पनि लिनु पर्ला !’ जेठान केबी दाजुले प्रस्ताव राख्नुभयो ।

‘हुन्छ भन्यौँ ।’ सबैले एकै स्वरमा ।

आहालडाँडा पुगेपछि एउटा पसलको आँगनमा रोकियो टाटासुमो । ओर्लियौँ सबैजना । पिँजडाबाट स्वतन्त्र भएको चरोजस्तै । निकै चिसो छ हावा पनि । घाम पनि लागौँ कि नलागौँ भन्ने दोमनमा रहेको छ । पर डाँडाहरू सेताम्मे छन् । ती डाँडाहरूलाई देखाउँदै चिया पसलको अगाडि बसिरहेका व्यक्तिलाई जेठान केबी दाइले सोध्नुभयो–

‘ए भाइ, पर देखिएका हिमालहरू नै होइनन् र ?’

‘हिमालहरू नै हुन् । लामटाङ रेञ्ज, जुगल हिमाल, रोल्वालिङ, गौरीशङ्कर र सगरमाथाहरू हुन् नि दाइ । अझै तपार्इंहरू जाँदै गर्नु भएको कालिञ्चोक भगवतीको मन्दिरबाट त आमने सामनेमा नै पर्छन् ती हिमालहरू । एकदम छेवैमा र निकै सुन्दर पनि देखिन्छन् ती सेता मुस्कुराहटसहित उभिएका हिमालहरू ।’

‘धेरै धन्यवाद भाइलाई । दर्शन पनि गर्ने, फुर्सद मिलाएर के कस्तो स्थानहरू रहेछन्, त्यो पनि हेर्ने भनेर आएका छौँ । रमाइलो नै होलाजस्तो लागिरहेको छ हामीलाई ।’ चिया पिउँदै भन्नुभयो केबी दाइले ।

‘अँ साँची, कहाँनिर कालिञ्चोक भगवती र कता पर्छ चरीकोट बजार ?’ मैले उत्सुकता पोखेँ तिनै चिया पसले दाइलाई ।

‘ऊ...पारि यहाँबाट उत्तरमा देखिएको लाँकुरीडाँडा हो । दोलखा भीमेश्वर नगरपालिका–९ मा पर्छ । त्यसलाई स्थानीयहरू डाङडुङे भनेर पनि चिन्छन् । त्यहाँ अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी (फिल्म सिटी) बनाउने योजना गरी हाल बागमती प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माण कार्य सुरु गर्ने भएको छ । त्यही डाँडाको फेदीबाट अलिक ओरालिनु हुन्छ । त्यहीँ डाँडाको उत्तरी कुनाबाट उकालिएर कालिञ्चोक जानुपर्छ । नउकालीकन तलतिर लाग्नुभयो भने ऊ...पर देखिएको चरिकोट बजार पुग्नुहुन्छ । मलाई लाग्छ, अहिले बिहानको पौने नौ बजेको छ । साढे दस बजे कालिञ्चोक पुगी दर्शन गरी एघार बजे फर्कनु हुन्छ चरिकोटतिर । भीमेश्वर महादेवको दर्शन गरी बिहानको खाना साढे बाह्रतिर गर्न भ्याउनु हुन्छ ।’ पसले दाइले हाम्रो कार्यक्रमको खाका नै बनाएर जवाफ दिनुभयो ।

‘धेरै धेरै धन्यवाद । एउटा चित्र नै बनाएजस्तो गरी जानकारी दिनुभयो । तपाईंलाई कालिञ्चोक माता र भीमेश्वर महादेवको सदैव आशीर्वाद मिलिरहोस् ।’ मैले जवाफ दिइरहँदा पसले साहुजीको अनुहारमा मइन्टोल बत्ती बले जसरी नै उज्यालो चमकले पोतिएको देखेँ मैले ।

केही क्षणको आरामी र तातो चियाले जोसिएका छौँ हामी । हिँडेरै गए पनि पुगिहालिन्छ कि जस्तो जोशले भरिएका छौँ यसबेला । 

चालक नवराज बुढाथोकी पनि ताजा भए । पुनः कोच्चियौँ टाटासुमोमा ।

लेककै सुवास र प्राकृतिक छटा छ । बुकी पूmलहरू सेताम्मे फुलेका छन् । बुच्काबुच्की छन् धेरै मात्रामा । अलिअलि तेर्सिंदै र ओरालिँदै गएका छौँ । खरीढुङ्गा आइपुगिएछ । यो स्थानको नाम सुन्दा भोजपुर, बास्तिमको बाघखोरस्थित लक्ष्मीनारायण प्राथमिक विद्यालय पढ्दाको सम्झना आयो । वि.सं. २०२१ देखि २०२५ सालसम्म त्यही पढें म । स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो उद्धवप्रसाद भट्टराई र अर्का शिक्षक हुनुहुन्थ्यो खगेन्द्रप्रसाद घिमिरे । अहिले यस क्षणमा दुवै गुरुवर यस लोकमा हुनुहुन्न । त्यसरी नै त्यस समयमा मेरो घरमा पिता काजीमान राई र माता बिजुलादेवी राई हुनुहुन्थ्यो । हजुरबा धनबहादुर राई पनि । अहिले माथि उल्लेख गरिएका तीनैजनाले पनि यो लोक छोडी सक्नुभएको छ । गुरुवर र मातापिताको आशीर्वादले नै आज यत्तिको भएको छु । उहाँहरू सबैलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ मनमनै ।

पाठकवृन्द, कालिञ्चोकको यात्राको कुरा लेख्नुपर्नेमा अन्तै पो बरालिएँछु । क्षमा प्रार्थी छु ।

खरीढुङ्गा चेकपोस्टमा टाटासुमोको औपचारिक चेकजाँच भएपछि दौडिएको सुमो यत्तिखेर दोबाटे, मकैबारी, पुँवाले, बोचामा आइपुगेपछि एउटा चौरस्ता आयो । अब यहीँबाट बायाँतर्फ लागेमा कालिञ्चोक र दायाँतर्फको बाटोले तानेर चरिकोट लैजाने रहेछ ।

त्यहीअनुसार बायाँतर्फ उकालिन थाल्यो सुमो । केही गाउँजस्तो स्थानबाट उकालिएर जङ्गलभित्र सुटुक्कै पस्यो अफरोड वा कच्ची बाटोमा । जताजता डोरिएको छ बाटो त्यसैलाई पछ्याउँदै उकाली रहेको छ सुमो ।

बाटाको बायाँतर्फको जङ्गलमा चौँरी गाईहरू चरिरहेका पनि देख्यौँ यदाकदा । उकालिने क्रममा रङ्रङ्थली भन्ने स्थानमा आइपुग्यो बडो कष्टपूर्वक । खाल्डाखुल्डी र कहीँकहीँ त सानो खोल्सो बनेको बाटोमा उफ्रिँदै र पछारिँदै । जेजस्तो भए पनि रमाइलो र खुसी मानेका छौँ । आफ्नै रहर र इच्छाले नै यो दुर्गम यात्रा रोजिएको हो । त्यसैले बेखुसी हुनुपर्ने कुरै छैन हामीलाई ।

पौने ११ बजेछ । कुरी बजार देखियो । कालिञ्चोक भगवती पाउमा बसेको रहेछ कुरी बजार । कुनै युरोपका घरहरूजस्तै लागे, यहाँका घरहरू । भिरालोदार परेका हरिया र राता जस्ता (कर्कट) पाताले छाइएका छन् । छानाकै रङमा रङ्गाइएका छन् घरका भित्ता र गाराहरू । प्रायः घरका छानाको ठीक मुन्तिर अङ्ग्रेजी अक्षर भीको उल्टो आकारमा झ्यालहरू राखिएका छन् अर्थात् हातको औँलाहरू जोडेर हत्केलालाई फराकिलो किसिमले राखेको जस्तै । तल्ला तलाहरूमा सेता सीसाका भ्mयाल राखिएका छन् । हेर्दै पनि आकर्षक र बसिरहुँजस्तो आनन्दित हुने दृश्य । टाटा सुमोको भित्री सिटबाट नै सुन्दर बजार कुरीलाई नियाल्दै केवल कार स्टेसनको भवनतिर लाग्यो हाम्रो सुमो ।

स्टेसनको बायाँतर्फ रहेको पार्किङमा सुमोलाई विश्राम गराएर सबैजना ओर्लियौँ । मभने टिकट काउन्टरतर्फ दौडिएँ । चालकले पनि कालिञ्चोक दर्शन गर्ने मनसाय देखाउनु भएकोले ६ वटा टिकट लिएँ रु. तीन हजार भुक्तानी गरेर ।

टिकट लिएर केहीबेर पर्खियौँ । एउटा केवलकारमा आठ जना चढाइने रहेछ । हामी ६ जनासहित अरू दुई जना बसेपछि एकदम ठाडै उकालिन थाल्यौँ केवलकार । जताततै भीरैभीर देखिने भएकाले मुटु कमजोर हुनेले आँखा चिम्लिएर यात्रामा समावेश हुनुपर्ने रहेछ । हाम्रै डिब्बामा बसेका बङ्गालीजस्ता पहिचान भएका एकजनाले डिब्बामा चढेपछि आँखा चिम्लिएर नै यात्रा पूरा गरे ।

कालिञ्चोक मन्दिरको केही मुन्तिरसम्म केवलकारको यात्रा गरेपछि करिब दस मिनेटजति पहाड खोपेर बनाइएका बाटो हिँडेर मात्र मन्दिर पुगिन्छ । पहाडको टुप्पोमा रहेको अक्करे बाटोबाट तलतिर हेर्दा रिँगटा छुट्ने खालको छ । वारिपारि जता हेरे पनि भीरैभीर । तलमाथि जता हेरे पनि यामानका पहराहरू । अद्भूत र भयानक डरलाग्दो पहाडको शिखरमा बसेकी देवीको शक्तिको मात्र अनुमान लगाउँदा मागेको फल नपाउला भन्ने कल्पनासमेत गर्न सकिन्न । स्मरण रहोस् २०७२ सालको प्रलयकारी भूकम्पले पनि पहाडलाई कत्ति पनि नछोई गएको थियो ।

हामी मन्दिरको दाहिने तिरको बाटोबाट परिक्रमा गर्दै पहाडको टुप्पामा पुगेका छौँ अहिले । डाँडामा खम्बाहरू गाडेर बौद्ध धर्मावलम्बीहरूले मन्दिर सेरोफेरोलाई रक्षार्थका लागि राखिएको जस्तै अनुभूति हुने गरी डोरीमा अड्याएर विभिन्न मन्त्र लेखिएका राता, नीला, हरिया र सेता लुङ्दार (ध्वजा पताका) हरू झुन्ड्याएका छन् । ध्वजापताकाहरू यसरी फरफराइरहेका छन्, मानौँ दर्शनार्थीहरू आइपुगेको अवसरमा खुसी व्यक्त गरेजस्तै । यस्तो लागिरहेको छ, कुनै महत्त्वपूर्ण व्यक्तिको आगमनमा सडकका दुवै छेउमा उभिएर स्वागतार्थीहरूले हात र झण्डाहरू हल्लाइरहेजस्तै । 

कालिञ्चोक भगवती विराजमान हुनु भएकी पहाडको शिखरका छेउछेउमा फलामे डण्डीको रेलिङ वा बार लगाइएको छ । ठाउँ ठाउँमा जस्ता पाताले पनि बारिएको छ । दर्शनार्थीहरूको सुरक्षाका लागि रेलिङ लगाइएका छन् । मन्दिरको केन्द्रमा विराजमान भगवतीको दायाँ बायाँ र पछाडिका भागमा त्रिशूल र घण्टीहरू झुन्ड्याइएका छन् ।

हामीले पनि मन्दिरलाई दाहिनेतर्फबाट परिक्रमा गरी सानो गेटबाट दर्शनका लागि प्रवेश गर्यौँ । चढाउनका लागि लगेको पूmल, अक्षता, शृङ्गार सामान, सानो घण्टी र त्रिशूल अर्पण गर्यौँ । आज पूजारीको उपस्थिति नभएको जस्तो लाग्यो । भगवती विराजमान हुनुभएको सीधा तलतिर एउटा गहिरो कुण्ड नाङ्गो आँखाले नै देख्न सकिन्छ । 

यस कुण्डको मूल जलधारा चरणावतीगङ्गाको जल निकाल्नका लागि लामो डन्डी भएको सानो कुरुवाजस्तो (तेल नापन गर्ने औजार) छिराएर जल निकाली भक्तजनले प्रसादको रूपमा घर लैजाने प्रचलन छ । सोहीअनुसार मैले पनि करिब पाँच हात जति लामो डन्डीसहितको कुरुवा मूल कुण्डमा लगाई जल निकाल्ने काम गरेँ । सो पवित्र जल आफ्नो र साला भाइ जसबहादुरले बोक्नुभएको प्लास्टिकका बोतलहरूमा भरेँ । त्यसपछि विधिवत् भगवतीलाई दर्शन गरी पाउमा रहेका प्रसाद आदि लिई फेरि भगवतीलाई दायाँबाट परिक्रमा गर्दै नरिवल चढाउने स्थानतर्फ आयौँ । नरिवल काट्ने स्थानमा ल्याई काट्न लगाई आधा नरिवल र सोको रस नजिक रहेको मन्दिरमा चढाएँ ।

विधिवत् कालिञ्चोक भगवतीको पूजाअर्चना सकाएपछि वरिपरि नजर डुलायौँ । साँच्ची नै आहाल डाँडाका पसलेले भन्नुभएजस्तै आमनेसामने भएको पायौँ हिमालहरू । सेता र कञ्चन मुस्कुराइका साथ हामीलाई नियालिरहेका छन् हिमालहरूले । हिमाल चढ्न नसके पनि त्यतिक्कै उचाइमाआफू पुगेको अनुभूति मज्जाले गर्न पायौँ । नेपालको शिरलाई उच्च पार्ने, देश विदेशमा आफ्नो सुवास पैmलाउने, डलरको स्रोत र कैयौँ नेपालीहरू विशेषतः शेर्पा जातिका लागि रोजगारीका स्रोत तथा विभिन्न महानुभावहरूलाई गिनिज बुकमा नाम लेखाउन सघाउने हिमालहरूलाई नजिकै देखेर बेहिसाब खुसी भयौँ । ‘हिमालहरू कहिल्यै नहोचिई सदैव अग्लिरहू है’ भन्दै निर्निमेष हेरिरहेँ मैले । एकातिर साक्षात भगवतीको दर्शन र अर्कोतर्फ सेता हिमगिरिका सामीप्यले बेहद खुसी भयौँ सबैजना । 

यस्तैमा जेठान केबी दाइलाई गौरीशङ्कर हिमाल देखाउँदै त्यही हिमालको मुन्तिरको गौरीशङ्कर गाउँपालिकाको एक्ज्युकेटिभ अफिसर (कार्यकारी अधिकृत) भई भाञ्जा दीपेश छाङ्छाले २०७५ देखि २०७६ सम्म काम गरेको कुरा पनि सुनाएँ । दीपेश करिब दुई वर्ष खुवै रमाएर बसेको र च्छो रोल्पा तालसम्मको पैदल यात्रा गरेको कुरा पनि सुनाएँ । मेरो कुरा सुनेर सालाभाइ जसबहादुरले भन्नुभयो– ‘भान्जा पनि त्यस्तो विकट स्थानमा भ्रमण गर्न सक्ने रहेछन् भन्ने लागेको थिएन । तर अहिले कुरा सुन्दा आश्चर्य लागेको छ ।’

हुन पनि अमेरिका र नयाँ दिल्लीमा पढेर नेपाल आएको थियो दीपेश । त्यसैले विकट गाउँघर नदेखेका भान्जाको साहास सुनेर खुसी हुनुभयो भाइ जसबहादुर पनि ।

यस्तैमा उचाइ बिरामीका लागि केही खाएर वा सुँघेर हुन्छ कि भन्ने कुरा उठ्यो । साला साहिंला तीरबहादुरलाई सम्झाएँ । तर केवलकार स्टेसनको केही खुड्किला उक्लिएपछि शिखरसम्म जान नसक्ने कुरा बताउँदै त्यही बस्नुभयो टुसुक्क । वास्तवमा हिमाल वा उच्च पहाडी क्षेत्रमा चिमाल अर्थात् सेतो गुराँसका बोट हुन्छन् । चिमालले अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्छ भनेर वनस्पति विज्ञहरूले भन्ने गरेका छन् । कालिञ्चोकको उचाइ अनुसार चिमालहरू हुन्छन् र अक्सिजनको केही मात्रामा अभाव हुने कुरा पक्का छ । सायद स्वासप्रस्वासमा कठिनाइ भएरै होला सालाभाइ तीरबहादुर जोखिम मोलेर शिखरसम्म जान चाहेनन् । उहाँबाहेक हामी सबै गयौँ । तर मनमा खेद लागिरह्यो । नचाहँदा नचाहँदै एकजना सहयात्री शिखरमा पुग्न सक्नु भएन भनेर !

शिखरबाट केवलकार स्टेसन ओर्लने क्रममा एउटा कुकुरले पछ्याउन थाल्यो मलाई । नजिकैको पसलबाट कोकोनट बिस्कुट तीस रुपैयाँमा खरिद गरी केवलकार स्टेसनको छेवैमा पुरिया खोलेर खाना दिएँ । तर सिङ्गो बिस्कुट सुँघेर मात्र छोड्ने सुर गर्यो । त्यसपछि टुत्र्mयाएर दिएँ । अनि मात्र खपाखप खायो । सबै बिस्कुटलाई टुत्र्mयाएर अगाडि राखिदिई केवलकार स्टेसनभित्र प्रवेश गरेँ लुसुक्क ।

केवलकारको एउटा डब्बा तयारीमा रहेछ । सबै जना चढ्यौँ र क्रमशः ओरालिन थाल्यो तल्लो स्टेसनतिर ।

साढे बाह्र बजेको छ तल्लो स्टेसनमा आइपुग्दा । सुमोको साँचो भित्रै छोडेर ढोका बन्द गरेका रहेछन् चालक नवराज बुढाथोकीले । आपतै पर्यो । तारको सहायताले झ्यालको सीसा बल्लबल्ल खोले नवराजजीले । तर सुमोको सानो झ्यालबाट भित्र पसेर साँचो निकाल्नु पर्ने स्थिति भयो । पस्ने हिम्मत गरेर साँचो निकाल्न अप्ठ्यारो परिरहेको अवस्थाको सिर्जना भयो । यस्तैमा हामीलाई आपत्ति परेको देखेर अघि हामीसँगै केवलकारमा ओर्लेका इटहरी निवासी भाइ भित्र पसेर साँचो निकालिदिए । उनलाई हामी सबैले भित्री हृदयबाट नै धन्यवाद दियौँ । तर नाम सोध्नुपर्ने र सो नामसमेत राखी आपत्कालीन सहयोगका लागि मुरीमुरी धन्यवाद दिनुपर्ने थियो । तर त्यो कार्यबाट नराम्ररी चुकेकोमा अहिले थकथक लागिरहेको छ मलाई । पश्चातापले पोलिरहेको छ यसबेला । तैपनि अनाम ती भाइलाई पुनः भित्री हृदयदेखि नै पलाएको अगाध धन्यवाद उल्लेख गर्दै माफी चाहन्छु ।

भीमसेनको दर्शन

धेरै अलमल गर्ने समय छैन । चरिकोट पुगी दोलखा भीमसेनको दर्शन गरी दिनको खानासमेत खाई फर्कनुपर्ने कार्यक्रम छ । त्यसैले फटाफट चढ्यौं सुमोमा ।

दूधकुण्ड एक्सप्रेस प्रालिका चालक नवराजजीले कुरी बजारलाई पार गर्दै अघि आएको बाटोबाटै हुइँक्याउन थाले सुमो । ओरालो भएकोले ब्रेकलाई तयारीका साथ राख्नुपर्छ । त्यसैमा केन्द्रीत छन् गुरुजी । हामी भने वरिपरि र तलमाथिका जङ्गलमा चरिरहेका चौँरी र अन्य गाईहरूलाई नियाल्दै यात्रारत छौँ । केबी दाज्युचाहिँ यति तलतिर चौँरी आउन मान्दैन होला भन्नुहुन्छ । तर एक दुईवटा चौँरी पनि देखिए । सायद वातावरणको परिवर्तनले यता पनि आएका होलान् कि भन्दै हामीहरू भन्छौँ । 

सुमो यात्राका क्रममा सिक्किम र नेपालबारे चर्चा परिचर्चा गर्छौं । चालक नवराज पहिले सिक्किम पनि पुगेका रहेछन् र दाजु केबीलाई त्यहाँ सरकारी जागिर मिलाइदिनुहोस् भन्दै अनुरोध गर्न पछि पर्दैनन् । कुराकै मेसोमा मेरा नियात्राहरू नेपालको विश्वविद्यालयको स्नातक तह, दस प्लस दुई र कक्षा सातमा समेत पढाइ हुन्छ भन्ने कुरा थाहा पाएपछि भन्छन्– ‘सरले आजको यात्रा लेख्दा मेरो नाम र सुमो नम्बरसहित राखी छापिदिनु भएमा कृतज्ञ हुनेछु । साथै प्रकाशित भएपछि सोको जानकारी दिनु होला सर । म जे जसरी भए पनि भेट गरेरै लिन्छु ।’ 

‘गुरुजी राम्ररी सुमो हाँकी सुरक्षितपूर्वक काठमाडौं पुर्याउनु होला हामीलाई । लेख्ने मुड चल्यो भने विचार गरौँला नि !’ मैले आश्वासन दिँदै भनेँ ।

अघि उकालिएको बाटोभन्दा अलिक परतिरको अफरोडलाई समातेर ओर्लिरहेको छ सुमो । केहीबेरको ओरालोपछि दोलखाको सदरमुकाममा प्रवेश गर्यौँ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका भवन पार गर्दै ओर्लिरहेका छौँ ।

मुख्य बजारलाई दायाँतिर पारेर बायाँतिर बढिरहेका छौँ । बायाँतर्फको सडक मुन्तिर जाने सानो कच्ची बाटो पक्रिएर निकै तल झरेपछि अलिक माथि पाखामा सुमो रोक्ने काम भयो । यसैको ठीक तलतिर प्रसिद्ध र साक्षात् दोलखा भीमसेन विराजमान हुनुहुँदो रहेछ । मन्दिर जाने बाटोका पसलबाट पूजा सामग्री सबैले खरिद गर्यौँ ।

स्मरणीय कुरा के छ भने भीमेश्वरका तीनवटा रूप छन्, बिहान अर्थात् मध्यान्ह अगाडि भीमेश्वर, मध्यान्हपछि वा दिउँसो महादेव र बेलुकी वा पाँच बजेपछि नारायण अर्थात् विष्णुको अवतारमा विराजमान हुन्छन् भन्ने आमविश्वास छ । त्यही आधारमा हामीले पूजाअर्चना महादेव अवतारको गर्ने भएका छौँ । जेजस्तो वा जुन अवतारको समयमा भए पनि एउटा बलियो विश्वास लिएर आइपुगेका छौँ अर्थात् देव वा देवीले बोलाएर मात्र तीर्थ यात्रा हुन्छ भनिन्छ । त्यसैले पनि ठीक यही समयमा आउनु भनी भीमेश्वरले बोलाउनु भएकाले यही समयमा सशरीर उपस्थित छौँ हामी ।

भीमेश्वर मन्दिर परिसर टेक्न पहिले नतमस्तक भई शिर झुकायौँ र प्रवेश गर्यौँ मूल मन्दिर अगाडि । खुसीले ढक्क फुल्यो मन । भीमेश्वरको दर्शन गर्ने मनोकामना पुगेकाले हर्षले गदगद भएँ म । 

भीमेश्वरबारे सुन्दै आएको कथनअनुसार मूल मूर्ति पञ्च पाण्डव मध्येका माइला भाइ भीमको हो भन्ने विश्वास छ । त्यसलाई आधार मानेर दोलखाका व्यापारीहरूले आफ्नो मनोकाङ्क्षा पुर्याइदिने ईश्वर मान्दै पुज्ने गर्दछन् । त्रिकोणीय आकारमा रहेको ढुङ्गा नै भीमसेन हुनु भएको विश्वास गरिन्छ । 

अर्को पौराणिक कथनअनुसार प्राचीन कालमा १२ जना भरियाहरू यही बाटो भई आफ्ना गन्तव्यतिर बढ्ने क्रममा यही स्थानमा आएर रोकिएका थिए । भोकाएका भरियाहरूले आफ्नो खाना तयार पार्ने क्रममा तीनवटा ढुङ्गाको चुल्हो बनाए । खाना पकाउन भाडामा बसाएपछि एकातिरको चामल पाकेको र अर्कोतर्फको नपाकेको पाए । फेरि नपाकेको भातलाई अर्कोतिर पारेर पकाउँदा पनि पाक्न नसकेकाले एकजना रिसाहा भरियाले चुल्हो बनाएको एउटा शिलालाई खाना चलाउने पन्युले हिर्काउँदा दूधसँग मिसिएको रगत बहन थाल्यो । यसरी दूध र रगत बहेको देखेर यो पत्थर अरू केही नभएर ईश्वर भीम हुन् भन्ने कुरामा विश्वास गरे । हुन पनि वर्तमान समयलाई कलियुग भनिन्छ । यस समयमा पनि देशमा केही अनिष्ट घटना हुन लागेको छ भने भीमसेनको मूर्तिबाट चिप्लो र बाफसहितको पसिना आउने गरेको छ । जसलाई भीमसेनले सबै मनुष्यको कल्याण गर्दै अग्रिम सूचना जारी गरेको भन्ने आमरूपमा बुझ्दै आइएको छ ।

यसरी आजको धार्मिक यात्रालाई समापन गर्ने विन्दुमा आइपुगेका छौँ । कालिञ्चोक भगवतीको दर्शनपछि सम्झनाका लागि भनेर केही फोटोहरू खिचेजस्तै गर्यौँ । दोलखा भीमसेनलाई श्रद्धापूर्वक शिर निहुर्याई मन्दिर परिसरबाट बाहिरिएर खुड्किलादार उकाली चढ्ने काममा लाग्यौँ ।

भीमेश्वरको दर्शनार्थ ओरालिने क्रममा नै बाटोको दायाँपट्टि रहेको नमस्ते होटल तथा नेवारी खाजा घरलाई ६ जनाका लागि ताजा शाकाहारी खाना बनाइदिन चालक नवराजजीले अनुरोध गरिसकेका छन् ।

आजको चिताएको र सम्पन्न गर्नुपर्ने कार्य सकिएकाले प्रसन्न मुद्रामा भित्रियौँ सुमोमा । अब भोजन अर्डर गरेको होटलमा पुग्नु छ । भोजन ग्रहण गरी काठमाडौंको पुनः यात्रामा जुट्नु छ । सायद भोजनपश्चात् फर्किंदा बेलुकीको साढे छ वा ढिलोमा सात बजे काठमाडौं पुग्न सकिन्छ भन्दै नवराजजीले भन्नुहुन्छ । हामी वसन्त ऋतुको पूmलजस्तै उज्यालो अनुहार लगाएर होटलको साइनबोर्ड कत्ति बेला देख्न सकिन्छ भन्दै नजर डुलाउँदै यात्रारत छौँ टाटा सुमोमा ।

छाङ्छा नियात्रा विधाका अन्वेषक हुन्  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप