मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हरिशंकर परसाईं : भारतमा हास्यव्यंग्य विधालाई स्थापित गर्ने साहित्यकार

शनिबार, ०४ असार २०७९, १३ : ५२
शनिबार, ०४ असार २०७९

भारत, मध्य प्रदेश इटारसी निकट जमानी गाउँमा २२ अगस्ट १९२२ मा जन्मिएका हरिशंकर परसाईं भारतका चर्चित साहित्यकार हुन् । व्यंग्यलाई विधाको रूपमा दर्जा दिने पहिलो हिन्दी साहित्यकारका रूपमा समेत उनको परिचय छ । यस्तै उनलाई भारतमा हल्का रूपमा लिइने हास्यव्यंग्य विधालाई सामाजिक मुद्दालाई उठान गर्न सक्ने विधाका रूपमा पहिचान दिने साहित्यकारका रुपमा पनि चिन्ने गरिन्छ ।

उनले नागपुर विश्वविद्यालयबाट हिन्दी भाषामा स्नातकोत्तर गरेका थिए । केही वर्ष अध्यापन पेशा गरेका उनले साहित्य सिर्जनामा बाधक रहेको ठानी जागिर त्यागेका थिए । त्यसपछि ‘वसुधा’ नामक् साहित्यिक मासिक पत्रिकाका सम्पादन तथा प्रकाशन आरम्भ गरेका थिए । आर्थिक रूपमा घाटाका कारण पत्रिका बन्द गरी साप्ताहिक हिन्दुस्तान, धर्मयुग पत्रिका नियमित रुपमा लेख लेख्न थाले ।

साहित्यिक योगदानः 

विशेषतः व्यंग्यप्रधान निबन्ध रचनामा रुचि रहेका उनका रचनामा समाजका कमीकमजोरी, विसंगति तथा आडम्बरमाथि अनेक शिल्पको प्रयोग गरी व्यंग्यवाण प्रयोग भएको पाइन्छ । सन् १९४८ मा ‘प्रहरी’ पत्रिकामा उनको ‘स्वर्ग से नरक जहाँ तक’ शीर्षकको पहिलो रचना छापिएको थियो, जसमा धार्मिक पाखण्ड तथा अन्धविश्वासमाथि व्यंग्यवाण गरेका थिए । उनका हंसते है, रोते है, जैसे उनके दिन फिरे जस्ता कथा संग्रह प्रकाशन भएका छन् । रानी नागफनीकी कहानी, तटकी खोज जस्ता उपन्यास प्रकाशित गरेका उनका तबकी बात और थी, भूत के पाव पिछे, बेइमानी की परत, पगडण्डियोंका जमाना, सदाचारका ताविज, शिकाय मुझे भी है, ठिठुरता गणतन्त्र, विकलाङ श्रद्धाका दौर, मेरी श्रेष्ठ व्यंग्य रचना आदि निबन्ध संग्रह प्रकाशित छन् । 

कार्ल मार्क्सबाट निकै प्रभावित उनका रचनामा राजनीतिक प्रणाली, भ्रष्ट कर्मचारी प्रशासन, धार्मिक कुसंस्कार तथा आर्थिक विभेद बीचको व्यंग्यात्मक दृष्टिकोणहरु प्रशस्तै पाइन्छन् ।

उनका रचनामा अंग्रेजी भाषाका थुप्रै शब्द प्रयोग भएको पाइन्छ । मौखिक उखानहरुको प्रशस्त प्रयोग गरेर रचना गर्ने उनी विवरणात्मक शैली तथा कथानक शैलीका अब्बल साहित्यकार हुन् ।

हास्यव्यंग्य विधामा विशेष दख्खल उनका भोलारामका जीव, विकलाङ श्रद्धाका दौरा, बेइमानी की परत, तब की बात और थी आदि निकै अब्बल साहित्यिक कृति मानिन्छन् ।

साधनाका फौजदारी लेखको अन्तमा उनी लेख्छन्– सत्यको खोजी गर्नेहरु सत्यतिर पिठ्यूँ फर्काएर खोजी गरिरहन्छन् । सत्यको खोज गरिब मानिसको बाहिरको कुरा हो । यो त धनीहरुको काम हो । जीवनभर सत्यको खोज गरेर मृत्युको कल्पना गरिरहेका हुन्छन् । मचाहिँ झूठको खोजीमा हुन्छु । कुना कुनामा झूठ खोज्दै गर्दा उ सँगको भेटपछि म साह्रै खुशी हुन्छु ।

यस्तै उनको चर्चित लेख ‘पहला पुल’ का केही प्रसङ्ग यहाँ उल्लेख गर्नु आवश्यक ठान्दछु । रामसेवक बाबुले जागिर छोडेपछि कसैले घुस लिएका र कसैले ससुरालीबाट निकै धन मिलेकोले व्यापार गर्नलाई जागिर छाडेको भनेर थरि थरिका विचार व्यक्त गर्थे । सोही लेखमा सुग्रीवले यति धेरै पुल बनिसक्दा पनि ती कुनै उपयोग गर्न नमिलेको प्रसङ्ग बताउँछन् । यस्तै पुल उद्घाटन गर्नकै लागि निर्माण गरिने गरेको कुरा भगवान् रामलाई सुनाउँछन् । उद्घाटन रामका ससुरा जनकका हातबाट गराइयो । उद्घाटनमा जनक आउँदा अर्को २ पुल बनाउन पुग्ने खर्च लागेको विषयले अहिलेको विकासमाथि चरम व्यंग्यवाण हानेको पाइन्छ । यस्तै जनकले सबैलाई सम्बोधन गर्दै “मलाई यस पुल उद्घाटनमा बोलाएकामा रामलाई धन्यवाद दिन चाहन्छु । उनले मलाई नै बोलाए किन भने उनी मेरा ज्वाईँ हुन् ।” यो भनाइले आजकाल आफ्ना घरभित्रका सदस्य तथा नातेदारहरु ठेक्कापट्टा हत्याउन कसरी लागेका छन् र त्यसले देशको अर्थतन्त्रलाई कसरी ध्वस्त गरिरहेको छ भन्ने कुरालाई गम्भीर ढंगले व्यंग्य गरिएको छ ।

पुस्तकका सम्बन्धमा ‘अश्लील’ शीर्षकको लघुकथामा परसाईंंको लेखाई निकै व्यंग्यचेतले भरिएको छ, ‘सहरमा अश्लील किताबको विगविगी छ । युवाहरू मिलेर अश्लील पुस्तकहरू जम्मा गर्दछन् । पुस्तकहरू भोलिपल्ट जलाउने योजना गर्दै गर्दा भोलिपल्ट एकले अर्कोलाई अर्कोले अर्कोलाई गर्दै गर्दै सबै पुस्तक हराइसकेको हुन्छ ।’ यसरी लेखक अश्लील पुस्तक कहिल्यै जलाइँदैन, ती अति व्यवस्थित ढंगले पढ्ने काम भैरहेको छ भनेर कटु व्यंग्य गरेका छन् ।

‘भारतीय राजनीतिके बुलडोजर’मा उनी लेख्छन्– सांसद्ले संसद् बैठक चल्नुअघि कति समय सुत्ने हो नोट गराउनु आवश्यक छ । हस्ताक्षर गरेर सुत्नेहरु एकैपटक बेलुका उठ्छन् । तिनकै बलमा सरकार टिकिरहेको छ । सरकारका समर्थन र विरोधमा उनीहरु यी कामहरु गर्दछन् । 

यस्तै ‘बेइमानी की परत’मा उनी लेख्छन्– म मोटो भएकोमा अरुलाई चिन्ता हुँदो रहेछ । म मोटाएको हुँ, उनीहरुलाई मैले मोटो बनाएको त होइन नि । 

यो मलमूत्रको खाना, फोहोरी शरीर क्षणभङ्गुर रहेको छ । एकदिन यो माटोमा मिल्नेछ र किरामकोडाले खानेछ । मानिस यस शरीरलाई मीठा मीठा खानेकुरा खुवाउँछन् । 

एकदिन स्वामीजीले राबडी (मिठाइ) पिएको देखेँ । लाग्यो स्वामीजी आफूलाई होइन, किरामकोडालाई डिनर खुवाइरहेका छन् ।

यस्ता साहित्यिक रचनाबाट उनलाई भारतमा गम्भीर चेतनासहितको हास्यव्यंग्य सिर्जना गर्ने भन्ने गरिन्छ । उनी कम्युनिष्ट विचारले ओतप्रोत भएका कारण त्यस समयमा कम्युनिष्टमाथि लाग्ने गरेका आरोपलाई आफ्ना लेखमार्फत् चेतना भर्नमा माहिर देखिन्छन् । एक लेखमा राजनीतिमाथि व्यंग्य गर्दै उनी लेख्छन्– एकजना बच्चा आमा बाहिर गएकीले भोकले रोइरहेको थियो । मैले “तिमीलाई कम्युनिष्टले भड्काएको हुनुपर्छ ।” भनिदिएँ । उ चुप लाग्यो । उसलाई दूध ख्वाउनु परेन । आफ्ना माग राख्ने किसानलाई पनि हामी त्यसै गरी चुप लगाउन सक्छौं ।

यस्तै उनका हास्यव्यंग्यका केही उद्गारहरू यहाँ उल्लेख गरिएका छन्ः 

- जनताले आर्थिक न्यायको माग गरेका समयमा उनीहरुलाई अर्को कुनै दोश्रो चिजमा अल्झाउनु पर्दछ । अन्यथा त्यसले खतरा निम्त्याउन सक्छ ।

- अन्धभक्त हुनका लागि प्रचण्ड मूर्ख अनिवार्य शर्त रहेको छ ।

- बेइज्जतीमा दोश्रोलाई पनि सामेल गर्दा आधी इज्जत बच्दछ ।

- नशाका मामिलामा हामी निकै उच्च छौं । दुई खास नशाहरु एक हीनताको नशा र दोश्रो उच्चताका नशा हुन् ।

- जुन समाज लाजको कुरामा हाँस्दछ र ताली पिट्दछ, त्यसमा कहिल्यै कोही क्रान्तिकारी हुन सक्छ ?

- सबैभन्दा मूर्खता त्यो हो कि मानिसहरु हामीलाई त्यही मानिरहेछन्, जुन हामी मनाउन चाहन्छौं ।

- तानाशाह निकै डरपोक हुन्छन् । यदि पाँच गधा सँगसँगै घाँस खाइरहेका छन् भने पनि तानाशाहलाई डर पैदा हुन्छ । ऊ सोच्छ गधा पनि मेरो विरुद्धमा सम्झौता गर्दैछन् ।

- पृथ्वीमा जनताको उपयोगिता उसको भोटले मन्त्रिमण्डल बनाउनमा मात्रै रहेको छ ।

- सत्यलाई पनि प्रचार गर्नु आवश्यक छ, नभए मानिसहरू झूठो मान्दछन् ।

- आत्मविश्वास कैयौं प्रकारका हुन्छन्– धनका, बलका, ज्ञानका । तर मूर्खताको आत्मविश्वास सर्वोपरि हुन्छ ।

- यस देशका बुद्धिजीवीहरु सिंह हुन्, तर उनीहरु स्यालको जन्तीमा ब्याण्डवाजा बजाउँछन् । 

- जनतन्त्रको तरकारीमा जनको बोक्रा टाँसिएको हुन्छ, त्यसलाई खुर्केर खाली तन्त्रमात्र पकाउनुस् । आदर्शको मसला, कागजी कार्यक्रमको मसला र नुन हाल्नुस् । अनि नोकरशाहीको चम्चाले खानुहोस् । खुब स्वादिलो हुन्छ,’ भन्छ्न् खानेहरु । 

नेपालका हास्यव्यंग्य क्षेत्रका साहित्यकारहरूको विचारः

परसाईंका साहित्य नेपाली साहित्यकारहरूका लागि पनि निकै सम्मानित स्थानमा रही आएका छन् । हास्यव्यंग्यकार आरसी रिजालले ‘भोलारामको आत्मा’ पुस्तकमा परसाईंका १९ वटा लेख तथा अन्य हास्यव्यंग्य लेखहरु समावेश गरी अनुवाद गरेका छन् । 

आरसी रिजाल भन्छन्, हास्यव्यंग्य क्षेत्रमा जसरी नेपालमा भैरव अर्याललाई सम्झन्छौं । भारतको लागि परसाईं त्यस्तै हुन् । उनको लेखन निकै उच्चकोटीको छ । साहित्यका प्रायः सबै विधामा उनको कलम चलेको छ । उनलाई भारतको मध्यप्रदेश विश्वविद्यालयले डि.लिट्को उपाधि प्रदान गरेको छ । एउटा साहित्यकार र उसको रचना सदा सत्ता व्यवस्थाको प्रतिपक्षमा रहन्छ भन्ने कुरा उनका रचनाबाट थाहा हुन्छ । 

सिस्नुपानी नेपालका अध्यक्ष हास्यव्यंग्यकार लक्ष्मण गाम्नागे परसाईंंका सम्बन्धमा भन्छन्– उनका व्यंग्य पढेको छु । ती ज्यादै सुन्दर, सटीक र विकृति विसङ्गतिका विरुद्ध तीक्ष्ण रुपमा प्रस्तुत छन् । सायद हिन्दी साहित्यमा पनि उनलाई शीर्ष व्यंग्यकारको रुपमा लिइन्छ । हरिशंकर परसाईं हिन्दी हास्यव्यंग्य साहित्यका ‘भैरव अर्याल’ हुन् ।

दुवैजनाको लेखनको स्तर मलाई उस्तै लाग्छ । हास्य र व्यंग्यको सन्तुलन, विचार, अग्रगामी सोचका हिसाबले उनी भारतका उच्चकोटीका व्यंग्यकार हुन् भन्ने मेरो ठहर छ ।

यहाँ आरसी रिजालले अनुवाद गरेका ‘अनुशासन’ शीर्षकको लघुकथा समेटिएको छ ।

अनुशासन

एकजना सरकारी शिक्षक थिए । उनकी श्रीमती बिरामी भई अस्पताल भर्ना गरिएको थियो । यो अवस्थामा शिक्षकको सरुवा पत्र आयो । शिक्षा अधिकारी पनि त्यही टोलका बासिन्दा थिए । उनको आलिशान महल शिक्षकको घरबाट देखिन्थ्यो । आफ्नो घर अगाडिबाट अधिकारी जाँदा सधँै उनलाई नमस्कार गर्थे । शिक्षकले सोचे– यदि अधिकारीलाई भने त पक्कै अहिले मेरो सरुवा रोकिदेलान् । त्यसैले उनी अधिकारीको महलमा पुगे । 

बरण्डाबाटै अधिकारीले सोधे– “किन आएको ? के कुरा छ ?’

–सर ! एउटा बिन्ती बिसाउँ कि ! 

–भन । 

–मेरी श्रीमती सिकिस्त बिरामी परेकीले अस्पताल भर्ना गरेको छु । 

–अनि के भो त ? 

–मेरो सरुवा भयो । 

–अनि ? 

–सर कृपा गरेर तत्काल मेरो सरुवा रोकिदिनु पर्यो । साह्रै आपत परेको छ । 

शिक्षा अधिकारीले रिसाएर भने, “तिम्लाई अनुशासनको नियम थाहा छैन ? तिमी सिधै मलाई भेट्न किन आयौ ? पहिला तिमीले निवेदन दिनु पर्थ्यो ‘प्रपर च्यानल’ बाट । तिम्रो हेडमास्टरको लिखित अनुमतिसाथ मसँग भेट्न ुपर्थ्यो । जाउ यहाँबाट । तिम्रो सरुवा थमौती हुँदैन । तिमीले अनुशासन भङ्ग गरेबापत खप्की पाउँछौ ।’ शिक्षकलाई झपारे । आइन्दा यसरी सिधै भेट्न नआउने चेतावनी दिए ।

शिक्षकले दुई महिनाको छुट्टी लिए । एक साँझ अधिकारीको घरमा आगलागी भयो । वरपरका सबै मान्छे आगो निभाइरहेका थिए । शिक्षक आफ्नो बरन्डामा उभिएर त्यो दृश्य हेरिरहेका थिए । आगो निभ्यो, धेरै नोक्सान हुन पाएन । अर्को दिन शिक्षक निस्कँदा अधिकारी आफ्नो मूल गेटमा उभिएका थिए । 

उनले भने– “ओ मास्टर साहेब ! हिजो मेरो घरमा आगलागी हुँदा तिमी त रमिता हेरिरहेका थियौ । आगो निभाउन आएनौ नि ?’ 

शिक्षकले बडो विनम्रतापूर्वक भने, “सर ! म विवश थिएँ । हेडसर सहर बाहिर जानु भएको थियो । उहाँको लिखित अनुमतिविना कसरी आउनु । तपाईंको आगो निभाउन ‘प्रपर च्यानल’ बाट आउनु पर्थ्यो नि । हैन र ?’

.....

यस्तै, हास्यव्यंग्यकार आरसी रिजालद्वारा अनुवादित ‘भोलारामको आत्मा’ निवन्ध संग्रहको ‘दुई नाक भएका मान्छे’ निवन्धबाट केही अंश उद्धृत गरिएको छः

मैले उसलाई सम्झाई रहेको थिएँ– छोरीको विवाहमा तडकभडक र फजुल खर्च नगर्नू ।

तर त्यो बुजु्रक भन्थ्यो– “तपाईंले ठीक भन्नु भयो, तर नातागोतामा आफ्नो नाक काटिन्छ ।’

नाक उसको धेरै लामो थियो । मेरो विचारमा नाकको जतन सबैभन्दा बढी यही देशमा हुन्छ । या त नाक धेरै नरम हुन्छ या छुरा धारिलो, जहाँ सानोतिनो कुराले पनि नाक काटिन्छ । सामान्य मान्छेको नाक एकदम कोमल हुन्छ । त्यस्ताले नाक छोपेर किन राख्दैनन् ?

केही ठुलाबडा मान्छे जसको हैसियत हुन्छ, तिनले इस्पातको नाक लगाउँछन् र छालाको रङ्ग लेपन गर्छन् ।

जो ज्यादै होसियार हुन्छ, उसले नाक पैतालामुनि राख्छ । तपाईँ सारा शरीरमा खोज्नुहोस्, नाक भेटिन्न । नातिनीका उमेरका दुई केटीलाई बलात्कार गरिसकेको छ । जालसाजी र बैङ्क ठगीको आरोपमा समातिई सकेको छ । मान्छे नाक काट्न उत्सुक छन् तर नाक फेला पर्दैन, त्यो त पैतालामा छ । कोही जीवशास्त्रीले नाक खोजी गरे पनि पैतालाको नाक काटेर के हुन्छ ? नाक त अनुहारको काटियो भने पो केही अर्थ हुन्छ ।‘

पुरस्कार/उपाधि 

विकलाङ श्रद्धाका दौर कृतिका लागि उनलाई साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, शिक्षा सम्मान र शरद जोशी सम्मानलगायत थुप्रै सम्मान उनलाई प्राप्त भयो । साथै उनको सम्मानमा स्थापित हरिशंकर परसाईं सम्मान उपाधि हास्यव्यंग्य विधामा कलम चलाउने सर्जकलाई दिइन्छ ।

आधुनिक मिडियाको विकास सँगसँगै परसाईंका रचनाहरू गुगल, युट्युब लगायत विविध स्रोतमा प्रशस्त पाइन्छन् । त्यसो त उनका विभिन्न भागमा विभाजन गरेर परसाईं रचनावलीसमेत प्रकाशित छन् ।

पाठकलाई लेखककै सामु उभिएर कथा सुनिरहेको झैं आभास हुने खालका रचना गर्ने उनी सामाजिक पाखण्डविरुद्ध खरो रुपमा उत्रिएका साहित्यकार हुन् । परसाईंका व्यंग्यमा बाटो बिराएका शिक्षक, राजनीतिक नेता, कमजोर नीति भएका सरकार, भ्रष्ट सरकारी कर्मचारी, कमिशनखोर व्यापारी, धूर्त एनजिओ सञ्चालकसम्म सबैलाई समेटिएको पाइन्छ । यस हिसाबले पनि उनका रचनामा व्यक्तिभन्दा प्रवृत्तिमाथि व्यंग्य प्रहार गरेका पाइन्छ । यस अर्थमा उनलाई युगले खोजेको हास्यव्यंग्यकारका रुपमा चिनिनु आवश्यक छ । भारतमा हास्यव्यंग्य विधालाई संस्थागत गर्ने परसार्इंंको १० अगस्ट १९९५ मा भारतको जबलपुरमा निधन भयो ।

 लेखक सिस्नुपानी नेपाल, मकवानपुरमा आबद्ध छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप