शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुस्लिमका घर–व्यवसायमाथिको डोजर: भारतको हिन्दु–फासिस्ट रूपान्तरणको हतियार

आइतबार, ०५ असार २०७९, ०४ : ४०
आइतबार, ०५ असार २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)द्वारा शासित राज्यहरूमा अधिकारीहरूले पछिल्ला केही महिनादेखि सरकार विरोधी प्रदर्शनमा भाग लिएको आशङ्काका भरमा मुस्लिमको घर, पसल र व्यापारिक स्थलमा बुल्डोजर चलाउन थालेका छन् । एक कमजोर लोकतन्त्र खुलमखुला र निर्लज्ज रूपमा एक आपराधिक, हिन्दु–फासिस्ट इकाईमा बदलिरहेको छ, त्यो पनि व्यापक लोकप्रिय समर्थनका साथ । 

विगतमा पनि मुस्लिमहरूको नरसंहार, सार्वजनिक कुटपिट, लक्षित हत्या, प्रहरीको नक्कली मुठभेड वा हिरासतमा हत्या भइरहेकै थियो । कैयौँले झूटो आरोपमा जेल सजाय भोगिरहेकै थिए । अब मुस्लिमलक्षित औजारमा नयाँ हतियार थपिएको छ –घर र व्यवसायमाथि भत्काउन सक्षम बुल्डोजर ।

यीसम्बन्धी समाचारहरू लेख्दा वा प्रसारण गर्दा भारतीय मिडिया अहिले बुल्डोजरलाई पौराणिक कथामा राक्षसको वध गर्ने भगवानको आधुनिक यान्त्रिक संस्करणको रूपमा चित्रण गर्न थालेका छन् । हुन त सरकारी अधिकारीहरूले आफ्नो प्रतिरक्षामा आफूहरूले मुस्लिम समुदायलाई भन्दा पनि अवैध रूपमा निर्माण गरिएका घरहरू भत्काएको बताउने गर्छन् । 

तर पछिल्लो समय बिना सूचना, अपिल वा सुनुवाइको मौका नदिईकन सजाय दिने मनसायले मुस्लिमका घरहरू र व्यवसायहरूमाथि मात्र  बुल्डोजिङ चलिरहेका छन् ।  बुल्डोजरको नयाँ युगभन्दा पहिले पनि आक्रोशित भीड र पुलिसले मुस्लिमहरूलाई दण्ड दिन्थे । प्रहरी या त प्रत्यक्ष रूपमा दण्डमा भाग लिन्थे या नदेखेको जस्तो गरेर सघाउ पुर्‍याउँथे । 

अहिले मुस्लिमको घरमा बुल्डोजर लगाउने कार्यमा प्रहरीसँगै नगरपालिकाका अधिकारी, मिडिया थपिएका छन् । मिडिया यस कृत्यको प्रचार गर्ने उत्साही सहभागीका रूपमा अनिवार्य उपस्थिति हुन्छ । र अदालत यी कार्यप्रति आँखा चिम्लिदिन्छ ।  

यस पुरानो लोकतन्त्रको चेक एन्ड ब्यालेन्सका गर्ने हरेक संस्थान अब अल्पसङ्ख्यकविरुद्ध प्रयोग गर्न सकिने हतियारमा बदलिएका छन् ।

सन् २०१४ र २०१९ का दुई केन्द्रीय संसदीय चुनावमा २० करोड मुस्लिमको साथ बिनै बहुमत हासिल गर्न सकिने कुरामा भाजपा विश्वस्त भयो । यसले परिणति खतरनाक हुनेछ । 

चुनावमा तपाईंले केही फरक पार्न सक्नु हुँदैन भन्ने भएपछि तपाईंको महत्त्व सकिन्छ । तपाई अब प्रयोग गरिने र र दुर्व्यवहार गरिने इकाईमा बदलिनुहुन्छ । भारतमा मुसलमान समुदायमाथि अहिले हामी त्यही भएको देखिरहेका छौँ ।

भाजपाका शीर्ष अधिकारीले समेत मुस्लिम समुदायका लागि पवित्र रहेका कुरामाथि सार्वजनिक रूपमा अपमान हुँदा पनि पार्टीले जनाधार गुमाएन । यी अपमानविरुद्ध मुस्लिम समुदायले विरोध प्रदर्शन नगरेका होइनन् । 

तर यस विरोध गर्नेहरूमध्ये एक हिस्साले ईश्वर निन्दा कानुनको आह्वान गर्न थालेका छ । यस्तो मागले शायद भाजपा झन् बढी खुसी भएको होला । 

किनकि यस्तो कानुन ल्याउन सकियो भने हिन्दु राष्ट्रवादबारे भनिएका लगभग हरेक टिप्पणीहरू अपराध ठहर्‍याउन सकिन्छ । यसले प्रभावकारी रूपमा सबै आलोचनालाई दबाउन सक्षम बनाउने छ । 

भाजपा नेताका उत्तेजक टिप्पणीविरुद्ध भएका विरोधले सिर्जना गरेको ध्रुवीकरणले भाजपाको समर्थन झन् बढेको छ । 

मुसलमान समुदायविरुद्ध अपमानजनक टिप्पणी गर्ने भाजपा प्रवक्ता पार्टीबाट निलम्बन भइन् तर कार्यकर्तामाझ उनी झन् लोकप्रिय भएकी छन् । उनको राजनीतिक भविष्य उज्ज्वल देखिन्छ । 

आज भारतमा वर्षौँ लगाएर बनेका हरेक संस्थानहरू नष्ट हुँदैछ, जुन स्तब्धकारी कुरा हो । एउटा पुरा पुस्ता भारतको इतिहास र यो देशको सांस्कृतिक संवेदनशीलताबारे जानकारी नै नराखी हुर्कदैछ ।

देशका करिब ४०० टिभी च्यानलहरू, हजारौँ पत्रिका र अनगिन्ती वेबसाइटहरूको सहयोगमा अहिलेको सत्ता समाजमा उग्रता र घृणा फैलाइरहेको छ । र हिन्दु–मुस्लिम समुदायभित्रका कट्टर मानिसहरू आगोमा घ्यु थपिरहेका छन् ।  

सामाजिक सञ्जालमा खुलेआम मुस्लिमहरूको नरसंहारको आह्वान हुन्छ । हामी फर्किन नसक्ने बिन्दुमा पुगेका छौँ । यसको विरुद्धमा उभिनेहरू र विशेष गरी भारतका मुस्लिम समुदायले यो यस अवस्थामा कसरी जीवित रहने वा यसको प्रतिरोध कसरी गर्ने भनेर विचार गर्नुपर्छ ।  

तर यी प्रश्नको जवाफ दिन गाह्रो छ । किनकि आज भारतमा प्रतिरोध जतिसुकै शान्तिपूर्ण भए पनि ती आतङ्कवादी क्रियाकलाप जस्तै जघन्य अपराधमा गणना हुन थालेको छ ।

स्रोत : अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुन्धती रोय
अरुन्धती रोय
लेखकबाट थप