शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रधानमन्त्रीबाट संसदको उपेक्षा, एसपीपीबारे गठबन्धनमा छलफल नभएको नेपालको खुलासा

काठमाडौंमा हैजाका बिरामी फेला
आइतबार, ०५ असार २०७९, २१ : २८
आइतबार, ०५ असार २०७९

आज २०७९ असार ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रधानमन्त्रीबाट संसदको उपेक्षा:एसपीपी विवादबारे छलफल गर्न संसदीय समितिले बोलाउँदा पनि गएनन्, बालेनले ल्याए काठमाडौं महानगरको नीति तथा कार्यक्रम– लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, ‘सुनको लौरो’ बारे विमानस्थल भन्सार कार्यालय बेखबर !, एसपीपीबारे गठबन्धनमा औपचारिक छलफल नभएको माधवकुमार नेपालको खुलासा, आईजीपी नियुक्ति विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, जसपा नेपालमा उपेन्द्र यादव र बाबुराम भट्टराईका आ–आफ्नै रणनीति, काठमाडौंमा हैजाका बिरामी फेला लगायत छन् ।

१.प्रधानमन्त्रीबाट संसदको उपेक्षा : एसपीपी विवादबारे छलफल गर्न संसदीय समितिले बोलाउँदा पनि गएनन्
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकासँगको ‘एसपीपी’ सम्झौताबारे छलफलका लागि बोलाइएको संसदीय समितिको बैठकमा सहभागिता जनाएनन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देउवालाई आइतबारको बैठकमा छलफलका लागि बोलाएको थियो ।

समितिकी सभापति पवित्रा निरौला (खरेल)ले प्रधानमन्त्रीबाट संसदको अपमान भएको बताइन् । बैठकमा नेकपा एमालेका भीम रावलले ‘खेद प्रस्ताव’ पारित गर्नुपर्ने बताएका थिए । उल्लेखनीय छ, एसपीपीका बारेमा विवाद सुरु भएपछि प्रधानमन्त्री देउवाले संसदमा पनि जवाफ दिएका छैनन् ।

​२. बालेनले ल्याए काठमाडौं महानगरको नीति तथा कार्यक्रम– लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने
काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरको वार्षिक नीति तथा कार्यक्रम पेस गरेका छन् । आइतबार उनले नगरसभा बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा काठमाडौंलाई पूर्ण साक्षरता सहर घोषणा गर्नेदेखि लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्नेसम्मका योजना समेटिएका छन् ।

​३. ‘सुनको लौरो’ बारे विमानस्थल भन्सार कार्यालय बेखबर !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ‘सुनको लौरो’ भित्रिएको कुनै रेकर्ड नभएको बताएको छ । दुबईका राजकुमारले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईलाई झापा पुगेर ‘सुनको लौरो’ उपमहार दिएपछि विमानस्थल भन्सार कार्यालयबाट कसरी सुन बाहिरियो भन्नेबारे सर्वत्र चासो बढेको हो । विमानस्थल भन्सार कार्यालय प्रमुख महेस भट्टराईले विमानस्थल भन्सार कार्यालयबाट सुनको लौरो भित्रिएको रेकर्ड नपाइएको बताए ।

४. एसपीपीबारे गठबन्धनमा औपचारिक छलफल नभएको माधवकुमार नेपालको खुलासा
अमेरिकासँगको ‘एसपीपी’ सम्झौताबारे गठबन्धनमा अहिलेसम्म औपचारिक छलफल नभएको गठबन्धन घटककै नेता माधवकुमार नेपालले बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एसपीपीमा रहनु हुँदैन भन्नेबारे गठबन्धनमा कुनै विमति नरहे पनि एसपीपीबारे औपचारिक छलफल भने नभएको बताएका हुन् ।

५. आईजीपी नियुक्ति विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआईजीपी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आइतबार ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सो मुद्दा असार १३ गतेसम्मका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

६. जसपा नेपालमा उपेन्द्र यादव र बाबुराम भट्टराईका आ–आफ्नै रणनीति
जसपा नेपालभित्र देखिएको शक्ति संघर्षका बीच अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आ–आफ्नो रणनीति अन्तर्गतको गतिविधिलाई तीव्र तुल्याएका छन् । दुई नेताबीचको शक्ति संघर्षले पार्टी विभाजन हुने हो कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा व्याप्त छ ।

७. काठमाडौंमा हैजाका बिरामी फेला 
काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाका दुई बिरामी उपचाररत छन् । बिरामी दुवै जना एउटै परिवारका सदस्य रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

९. विवाहको उमेर घटाउने सवालमा सांसदहरु विभाजित
विवाहको उमेर २० वर्षबाट घटाउने विषयमा सांसदहरु विभाजित देखिएका छन् । केही सांसदले विवाहको उमेर घटाएर १८ वर्ष बनाइनुपर्ने तर्क गरेका छन् भने केहीले २० वर्ष नै ठिक हुने तर्क गरेका छन् ।

१०. र यो पनि,
काठमाडौंमा कल सेन्टरको आवरणमा अमेरिकामा ठगी गरेको आरोपमा प्रहरीले एउटा समूहलाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ले अनलाईन मार्फत सो ठगीधन्दा चलाएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो ।

प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई किन काम गर्न नदिएको भन्दै प्रश्न उठाएका छन् । ज्ञवालीले अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप