बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रजीसँग शंका लाग्छ, बाँकीले प्रस्ताव गरे जसपासँग एकता सम्भव छ : राजेन्द्र महतो (भिडियो अन्तर्वार्ता)

सोमबार, ०६ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी सरकारमा जाने/नजाने अझै टुङ्गो नभएको बताएका छन् । उनले गठबन्धन दलहरूलाई नै मन्त्रीहरूको भागबण्डा नपुगिरहेका बेला आफ्नो पार्टीलाई सरकारमा जाने कुरा ठूलो महत्वको विषय नरहेको पनि प्रष्ट पारेका छन् ।

रातोपाटीको नियमित कार्यक्रम ‘टक विथ द टप’मा वरिष्ठ नेता महतोले गठबन्धन सरकारबाट लोसपालाई सरकारमा सहभागिताका लागि कुनै प्रस्ताव नआएको पनि प्रस्ट पारे । यद्यपि सरकारबाट कुनै किसिमको प्रस्तावमा आए त्यसबारेमा सोच्न सक्नेतर्फ पनि नेता महतोले संकेत गरेका छन् । उनले लोसपाले सरकारलाई बाहिरबाट समर्थन गरिरहेको र, पार्टीका विभिन्न माग र मुद्दाहरू सम्बोधन हुनुपर्छ भनेर पटक–पटक प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा स्मरण गराइरहेको पनि बताए ।

महतोले उपेन्द्र यादवको पार्टी अर्थात् जसपा नेपालमा पछिल्लो समय देखिएको फुटको संकेतका बारेमा पनि आफ्नो विचार व्यक्त गरेका छन् । उनले जसपा अध्यक्ष यादव जहिले पनि पार्टीमा समस्या आएपछि जोगाउन अरूसँग हारगुहार गर्न आउने गरेको भन्दै उक्त पार्टी फुटको संघारमा पुगेको पुष्टि हुने बताए ।

वरिष्ठ नेता महतोले भने, ‘उपेन्द्र यादव जी, जतिबेला पार्टीमा संकट आइपर्छ, फुट्न लाग्छ अनि एकताको कुरा गर्नुहुन्छ, त्यसले सञ्चारमाध्यममा सुनिएका कुराले पुष्टि पनि गरेको छ।’ विशेष गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति अविस्वास व्यक्त गर्दै नेता महतोले भने, ‘डेढ वर्ष पहिले उहाँको पार्टी फुट्न लाग्दा हामीले रातारात एकता गरिदिएका थियौं, पार्टी जोगाएका थियौं । तर, पार्टी एकता गरिसकेपछि उहाँले निर्वाचन आयोगमा मुद्दा हालेर पार्टी फुटाउनु भयो । त्यसैले एकताका लागि भन्दा पनि पार्टीमा आएको संकट टार्नका लागि उहाँ यस्तो कुरा गर्ने गर्नुहुन्छ ।’

विभिन्न समयमा फुट र जुटको शृङ्खलाबाट गुज्रिँदै आएका पहिचानवादी दलहरूको एकताको आवश्यकता महसुस हुनुपर्नेमा जसपामा पुनः फुटको संकेत प्रस्ट देखिएको छ । अझ जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराई समूह बीचमा ठूलै दूरी देखिन्छ । यस्तो अवस्थामा लोसपा भने उपेन्द्र यादवलाई बाइकट गर्दै बाबुराम भट्टराईसहितको टीमलाई लिएर पार्टी एकताको रणनीतिमा छ । यो विषय पुष्टी हुने गरि नेता महतो भन्छन्, ‘अधिकार, पहिचानका सवालमा, समृद्धि र सुशासनका सवालमा नेपालमा वैकल्पिक शक्ति आवश्यक छ भनेर २०७४ मा ६ वटा पार्टी मिलेर राजपा बनाएका थियौं, फेरि संघीय समाजवादीसँग मिलेर जसपा बनाएकै हो तर, उपेन्द्रजीले निर्वाचन आयोगमा पुगेर पार्टी फुटाउनु भयो । म प्रस्ट छु, उपेन्द्र यादवजीका अविश्वसनीय क्रियाकलाप, व्यवहार गतिविधि र उहाँको आफ्नै कर्मले नै उहाँ त्यो पात्र बन्नु भएको हो ।’

त्यसैले उपेन्द्र यादवको प्रस्तावमा जसपासँग पार्टी एकता सम्भव नरहेको उनले बताए । अध्यक्ष यादवले कहिल्यै पनि पार्टीका माग÷मुद्दालाई ध्यान नदिएको र पार्टीको शक्ति निर्माणमा पनि कहिल्यै अग्रसर नरहेको वरिष्ठ नेता महतोको आरोप छ ।

तथापि, जसपाभित्रै विद्रोह र विभाजनको अवस्था रहेको र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबाट प्रस्ताव आएमा तुरुन्तै पार्टी एकता हुने महतो बताउँछन् । उनी भन्छन्, ‘खाली उपेन्द्रजी अविश्वासको पात्र हो । व्यक्तिगत रुपमा उपेन्द्रजीले प्रस्ताव राख्दा शंका लाग्छ, उहाँ एकता प्रक्रियामा इमानदार हुनुहुन्न । बाँकी अरुले प्रस्ताव ल्याए भने त कुरा भइहाल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया