बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्य बढाएर सरकारले संसदको अपमान गर्‍यो : प्रदीप ज्ञवाली

सोमबार, ०६ असार २०७९, १८ : १२
सोमबार, ०६ असार २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसदको अपमान गरेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने बताएपनि उक्त बचन लत्याउँदै मूल्यवृद्धि गरेर संसदकै अपमान भएको ज्ञवालीको भनाइ छ ।  सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारले पेट्रोलियम पदार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा आपत्ति जनाए । 

उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थमा लाग्दै आएको केही कर हटाउन सके जनतालाई राहत हुने पनि बताए । उनले आयल निगमको संस्थागत सुधार गरेर पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिने विकल्प रहेको बताए । 

‘संसदको स्पष्ट निर्देशन र सदन समक्ष अर्थमन्त्रीले बजेट वक्तव्य पेश गर्दा बोलेको कुरालाई समेत लत्याउँदै जुन ढंगको मूल्यवृद्धि भएको छ, यो जनताको ढाड सेक्ने कुरा त हुँदै हो । यो वास्तवमा संसदको पनि अपमान हो’, ज्ञवालीले भने, ‘त्यसैले हामीले त्यही गम्भिरताका साथ यो विषय उठाएका हौँ । कमसेकम एउटा कर हट्दा पनि थोरै भएपनि राहत हुन्छ ।’ उनले आयल निगमको समग्र संस्थागत सुधार गर्ने हो भने मूल्य घटाउन सकिने पनि बताए । उपमहासचिव ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको लागि आफूहरुले आवाज उठाएको भन्दै सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलनमा जाने चेतावनी समेत दिए । 

‘यदि हामीले गम्भिरतापूर्वक उठाएको विषयलाई सुनिएन । तदनुरुप सरकारले जवाफ दिएन । जवाफ चित्त बुझ्दो भएन र ठोस रुपले कदम चलिएन भनेदेखि हामी त्यो भन्दा अगाडि बढ्छौँ’, ज्ञवालीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप