विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय योग दिवस र मानसाग्नि मिसन

मंगलबार, ०७ असार २०७९, ०५ : ५७
मंगलबार, ०७ असार २०७९

विगतमा जस्तै यस वर्ष पनि असार ७ गते ‘मानवताका लागि योग’ नाराका साथ आठौँ अन्तर्राष्ट्रिय योग दिवस संसारभर मनाउने कार्यक्रम छ । प्रत्येक वर्ष मनाउँदै आइरहेको यो दिवसको इतिहास र त्यसका मुख्य योगदानकर्ताका बारेमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । कुनै पनि महान् व्यक्तित्वको साधना, तपस्या र निरन्तर सङ्घर्षको फलस्वरूप कुनै पनि दीर्घकालीन सामाजिक सेवा हुने गर्दछ । यस्ता सेवाबाट करोडौँ व्यक्तिले लाभ प्राप्त गर्छन् । तर ती सेवा जनस्तरसम्म पुर्याउन ककसको महत्त्वपूर्ण हात छ भन्ने कुराको इतिहास सन्ततिहरूलाई समेत हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

प्रत्येक वर्ष माघ महिनाको १ गते नेपालमा मात्र मनाइने राष्ट्रिय योग दिवस हाल आएर राष्ट्रिय पर्वका रूपमा स्थापित पनि भएको छ । विगत ७ वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस भनेर हरेक जुन २१ का दिन मनाउने गरिएको पनि छ । विश्व योग दिवस मनाइरहँदा हामीले मानसाग्नि भन्ने साधक वा योगमा एक त्यागी व्यक्तित्वको बारेमा पनि जान्नुपर्ने हुन्छ, अन्यथा नेपालमा योगका कुरा गर्नु निरर्थक हुन्छ । त्यसकारण यस आलेखमा विश्व योग दिवस कसरी सुरु भयो, मानसाग्नि को हो, मानसाग्निको योगसँग के सम्बन्ध छ र नेपालमा योग दिवसको सन्दर्भ जस्ता विषयवस्तुमा चर्चा गरिनेछ ।

अन्तर्राष्ट्रिय योग दिवस र योगको सन्दर्भ

सन् २०१४ सेप्टेम्बर २७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको सभाले ११ डिसेम्बर २०१४ मा पारित गरी २०१५ जुन २१ देखि विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय भएपछि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । सदाझैँ यस वर्ष पनि वर्षको सबैभन्दा लामो दिन जुन २१ अर्थात् असार ७ गते मङ्गलबारका दिन विश्व योग दिवस राज्यकै तर्फबाट मनाउन लागिएको छ । विश्व योग दिवसको सन्दर्भ पारेर देशका विभिन्न ठाउँमा विभिन्न योग संस्थाबाट समेत योग दिवस मनाउन आह्वान गरी सप्ताहव्यापी कार्यक्रमहरू भइरहेको अवस्था छ ।

योग दिवस किन मनाउने सम्बन्धमा कुरा गर्नुअघि योग भनेको के हो भन्ने बुझ्नु आवश्यक छ । वास्तवमा योग भनेको जोड हो । योगले मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एक स्वच्छ र पवित्र आत्माका रूपमा रूपान्तरण गर्दछ । यसको अर्थ नियमित योग गर्नाले व्यक्तिमा मानसिक तनावको अन्त्य हुनुका साथै शारीरिक र मांसपेशीय मजबुतीसमेत पैदा हुन्छ । फलस्वरूप व्यक्तिको आन्तरिक तथा बाह्य क्षमता बलियो हुन पुग्छ र स्वस्थकर जीवनशैलीमा जीवन परिणत हुन्छ । योगको सुरुवात हजारौँ वर्ष पहिलादेखि नै भएको मानिन्छ । 

संसारको सबैभन्दा पुरानो ग्रन्थ वेदका अनुसार संसारमा पहिलो पटक योग गर्ने व्यक्ति भगवान् शिवलाई मानिएको छ । शिवले पाएको उक्त ज्ञान सप्तऋषिहरूलाई हस्तान्तरण गरेका र ती ऋषिहरूले योगको ज्ञानलाई संसारभर फैलाएको भनाइ पाइन्छ । हाल संसारका सबैजसो राष्ट्रमा योगसम्बन्धि पठनपाठन र अभ्यास भइरहेको छ । किनकि योग प्राचीन कालदेखि अस्तित्वमा आए पनि हाल यसले एउटा विज्ञानको रूप लिएको छ । योग अभ्यास मात्र होइन, मन मस्तिष्क सफा गर्ने माध्यम, आध्यात्मिक चिन्तन गर्ने माध्यम, शान्तिका लागि अघि बढ्ने माध्यम र पूर्ण स्वस्थ भई जीवनयापन गर्न सकिने महत्त्वपूर्ण माध्यम सावित भइसकेको छ ।

योग अभ्यास गर्दा बिहान अमृत समयमा उठी (४–५ बजे) दिसा पिसाबबाट निवृत्त भएपछि पानी पिएर, खाली पेटमा, हल्का वस्त्र धारण गरेर, राम्रो योगम्याटमा र खुला ठाउँमा बसेर मात्र गर्नुपर्छ । अभ्यास गर्दा जानेको व्यक्तिबाट सिकेर आफ्नो शरीरको अवस्थालाई हेरेर सकेको मात्रामा गर्नुपर्छ । यसरी नियमित रूपमा योग अभ्यास गर्नाले अनगिन्ति स्वास्थ्य लाभ निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ । यसका साथै आफ्ना परिवारका साथमा योग अभ्यास गर्दा थप सन्तुष्टि मिल्न सक्ने हुँदा सकभर परिवारका सदस्यहरूसहित योग गर्न सकिन्छ भन्ने मान्यता अहिलेको योग दिवसको रहेको छ । योगबाट हुने लाभका सम्बन्धमा के भन्न सकिन्छ भनेः

– शरीर एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न पवित्र आत्मा हुनुपर्दछ, जुन योगबाट प्राप्त हुन्छ ।

– टाउको र शरीर उठाई अभ्यास गर्नु मात्र योग होइन कि मनलाई समेत आनन्दित राख्न सक्नु नै योग हो ।

– शरीरको अँध्यारो कुनामा रहेका अपवित्र सोच र वस्तुलाई चेतनारूपी उज्यालो छर्कन सक्नु नै योगको विशेषता हो ।

– योग अभ्याससँगै गरिने प्राणायामबिना योगको उद्देश्य पुरा हुनै सक्दैन ।

– चिन्ता र तनाव हटाउने सबैभन्दा उपयुक्त र चातुर्य बाटो नै योग हो ।

– योगले जति बढी फाइदा आत्मालाई पुर्याउँछ, त्यति फाइदा शरीरलाई दिनै सक्दैन । त्यसकारण आत्माको खुराक योग हो ।

योग र मानसाग्नि मिसन 

नेपालमा योगको इतिहासको चर्चा गर्दा मानसाग्निको भूमिका मुख्य रूपमा आउने गर्दछ । वास्तवमा योगको सुरुवात नै नेपालबाट भएको हो भन्ने कुरामा मानसाग्नि दृढ छन् । उनले गरेको अनुसन्धान, साधना र इतिहासले समेत यो कुराको पुष्टि गर्छ । मानसाग्निका अनुसार शैव दार्शनिक विचार र साधनाबाट योगले विज्ञानको रूप लिएको र यस्तो दर्शनका प्रतिपादक महादेव अर्थात् शिवलाई मानिन्छ । नेपालमा भएका शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताबाट विभिन्न दर्शनहरू आएका हुन् भन्ने कुरामा प्रमाणसहित मानसाग्नि बहस गर्छन् । यिनै दर्शनमा टेकेर आफूलाई साधक बनाई निरन्तर यसै क्षेत्रमा लागि नेपालमा प्राकृतिक चिकित्सासँग जोडेर अघि बढाउने योग, आयुर्वेद र प्राकृतिक चिकित्साका विशेषज्ञ व्यक्तित्व र प्रकृतिप्रेमी महान् दार्शनिक विद्वान् मानसाग्नि हुन् । साधनाको नामबाट मानसाग्नि नामकरण गरेका नेपालका प्राकृतिक चिकित्साका जनक तथा योग र आयुर्वेदका प्रणेता डा. हरिप्रसाद पोखरेल नै मानसाग्नि हुन् र उनको भिजन वा मिसन नै मानसाग्नि मिसन हो । 

आबाल ब्रह्माचारीका रूपमा रहेका पाल्पाको मदनपोखरामा वि.सं. २०२० सालमा जन्मेका मानसाग्नि सोह्र वर्षको उमेरमै हरिप्रसाद पोखरेलबाट मानसाग्नि बनेका हुन् । मानसाग्निले नै २०३६ साल माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन नेपालमा योग संवत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी उद्घोष गर्दै नेपालमा योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गरेका हुन् । योगमा शारीरिक शुद्धताभन्दा मानसिक शुद्धता धेरै गुणा उत्तम मानिने हुँदा यस्तो बहुउपयोगितापूर्ण योगलाई प्राकृतिक चिकित्सासँग जोडेर मानसाग्निले नेपालमा अतुलनीय योगदान दिइरहेका छन् । २०३६ सालदेखि हालसम्मको निरन्तर उनको यात्राले चार दशक पूरा गर्न लाग्दा नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको छ । यसै गरी मानसाग्नि मिसनका परिकल्पनाकार मानसाग्निकै पहल र सङ्घर्षबाट प्रत्येक वर्ष असार २० गते राष्ट्रिय प्राकृतिक चिकित्सा दिवससमेत मनाउन सुरु गरिएको छ । 

यसका साथै आयुर्वेद, योग र प्राकृतिक चिकित्साको क्षेत्रमा मानसाग्निको अथक प्रयासबाट शिक्षा क्षेत्रमा समेत पाठ्यक्रममा यी विषय समेट्ने काम भएका छन् । हाल त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा योग र प्राकृतिक चिकित्सा प्राध्यापन गर्ने पहिलो व्यक्तिका रूपमा समेत मानसाग्नि स्थापित भएका छन् । आफूबाटै स्थापना गरेको काठमाडौंको भीमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षासमेत निःशुल्क सञ्चालन गर्दै आएका छन् । 

यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लगि औपचारिक शिक्षाका रूपमा नेपालमा पठनपाठन गराउने पद्धतिको सुरुवात गर्नु मानसाग्निको निकै ऐतिहासिक कदम हो, जसले गर्दा इतिहासमा उनलाई निरन्तर स्मरण गराइरहने सुनिश्चित छ । उनकै संयोजकत्वमा क्याम्पस स्तरका बीएड् तथा एमए तहमा र प्राकृतिक चिकित्सकका लागि पाठ्यक्रमसमेत निर्माण भई कार्यान्वयनमा आइसकेको छ । 

यसरी प्रकृतिप्रेमी मानसाग्निको बाल्यकालदेखिको यात्रा हाल साधना, शिक्षा, वाङ्मय, साहित्य र प्राकृतिक चिकित्सकका रूपमा उदाएको छ । दर्जनौँ पुस्तक र ग्रन्थहरू प्रकाशित गरिसकेका र ‘राष्ट्रयोगी’लगायत दर्जनौँ सम्मानबाट सम्मानित मानसाग्निको बहुप्रतिभाशाली व्यक्तित्वको जतिसुकै वर्णन गरे पनि कम हुन्छ । अत्यन्तै सरल, सरस स्वभावका धनी र योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेदका पर्याय आकर्षक व्यक्तित्व मानसाग्निको समीपमा मात्र जाने हो भने पनि उनको तेजस्वी नेत्र, मधुर मुस्कान एवं मधुरो आवाजले जोकोहीलाई पनि आकर्षित गर्दछ । 

‘जस्तो चिन्तन त्यस्तै चरित्र’को विलक्षण मेल देख्न मानसाग्निकै समीपमा जानुपर्छ र उनको ‘स्वधर्म’ लगायतका दार्शनिक विचारको प्रचार प्रसारमा जुट्न सके आम नेपाली मात्र होइन, विश्वभरका मानव समुदायलाई प्रेरणा मिल्न जाने देखिन्छ । नेपालमा राष्ट्रिय योग दिवस मनाउने कार्यक्रममा मानसाग्नि अर्थात् डा. हरिप्रसाद पोखरेल शिक्षामन्त्रीको अध्यक्षतामा गठित योग दिवस मूल समारोह समितिका सदस्यको हैसियतमा निकै व्यस्त छन् । मानसाग्निकै विचारमार्फत् योग दिवस मनाई ‘योग गरौँ, योगी बनौँ’ भन्ने मूल मन्त्र साकार पार्नु हामी सबैको कर्तव्य पनि रहेको छ । मानसाग्निको यो अथक प्रयास अझै जारी रहोस् भन्ने कामना छ । 

लेखक जीवनशैली परिवर्तन शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप