ad
x

राजनीतिक ध्रुवीकरणको औचित्य र आवश्यकता

person explore access_timeअसार ७, २०७९ chat_bubble_outline0

 के नेपाली राजनीति सरल रेखामा अघि बढिरहेको छ ? संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो ५ वर्षे कार्यकाल सकिन लाग्दा आम नेपाली मतदाताहरूको मनभित्र के कुराहरू खेलिरहेका छन् ? राजनीतिक दलका कार्यकर्ताहरूको मनस्थिति कस्तो छ ? दलीय सिद्धान्त, ब्यवहार, सँगठन र दलहरू भित्रको आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ? हामीले स्थापना गर्न खोजेको आदर्शपूर्ण शासन के प्रणालीवद्ध रुपमा अघि बढिरहेको छ ? के हामीले निर्माण गरेको शासकीय स्वरुपको संरचनाहरू ठीक ढंगले क्रियाशील रहेका छन् ? के आम नेपाली नागरिकहरूको जीवन सहज बनिरहेको छ ?


के हामीले स्थापना गरेको शासन प्रणाली लोककल्याणकारी बन्ने दिशातर्पm अग्रसर छ ? के सबैखाले विभेदहरूको न्यूनीकरण गरी मानवअधिकार र सामाजिक न्यायको प्रत्याभूति गर्न हामी सफल भएका छौ ? यस्ता अनेकानेक प्रश्नहरूको उत्तर खोज्न आजको नेपालको राजनीतिक नेतृत्व एकपल्ट घनिभूत रुपमा सोच्न तयार छ ? यदि तयार छैन भने अवस्था चिन्ताजनक छ, नेपाल राष्ट्र जानी नजानी असफलताको दिशामा अघि बढिरहेको छ ।



के के हुन् हाम्रा कमजोरीहरू ?
अघिल्लो पटक नेपाली नागरिकहरूले नेपालका राजनीतिक दलहरूलाई प्रदान गरेको जनमतको के हामीले सम्मान गर्न सक्यौ ? स्थानीय, प्रदेश तथा संघीय सरकार निर्माणका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै हामीले प्रतिवद्धता गरेको दिगो सरकार प्रदान गर्न के हामी सक्षम बन्न सक्यौ ? के राजनीतिक अस्थिरता समाप्त गर्ने दिशामा हाम्रा पाइलाहरू अघि बढन सके ? के हामीले घोषणापत्रमार्पmत् आम नेपाली नागरिकहरूलाई प्रदान गर्ने भनेका सेवा सुविधाहरू प्रदान गर्न सक्यौ ? के हाम्रो शासन प्रणाली नागरिकप्रति जवाफदेही र उत्तरदायी बन्न सक्यो ? 

के हामीले नागरिकहरूले तिरेको करलाई ठीक ढंगले उपयोग गर्न सक्यौ ? के हामीले नेपाली नागरिकहरूका आधारभूत अधिकारहरू गाँस, वास, शिक्षा, स्वास्थ्य र रोजगार प्रदान गर्ने गरी काम गर्न सफल भयौ ? के हामीले नेपाली नागरिकहरूलाई ठीक ढंगले सुरक्षा प्रदान गर्न सक्यौ ? के हामीले नागरिकहरूलाई समयमा न्याय प्रदान गर्न सक्यौ ? के हामीले नागरिकहरूका लागि आवश्यक पर्ने ऐन कानून निर्माण गरेर कार्यान्वयन गर्न सफल भयौ ? के हामीले तीन तहका सरकारहरूका बीचमा समन्वय, सहकार्य र साझेदारीतालाई बलियो बनाउन सक्यौ ? 

के हामीले नेपालको परराष्ट्र नीतिअनुरुप छिमेकी देशहरूसँगको सम्बन्धमा सुधार गर्न सक्यौ ? के हामीले देशको मूल कानून संविधानको पालना र संरक्षण गर्न सक्यौ ? के हामीले हाम्रो देशको शिक्षा नीति परिवर्तन गरी शिक्षालाई जीवन उपयोगी बनाउन सक्यौ ? के हामीले नेपाली युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी उनीहरूलाई खाडी मुलुकहरूमा गएर जोखिमपूर्ण श्रम गर्नवाट रोक्न सक्यौ ? के हामीलाई आवश्यक पर्ने बस्तु र सरसामानहरू स्वदेशमै उत्पादन गर्नका लागि कलकारखानाको स्थापना गर्न सक्यौ ? के हामीले स्वास्थ्य क्षेत्रलाई सुधार गरी स्वदेशमै सहज रुपमा उपचार दिने दायित्व पुरा गर्न सक्यौ ? 

के हामीले देशको यातायात क्षेत्रमा दैनिक हुने गरेका सडक दूर्घटनाहरू र त्यसवाट अकाल हुने गरेको मृत्युलाई रोक्ने प्रयास गर्न सक्यौ ? के हामीले वर्षभरी खेतमा काम गरेर ३ महिना खान नपुग्ने क्षेत्रका नागरिकहरूको लागि वैकल्पिक ब्यवस्था गर्न सक्यौ ? के हामीले शुद्ध खानेपानी नपाएका नागरिकहरूका लागि शुद्ध खानेपानीको ब्यवस्था गर्न सक्यौ ? के हामीले भूमिहीन, सुकुम्वासीहरूलाई बस्ने बासको ब्यवस्थापन गर्न सक्यौ ? के हामीले विभिन्न विपद् ब्यवस्थापनको कामलाई नियमित बनाउने काम गरेका छौ ? हरेक वर्ष नेपाल भारत सीमा क्षेत्रमा रहेका क्षेत्रमा एकलौटी रुपमा भारत सरकारले निर्माण गरेका संरचनाहरूका कारण डुबान, कटान र बाढीग्रस्त क्षेत्रको संरक्षण गर्नका लागि विशेष काम गर्न सक्यौ ?

के हामीले नेपालमा जातीय छुवाछुत, महिला हिंसा, लैगिंक हिंसा रोक्नका लागि विशेष अभियानहरू सञ्चालन गरेका छौ ? के हामीले हलिया, चरुवा, कमैया कमलहरीवाट मुक्त भएका नागरिकहरूको ब्यवस्थापन गरेका छौ ? के हामीले नेपाली किसानहरूलाई उनीहरूले उत्पादन गरेको खाद्य सामग्रीको उचित मूल्य, बजार ब्यवस्थापन गरेका छौ ? के हामीले नेपालमा श्रमको सम्मान गर्ने र हरेक नागरिक उत्पादन प्रणालीमा आवद्ध हुने वातावरण सिर्जना गरेका छौ ? 

के हामीले राजनीति दलहरूसँग आवद्ध रहेका युवाहरूलाई ठीक ढंगले सहज रुपमा नेतृत्व सीप र अवसर प्रदान गरेका छौ ? के हामीले हाम्रो निर्वाचन प्रणालीलाई एउटा मजदुर जो दैनिक ज्यालादारी गरेर गुजारा गर्छन्, उनलाई सहज रुपमा निर्वाचनमा उमेदवार बन्ने र जित्ने सुनिश्चितता प्रदान गरेका छौ ? के हामीले हामो दलीय संरचनाभित्र निश्चित पदमा निश्चित कार्यकालको ब्यवस्था गरेका छौ ? के हामीले राजनीतिलाई सेवाभावका साथ सहभागी हुने वातावरण निर्माण गरेका छौ ? के हामीले अनुशासित, सादगीपूर्ण जीवनशैलीमा बाँच्ने नेता कार्यकर्ताहरूको सम्मान गर्ने वातावरण निर्माण गरेका छौ ? पैदल हिँड्ने, साइकल चढ्ने र आजीवन कुनै पनि राजकीय पद नपाएका वा राजकीय निकायमा नगएका कार्यकर्तालाई के हामीले नेता स्वीकार गरेका छौ ? 

के हामीले निरन्तर नागरिकहरूका बीचमा बस्ने, उनीहरूसँगै जीवन बिताउने, पार्टीलाई नै आफ्नो सबैथोक ठानेर सम्पूर्ण जीवन समर्पण गर्ने, नेताका वरपर नआउने कार्यकर्तालाई अवसरहरू सिर्जना गरेका छौ ? नेताहरूलाई आफनो घरमा लगेर, होटलमा लगेर खाना, खाजा खुवाउन नसक्ने कार्यकर्ताहरूलाई के हामी कार्यकर्ता नै ठान्छौ ? के हामीले आफ्ना पार्टी कार्यकर्ताहरूको आचरण र व्यवहारलाई मूल्याङ्कनको विषय बनाउने गरेका छौ ? यस्ता हजारौ प्रश्नहरूको घेरामा नेपालका राजनीतिक दलहरू रहेका र ती सबैको जवाफ नेपाली नागरिकहरूले खोजी रहनु भएको छ, के हामी यस्ता प्रश्नहरूलाई स्वभाविक रुपमा जवाफ दिन सक्ने हैसियत राख्छौ ? के हामी सबैले म म गरेर आत्मसमीक्षा गर्न तयार छौ ?

राजनीतिक ध्रुवीकरणको औचित्य र आवश्यकता किन ?
आउने पाँच छ महिनाभित्र नेपालमा संघीय तथा प्रदेश सभा सदस्यहरूको निर्वाचन हुँदैछ । यो निर्वाचनको नारा पनि सम्भवतः उही पुरानै राजनीतिक स्थिरता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र आम नागरिक जीवन सहज बनाउने नै हुनेछ । निर्वाचनको परिणामको अनुमान गर्न स्थानीय निर्वाचनको परिणामलाई सामान्यतया आधार मान्न सकिन्छ । स्थानीय निर्वाचनको परिणामलाई आधार मान्ने हो भने अहिले काठमाडौं, धरान, धनगढीमा जे जस्तो परिणाम आयो, आगामी निर्वाचनमा यसको फैलावट सुनिश्चित छ । अहिले नै काठमाडौंमा प्रायः सबै निर्वाचन क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारहरूको योजनावद्ध खोजी र घोषणा हुन थालेको छ । स्वतन्त्रहरूको पछिल्लो तस्विर धनगढीमा जिल्ला समन्वय समितिको निर्वाचनमा देखिएको छ भने काठमाडौंमा नेपाली काँग्रेस र नेकपा एमालेको घोषणापत्र समावेश गरी नीति कार्यक्रम निर्माण गर्ने प्रतिवद्धताका रुपमा देखा परेको छ । 

नेपालमा हामीले अवलम्वन गरेको मिश्रित निर्वाचन प्रणालीले कुनै एक दलीय बहुमत आउने संभावना ज्यादै न्यून छ । पार्टीहरूको एकल बहुमत नहुने र पार्टीहरू बीचको गठबन्धन संस्कृति परिपक्व नभएका कारण राजनीतिक स्थिरता मृगतृष्णा बन्ने अभ्यास हामीसँग रहेको छ । यस्तो अवस्थामा कम्तिमा एउटा पार्टीले बहुमत ल्याउन नसके पनि मिलेर स्थिर सरकार बनाउने योजनाका साथ अघि बढ्नु तत्कालका लागि आवश्यक छ । यही आवश्यकता पुरा गर्न अधिकतम प्रयासमा नेपालका राजनीतिक दलहरू अभ्यास गरिरहेका छन् ।

राजनीतिक गठबन्धन के का लागि ? भन्ने सवाल महत्वपूर्ण छ । के हामी गठबन्धन निर्माण गरेर सरकारको नेतृत्व गर्ने र केही थान मन्त्रीहरू निर्माण गर्ने हो भने त्यसको औचित्य छैन ? के हामी आम नेपाली नागरिकहरूको जीवन सहज बनाउन गठबन्धन गर्न तयार छौ ? के हामी गठबन्धन निर्माण गरेर नेपालको सन्तुलित परराष्ट्र नीतिको कार्यान्वयन गरी सबै छिमेकी मुलुकहरूसँग असल सम्बन्ध निर्माण गर्न चाहन्छौ ? के हामी गठबन्धन निर्माण गरेर राजनीतिक स्थिरता दिन तयार छौ ? के हामी गठबन्धन निर्माण गरेर मुलुकको समृद्धि र प्रगतिका लागि योजनावद्ध कामको थालनी गर्छौ ? के हामी गठबन्धन निर्माण गरेर नागरिकहरूको सुरक्षाको प्रत्याभूति दिन्छौ ? के हामी नेपालको सीमा समस्याको स्थायी समाधान दिन्छौ ? 

के हामी गठबन्धन गरेर नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतालाई सर्वोपरि राख्छौ । के हामी गठबन्धन गरेर नेपालका आम श्रमजीवी, सर्वहारा भूमिहीन किसान मजदुरहरूको जीवन सहज बनाउँछौ ? के हामी गठबन्धन गरेर नेपालको शिक्षा प्रणालीलाई जीवन उपयोगी बनाउँछौ ? के हामी गठबन्धन गरेर नेपाली युवाहरूलाई नेपालमै रोजगारीको सुनिश्चितता गर्छौ ? के हामी गठबन्धन गरेर नेपाली नागरिकहरूका आधारभूत अधिकारहरू गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य रोजगारको सुनिश्चितता गर्छौ ? के हामी गठबन्धन गरेर सरकारलाई जवाफदेही र उत्तरदायी बनाउँछौ ? के हामी गठबन्धन गरेर संविधानको पूर्ण पालना गर्छौ, गराउँछौ ? के हामी कानूनी शासनको प्रत्याभूत गर्छौ ? के हामी गठबन्धन गरेर सामाजिक न्यायको सुनिश्चितता गर्छौ ? 

यदि हो भने हामीले निर्माण गर्ने गठबन्धनको धरातल के हो ? गठबन्धन गर्दा के हाम्रो सामान्य सिद्धान्त, व्यवहार, कार्यशैली, कार्यनीति र आदर्श सहयोद्धाहरूसँग मिल्छ ? के हामीले गरेको गठबन्धनभित्र रहेका दलहरूको एक अर्कोले बोकेको राजनीतिक दर्शन, विचार, व्यवहारको छेउ टुप्पो मिल्छ ? के गठबन्धनमा रहेका राजनीतिक दलहरूको गन्तव्य एकै हो ? के गठबन्धनमा रहेका राजनीतिक दलहरूको विगत शुद्ध र सफा छ ? के गठबन्धनमा रहेका दलहरूले एकअर्कालाई समान इज्जत र प्रतिष्ठा दिन्छन् ? के गठबन्धनमा रहेका राजनीतिक दलका कार्यकर्ताहरूका बीचमा घनिष्ठ सम्बन्ध निर्माण हुन सक्छ ? के गठबन्धनमा रहेका राजनीतिक दलहरूको बीचमा मुलुकलाई समृद्ध बनाउने सपनाहरूमा समानता छ ? 

यदि छैन भने त्यस्तो गठबन्धन स्वयं आफैमा अल्पकालीन रहन्छ र त्यसको यात्रा पनि छोटो हुन्छ भन्ने कुरालाई ध्यानमा राख्नु जरुरी छ । यस्तो खालको गठबन्धनको सरकार सञ्चालन गर्दा पाइला पाइलाहरूमा विमति उत्पन्न हुने र विभिन्न अन्तर्विरोधहरूको बीचमा एकता हुन नसक्दा गठबन्धन भत्किने खतरा हरेक दिन रही नै रहन्छ । दैनिक रुपमा खतरामा रहने सरकारले कुनै पनि ठीक ढंगले काम गर्न सक्दैन र सरकारको आयुका लागि सधैँ खतरा विद्यमान रहन्छ भन्ने कुरामा ख्याल गर्नैपर्छ ।

निष्कर्ष 
नेपालका राजनीतिक दलहरूको व्यवहारले भुइँ तहमा निराशा छ, आम नागरिकको तहमा मात्रै होइन, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरूकै बीचमा पनि ब्यापक निराशा व्याप्त छ । यो निराशालाई समयमा चिर्न सकिएन भने लामो संघर्षपछि प्राप्त गरेको राजनीतिक उपलब्धि गुम्ने खतराको अनुमान राजनीतिक दलहरूले समयमा नै गर्नुपर्दछ । ब्यवस्था बदलियो तर अवस्था बदलिएन भन्ने कुरालाई गम्भीरतापूर्वक समिक्षा गर्नैपर्छ । राजनीतिक परिवर्तनले केही पनि भएको छैन भन्ने कुरालाई बढी उछाल्ने प्रवृत्ति र ब्यवहारलाई समयमा पहिचान गर्नु र नेपालका राजनीतिक दलहरूले आफूलाई सच्याउने कुरामा उत्तिकै ध्यान दिनु जरुरी छ । संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा जाँदा राजनीतिक दलहरूका बीचमा दुईटा विकल्प छन् ।

पहिलो - दलीय राजनीतिलाई ठीक बाटोमा फर्काउन पहिलो विकल्प सबै राजनीतिक दलहरू सिधै जनताको बीचमा निर्वाचनमा जाने र आफ्नो पार्टीको पक्षमा जनमत सिर्जना गरी निर्वाचित हुने कुराले नै हो । पहिले नै गठबन्धन गरेर निर्वाचनमा जाँदा निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्छ र आम मतदाताहरू गठबन्धनका विभिन्न दलहरूको निर्वाचन चिन्ह खोज्ने क्रममा २० देखि ३० प्रतिशत मत बदर हुने वा खेर जाने गर्दछ । निर्वाचन परिणामपछि बन्ने गठबन्धनहरू एक खालले स्वभाविक पनि  बन्न सक्छन् ।

दोस्रो पहिले नै गठबन्धन गरी निर्वाचनमा जाने हो भने नेपालका वामपन्थी पार्टीहरू बृहत् मोर्चा बनाएर निर्वाचनमा जाने र नेपाली काँग्रेसले अर्को मोर्चा बनाएर निर्वाचनमा जाँदा त्यो स्वभाविक गठबन्धन हुन्छ । दुइटा मोर्चामार्फत निर्वाचनमा जाँदा कुनै एक मोर्चाले बहुमत प्राप्त गर्न सक्ने धेरै संभावना रहन्छ, जसलाई स्वभाविक मान्न सकिन्छ । यस्तो मोर्चामार्फत आउने जनमतले स्वभाविक रुपमा दिगो सरकार स्थापना गरी मुलुकलाई राजनीतिक स्थिरताको लय समात्न योगदान गर्दछ । 

यी दुई विकल्पमध्ये कुन रोज्ने भन्ने कुराको निर्णय नेपालका राजनीतिक दलहरूले गर्लान् । तर, यी विकल्पले मुलुकले लामो संघर्ष, त्याग बलिदानवाट प्राप्त गरेको राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै परिवर्तनले केही पनि दिएन भन्ने प्रवृत्ति र ब्यवहारलाई निष्तेज पार्न ठूलो योगदान गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

–लेखक भण्डारी सामाजिक अभियन्ता हुन् 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।